• २२ माघ २०८२, बिहिबार

जाडोको प्रभाव चुनावमा

साङ्तागाउँको मतदान स्थल सार्न प्रस्ताव

blog

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको साङ्तागाउँ । तस्बिर : हरिकृष्ण आचार्य

मुक्तिनाथ समाचारदाता

मुक्तिनाथ (मुस्ताङ), माघ २२  गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५, साङ्ता गाउँको मतदान केन्द्र सार्न प्रस्ताव गरिएको छ । 

अत्यधिक हिमपातका कारण समुद्री सतहदेखि तीन हजार आट सय मिटर उचाइमा रहेको सिङ्गो साङ्ता गाउँ नै खाली भएको अवस्थामा तोकिएको समयमा निर्वाचनका लागि मतदाता गाउँ फर्किने सम्भावना न्यून रहेकाले वडा कार्यालयले मतदान स्थललाई छिमेकी गाउँ फल्याकमा स्थानान्तर गर्न प्रस्ताव गरेको छ ।

साङ्ता गाउँमा रहेको हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा ३९ जना मतदाता रहेकोमा चैत, वैशाख महिनामा मात्रै गाउँ फर्किने भएकाले मतदान केन्द्रलाई सार्ने मागसहित सिफारिस गरिएको वडाध्यक्ष सुरेन्द्र गुरुङले बताउनुभयो । वडाध्यक्ष गुरुङले भन्नुभयो, “गाउँ नै खाली छ । जाडो छल्न गाउँघर छाडेर जिल्लाबाहिर गएका मानिस यस्तो जाडोमा कसरी फर्किन्छन् होला र ? केही मानिस फर्के पनि धेरै जसो फर्किने छाँटकाँट छैन । अनि मतदान स्थलमा पुग्नै गाह्रो छ ।” गाउँमा अहिले छ जना गोठालाले पशुचौपायाको रेखदेख गर्ने गरेका छन् । 

जाडो छल्न परिवारसँगै काठमाडौँ जानुभएका स्थानीय छेवाङ गुरुङले वैशाख महिनापछि मात्रै गाउँमा बस्न सहज हुने भएकाले तत्काल गाउँ फर्किन नसकिने बताउनुभयो । सहरबजारमा जान नसक्ने केही स्थानीय अन्नबाली थन्काएर आफ्ना भेडाच्याङ्ग्रासहित अन्य पशुचौपायासमेत लिएर फल्याक, धाकारजुङमा गएकाले मतदान स्थल सारेमा मतदातालाई सहज हुने देखिएकाले यस्तो प्रस्ताव गरिएको वडाध्यक्ष गुरुङको भनाइ छ । फल्याकमा हाल एक मतदान केन्द्रमा ३३७ मतदाता रहेका छन् ।  

प्रमुख जिल्ला अधिकारी अजिता शर्माले स्थानीय वडाबाट मतदान स्थल परिवर्तनका लागि प्रस्ताव आए पनि निर्णय नभएको बताउनुभयो । प्रजिअ शर्मा भन्नुहुन्छ, “मतदातालाई सजिलो हुने भएकाले छलफलकै चरणमा रहेको छ । सर्वदलीय छलफलपछि निर्णय गर्ने छाैँ ।”

मुस्ताङबाट गाउँबाट चिसो छल्न मङ्सिर महिनादेखि करिब ३० किलोमिटर टाढा रहेको छिमेकी फल्याक, धाकारजुङ, पाक्लिङ, सदरमुकाम जोमसोमसहित पोखरा, काठमाडौँलगायतका बस्तीमा छरिएर बसेका छन् । एक मात्रै प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र रहेको जिल्लामा थासाङ, घरपझोङ, बाराजुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र ल्होमन्थाङ गाउँपालिकामा ३९ मतदान स्थलमा कुल ११ हजार ३२८ रहेका छन् ।