• २१ माघ २०८२, बुधबार

एन्ड्र्युद्वारा विन्डसर आवास परित्याग

blog

लन्डन, माघ २१ गते । बेलायतका पूर्वराजकुमार एन्ड्र्युले आफ्नो विलासी विन्डसरस्थित आवास छोडेर पूर्वी इङ्ग्ल्यान्डको शाही एस्टेटमा बसाइँ सर्नु भएको छ । बिबिसीले मङ्गलबार यसबारे जानकारी दिएको हो । यौन अपराधी जेफ्री एपस्टीनसँगको सम्बन्धलाई लिएर उहाँले नयाँ छानविनको सामना गरिरहनु भएको समयमा बसोबास परिवर्तन गर्नु भएको हो ।

अहिले एन्ड्र्यु माउन्टब्याटन-विन्डसर भनेर चिनिनुहुने पूर्व शाही सदस्य अमेरिकी न्याय मन्त्रालय (डिओजे) ले एपस्टीनसँग सम्बन्धित कागजातको पछिल्लो विमोचन गरेपछि थप दबाबमा पर्नु भएको छ । ती कागजातमा आफ्नो नाम उल्लेख भएपछि उहाँमाथि त्यसबारे स्पष्ट जवाफ दिन दबाब बढेको बताइएको छ ।

बिबिसीका अनुसार ६५ वर्षीय एन्ड्र्यु सोमबार रोयल लजबाट बाहिरिनु भएको हो । बकिङ्घम प्यालेसले भने एएफपीलाई उक्त रिपोर्टको औपचारिक पुष्टि गर्न अस्वीकार गरेको जनाएको छ । प्रसारण कर्ताका अनुसार एन्ड्र्यु विगत दुई दशकदेखि आफ्नी पूर्वपत्नी सारा फर्गुसनसँग विन्डसर क्यासल नजिकै रहेको आवासमा बस्दै आउनु भएको थियो । उहाँको दीर्घकालीन बसोबास त्यही क्षेत्रमा रहँदै आएको थियो ।

बिबिसीका अनुसार एन्ड्र्यु हाल नोरफोकस्थित स्यान्ड्रिङ्घम एस्टेटमा रहेको एक अस्थायी घरमा बसिरहनु भएको छ । सन ट्याब्लोइडले भने उहाँ अन्ततः सोही एस्टेटभित्र रहेको मार्श फार्ममा स्थायी रूपमा सर्नु हुने उल्लेख गरेको छ, जहाँ हाल नवीकरणको काम भइरहेको छ । अर्थात् राजा चाल्र्स तृतीयका कान्छो भाइ एन्ड्र्युमाथि पछिल्लो समय दबाब थप बढेको छ । 

न्याय मन्त्रालयले शुक्रबार सार्वजनिक गरेका एपस्टीन फाइलमा उहाँको नाम नयाँ सन्दर्भसहित देखा परेको छ । ती कागजातमा तत्कालीन राजकुमारले भुइँमा सुति रहेकी एक महिलामाथि घुँडा टेक्नु भएको देखिने तस्बिर समावेश रहेका छन् । साथै, एपस्टीनलाई बकिङ्घम प्यालेसमा निजी भेटका लागि आमन्त्रण गर्नु भएको इमेल आदानप्रदान सम्बन्धी विवरण पनि उल्लेख गरिएको छ ।

यी खुलासापछि प्रधानमन्त्री किर स्टार्मरले एन्ड्र्युले एपस्टीनका अपराधबारे के जानकारी राख्नु भएको थियो भन्ने विषयमा अमेरिकी कांग्रेससमक्ष गवाही दिन आग्रह गर्नु भएको छ । एपस्टीनकी अर्की पीडित महिलाले आफ्ना वकिलमार्फत अमेरिकी फाइनान्सियरले आफूलाई सन् २०१० मा रोयल लजमा एन्ड्र्युसँग यौन सम्बन्ध राख्न बेलायत पठाएको दाबी गर्नु भएको छ ।

एन्ड्र्युले भने कुनै पनि प्रकारको गलत काम गरेको आरोपलाई पटक-पटक अस्वीकार गर्दै आउनु भएको छ । उहाँले सन् २०२२ मा एपस्टीनसँग सम्बन्धित आरोप लगाएकी भर्जिनिया गिफ्रेलाई कुनै अपराध स्वीकार नगरी करोडौँ पाउन्डको सम्झौता रकम दिनु भएको थियो । गिफ्रेले गत वर्ष आत्महत्या गर्नु भएको थियो । एन्ड्र्यु सन् २०१९ मा एपस्टीनसँगको कथित सम्बन्धका कारण शाही कर्तव्यबाट पछि हट्नु भएको थियो । एपस्टीन नाबालिग विरुद्धको यौन अपराध सम्बन्धी मुद्दाको सुनुवाइको प्रतीक्षामा रहँदै गर्दा जेलमै आत्महत्या गरी मृत फेला परेका थिए । रासस/एएफपी