• २२ माघ २०८२, बिहिबार

रौतहट–३ मा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उम्मेदवार यादव

blog

घरदैलो अभियानमा सहभागी रौतहट निर्वाचन क्षेत्र नम्बर ३ की उम्मेदवार पुनम यादव। तस्बिर : प्रवीणकुमार शर्मा

प्रवीणकुमार शर्मा
रौतहट, माघ २२ गते । 
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवारहरूले घरदैलो अभियान तीव्र पारेका छन्। उम्मेदवारहरू स्थानीय जनताको समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिँदै मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्।

प्रमुख राजनीतिक दलमध्ये रौतहटमा एक मात्र महिला उम्मेदवार रहनुभएकी पुनम यादवले रौतहट–३ मा चुनावी गतिविधि तीव्र बनाउँदै घरदैलो अभियानलाई निरन्तरता दिनुभएको छ।

रौतहट–३ मा नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवारी दर्ता गराउनुभएकी यादव सोही क्षेत्रको फतुवा विजयपुर नगरपालिका–७, फतुवा टोलकी स्थायी बासिन्दा हुनुहुन्छ।

दस वर्षदेखि सक्रिय राजनीतिमा रहनुभएकी यादवले रौतहट–३ को समग्र विकासका लागि सबै एकजुट हुन आवश्यक रहेको बताउनुभएको छ। मतदाता भेटघाटका क्रममा उहाँले नेपाली कम्युनिष्ट पार्टीको नीति, कार्यक्रम तथा भावी योजनाबारे स्पष्ट पार्दै आउनुभएको छ।

उम्मेदवार यादवले विकास, सुशासन र जनजीविकासँग सम्बन्धित विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै जनताको विश्वास जित्ने प्रयास गरिरहनुभएको छ। स्थानीय मतदाताहरूले पनि भेटघाटका क्रममा आफ्ना गुनासा तथा सुझावहरू खुलस्त रूपमा राखिरहेका छन्।

निर्वाचन नजिकिँदै जाँदा रौतहट–३ मा चुनावी माहोल थप तातिँदै गएको देखिन्छ। घरदैलो अभियानमा सक्रिय रहनुभएकी यादवले यस पटक महिला उम्मेदवारलाई मत दिन आग्रह गर्दै जनताको आवाज संसदसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

रौतहट–३ बाट उम्मेदवार बन्नुको मुख्य उद्देश्य हालसम्म पछाडि परेको क्षेत्रलाई परिवर्तन गर्नु रहेको बताउँदै उहाँले निर्वाचनमा जिते वा हारे पनि क्षेत्रको समुन्नत विकासका लागि निरन्तर सक्रिय रहने प्रतिवद्धता जनाउनुभएको छ। जित–हार जे भए पनि रौतहट–३ मा क्यान्सर अस्पताल निर्माण गराउने उहाँको अठोट रहेको छ।

शिक्षा, स्वास्थ्य र रोजगारी लगायतका क्षेत्रमा ठोस परिवर्तन ल्याउने उद्देश्यसहित उम्मेदवार यादवले आफूलाई मतदान गर्न मतदातासँग आग्रह गर्दै आउनुभएको छ। अन्य उम्मेदवारहरूले पनि रौतहट–३ मा घरदैलो र मतदाता भेटघाट अभियानलाई तीव्र बनाएका छन्।