रामकृष्ण बोहरा
बागलुङ, माघ २२ गते । जिल्ला प्रहरी कार्यालयले बागलुङमा आवश्यक पर्ने म्यादी प्रहरी अपुग भएको बताएको छ । जिल्लामा आवश्यक सङ्ख्या एक हजार दुई सय ९८ जना भए पनि अझै ६३ जना म्यादी प्रहरी नपुगेको प्रहरी उपरीक्षक तिलक भारतीले बताउनुभयो ।
त्यसबाहेक सशस्त्रमा पनि एक सय ७९ जना म्यादी चाहिएकोमा अपुग भएको हो । छनोट भएकाहरु तालिममा नआएका, आएकाहरुले नियुक्ति लिने समयमा छाड्ने गरेकाले थप सङ्ख्या आवश्यक पर्ने भएको भारतीको भनाइ छ । त्यसका लागि छिमेकी पर्वत, म्याग्दी र गोरखाबाट समेत केही म्यादी झिकाएको छ । आसन्न निर्वाचनमा बागलुङमा २९ वटा मतदान केन्द्र अति संवेदनशिल, २५ वटा केन्द्र संवेदनशिल रहेकाले सुरक्षाका लागि सचेत भएको समेत प्रहरी उपरीक्षक भारतीले बताउनुभयो ।
प्रहरीले बुधबार चालु आर्थिक वर्षभरि भएका अन्य क्रियाकलापबारे पनि जानकारी गराएको छ । विशेषगरी नियमित रुपमा आउने अन्य मुद्दाबारे प्रहरीले जानकारी गराएको हो । प्रहरीका अनुसार चालु आर्थिक वर्ष कुल एक सय १८ मुद्दा दर्ता भएका छन् । त्यसमध्ये ५२ मुद्दा फर्छ्यौट भएको र ६६ बाँकी रहेका छन् ।
पछिल्लो समय बैंकिङ कसुरका घटना बढेको, घरेलु हिंसाका घटना बढीरहेको समेत प्रहरी जनाएको छ । प्रहरीले अदालतको फैसला कार्यान्वयन गराउने र जरिवाना समेत सङ्कलन गरेर राजस्व बढाएको बढाएको छ । प्रहरीका अनुसार चालु आर्थिक वर्षमा ५२ लाख ७३ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ भने जरिवानाबाट ४९ लाख ७६ हजार रुपियाँ सङ्कलन भएको बागलुङका प्रहरी प्रमुख भारतीले जानकारी दिनुभयो ।
निर्वाचन नजिक आइरहेको बेला प्रहरीले अवैध हतियार बरामद अभियान थालेको छ । पछिल्लो ४० दिनमा प्रहरीले एक सय १५ थान अवैध भरुवा बन्दुक बरामद गरेको हो । चुनावको सुरक्षा तथा अवैध हतियार मुक्त समाज बनाउने अभियान स्वरुप थालिएको अभियानमा इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट ६६ नाल भरुवा बन्दुक, इलाका प्रहरी कार्यालय गलकोटबाट ४५ थान र इलाका प्रहरी कार्यालय बरेङडाँडाबाट चार वटा हतियार बरामद गरिएको हो ।