• २१ माघ २०८२, बुधबार

दलका घोषणापत्रको तयारी

उच्च प्राथमिकतामा पूर्वाधार

blog

काठमाडौँ, माघ २१ गते । लामो समयदेखिको राजनीतिक उथलपुथलपछि निर्वाचनमा होमिएका राजनीतिक दल विकास निर्माण र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर घोषणापत्र निर्माणमा जुटेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दल आआफ्ना घोषणापत्र लेखनको तयारीमा जुटेका हुन् ।

मुख्य राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दल अहिले निर्वाचनलक्षित घोषणापत्र तयारीमा जुुटेका हुन् । राष्ट्रिय जनमुक्ति पार्टीले यसअघि नै प्रतिनिधि सभा सदस्य निर्वाचनलक्षित आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अहिलेको अवस्थामा पूर्वाधारको विकासबिना मुलुकको समग्र विकास सम्भव नरहेको तथ्यलाई आत्मसात् गर्दै पार्टीले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर घोषणापत्र तयार गरिरहेको जानकारी दिनुभयो । विकाससँग पूर्वाधार र पूर्वाधारसँग विकास जोडिने बताउँदै उहाँले मुलुकको पूर्वाधार विकासलाई ठोस रूपमा कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा अहिले पार्टीले अर्थशास्त्री र पूर्वाधारविज्ञसँग छलफल र समन्वय गरेर घोषणापत्र तयार गरिरहेको बताउनुभयो । पूर्वाधार विकासका नाममा कनिका छरे झैँ बजेट छर्नुको कुनै अर्थ नरहेको उहाँले स्पष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो, “मुलुकको अर्थतन्त्र बलियो बनाउन पूर्वाधार आवश्यक छ । अर्थतन्त्र बलियो नभएसम्म आमजनताको आशा आकाङ्क्षा पूरा हुन सक्दैनन् । अहिलेको सीमित पुँजीगत बजेटले आवश्यकता अनुसारको पूर्वाधार निर्माण सम्भव हुन सक्दैन । यी सबै विषय एकअर्कासँग अन्योन्याश्रित छन् । यी विषयलाई समेटर घोषणापत्र तयार भइरहेको छ ।” उहाँका अनुसार बजेटको करिब १८ प्रतिशत रकम वैदेशिक ऋणको सावाँ ब्याज तिर्नमा खर्च हुने, करिब १८ प्रतिशत नै पुँजीगत बजेटका लागि छुट्याइने र बाँकी चालु खर्चमा सकिने अहिलेको अवस्थालाई परिवर्तन गरिने गरी पार्टीले घोषणापत्र तयार गरिरहेको छ ।

नेकपा (एमाले), आमनिर्वाचन २०८२ का प्रचार संयोजक मीनबहादुर शाहीले पार्टीले हरेक चुनावी घोषणापत्रमा पूर्वाधार विकासलाई प्राथमिकता दिँदै आएको बताउँदै यस पटक पार्टीले प्रतिरोधात्मक क्षमतासहितको समावेशी पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर चुनावी घोषणापत्र तयार गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रतिरोधात्मक क्षमतासहितको समावेशी पूर्वाधार विकास भनेको पैदलयात्री, आपाङ्गता भएका व्यक्तिलगायत सबै प्रकारका फरक क्षमता भएका व्यक्तिका लागि पूर्वाधार निर्माण गर्नु हो ।” त्यसै गरी कम खर्च र समयमा सहज रूपमा बढी दुरीको यात्रा गर्न सकिने, मुलुकको समग्र विकासमा सहयोग पुग्न सक्ने, उत्पादन र बजार विस्तारीकरणलगायत समाजको हरेक क्षेत्रमा सहयोग पु¥याउन सक्ने खालको पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर पार्टीले घोषणापत्र तयारीमा जुटेको उहाँले जानकारी दिनुभयो । त्यसै गरी पूर्वाधार विकासमा लगानी बढाउने र तीव्रता दिने विषयसमेत घोषणापत्रमा समेटिने उहाँले बताउनुभयो ।

नेपाली कम्युनिस्ट पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले अहिलेको बदलिँदो परिवेशमा पार्टीले परम्पराभन्दा यस पटक फरक र समयलाई सम्बोधन गर्ने किसिमले घोषणापत्र तयार गरिरहेको बताउँदै त्यसमा पनि पूर्वाधार विकासलाई विशेष प्राथमिकतासाथ अगडि बढाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पार्टीले घोषणापत्रमा पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको छ । किनकि पूर्वाधार विकासबिना आर्थिक विकास र समृद्धि हुन सक्दैन ।”

पार्टीले सपना बाँड्नेभन्दा कार्यान्वयन गर्न सकिने खालको पूर्वाधार विकाससहितको घोषणापत्र तयार गरिरहेको बताउँदै उहाँले भन्नुभयो, “कुनै पनि मुलुकको समृद्धि भन्नेबित्तिकै सुरुमा त्यहाँको पूर्वाधार विकास आउने गर्दछ । त्यसपछि मात्र अरू आउने गर्दछन् । त्यसैले यस पटक पूर्वाधार विकास हाम्रो चुनावी घोषणापत्रको केन्द्रबिन्दु हुने छ ।”

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनीष झाले पार्टीले रणनीतिक पूर्वाधार विकाससहितको घोषणापत्र तयार गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीले आर्थिक परिणाम आउन सक्ने र राजस्व सङ्कलन हुने खालको पूर्वाधार विकाससहितको घोषणापत्र तयार गरिहेको छ ।

उहाँले भन्नुभयो, “टुक्रे बजेट छर्ने होइन । यस्तो पूर्वाधार विकास होस्, जसको आर्थिक परिणाम आओस् । जसले रोजगारी सिर्जना गरोस् । मानिसको दैनिकीलाई सहज बनाओस् । हामीले यस प्रकारका रणनीति पूर्वाधारसहितको घोषणापत्र तयार गरिरहेका छौँ । मुलुकमा केही वर्षदेखि पूर्वाधारको नाममा राजनीतिक रूपमा आर्थिक लगानी भएको तथा आवश्यकताभन्दा पहुँचका आधारमा पूर्वाधारमा बजेट विनियोजन हुँदै आएको बताउँदै प्रवक्ता झाले यस प्रकारको प्रवृत्तिलाई चिर्ने गरी रास्वापाले पूर्वाधारको क्षेत्रमा घोषणापत्र तयार गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले मुलुकभरि विभिन्न पालिकामा एक हजारभन्दा बढी प्रवेशद्वार र स्वागतद्वार निर्माण गरिएका छन् । यस प्रकारको विकासबाट मुलुकले आर्थिक परिणाम पाउन सक्दैन । कसैले रोजगारी पाउन सक्दैन । राज्यले कर सङ्कलन गर्न सक्दैन । त्यसैले हाम्रो पार्टीले उत्पादनमूलक पूर्वाधार निर्माणसहितको घोषणापत्र तयार गरिरहेको छ ।”