कालीकोट, माघ २२ गते । कालीकोट जिल्लाको एक स्थानीय तहमा गहुँबाली भएको खेतमै राजनीतिक कार्यक्रम आयोजना गरिएपछि त्यसको औचित्यमाथि प्रश्न उठेको छ। २१ दल तथा मोर्चा मिलेर गठन भएको नेपाली कम्युनिष्ट पार्टीद्वारा आयोजित ‘एकता सन्देश सभा’ गहुँ खेतमा पाल टाँगेर, झण्डा गाडेर तथा ठुलो सङ्ख्यामा मानिस भेला गरिएपछि बालीमा क्षति पुगेको भन्दै स्थानीयले विरोध जनाएका छन्।
स्थानीय किसानहरूका अनुसार गहुँ पाक्ने संवेदनशील समयमा यसरी खेत प्रयोग गर्दा उत्पादनमा प्रत्यक्ष असर पर्ने चिन्ता छ। “खेत हाम्रो जीवनको आधार हो, राजनीतिक कार्यक्रमका लागि यसरी प्रयोग हुनु उचित होइन,” शुभकालिका गाउँपालिका–४ का रमेश सुनालले भन्नुभयो।
घटनापछि सामाजिक सञ्जाल तथा स्थानीयस्तरमा व्यापक आलोचना सुरु भएको छ। आलोचकहरूले किसानको श्रम, निजी सम्पत्ति र जीविकासँग प्रत्यक्ष जोडिएको जमिनमा राजनीतिक गतिविधि गर्नु गैरजिम्मेवार कदम भएको टिप्पणी गरेका छन्।
यो घटना शुभकालिका गाउँपालिका वडा नम्बर ४ को हो। सो स्थानमा नेपाली कम्युनिष्ट पार्टी कालीकोटका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार महेन्द्रबहादुर शाहीको चुनावी सभा आयोजना गरिएको थियो। स्थानीय हस्त सुनारले गरिब तथा दलित समुदायका किसानको खेत प्रयोग हुनु सामाजिक न्यायको दृष्टिले समेत संवेदनशील विषय भएको बताउनुभयो। उहाँका अनुसार खेतीयोग्य जमिन संरक्षण गर्नु राज्य, राजनीतिक दल र सबै नागरिकको साझा दायित्व हो।
सार्वजनिक कार्यक्रमका लागि खुला मञ्च, विद्यालयको प्राङ्गण वा अन्य सार्वजनिक स्थल उपलब्ध हुँदाहुँदै खेती भइरहेको खेत रोजिनु गलत अभ्यास भएको स्थानीयको भनाइ छ। यस घटनाले राजनीतिक दलहरूले कार्यक्रम आयोजना गर्दा किसानको श्रम र अधिकारप्रति कति संवेदनशील छन् भन्ने गम्भीर प्रश्न उठाएको सामाजिक सञ्जालमा टिप्पणी गरिएको छ।
स्थानीय बासिन्दाहरूले आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नदिन स्पष्ट मापदण्ड बनाउन तथा किसानलाई भएको क्षतिको जिम्मेवारी लिन सम्बन्धित पक्षलाई आग्रह गरेका छन्। यद्यपि कार्यक्रम आयोजक पक्षले भने उक्त गहुँबारी आफ्नै कार्यकर्ताको भएको र सहमतिमै कार्यक्रम गरिएको दाबी गरेको छ।