सुधा देव
भारदह (सप्तरी), माघ २० गते । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सप्तरीमा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । जिल्लाभरि राजनीतिक गतिविधि र चुनावी चर्चा बढेको छ । राजनीतिक गढका रूपमा परिचित सप्तरीले देशका हरेक राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।
यसपटक पनि सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा राजनीतिक दलहरूबिच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको स्थानीय राजनीतिक अगुवाहरूले बताएका छन् । उम्मेदवारहरू प्रचार–प्रसारमा सक्रिय रहेकाले जिल्लाका सबै क्षेत्रमा चुनावी चहलपहल बढेको छ ।
निर्वाचन क्षेत्र नं. १
सप्तरी निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट जिल्ला सभापति रामदेव साह उम्मेदवार रहनुभएको छ । उहाँ २०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट पराजित हुनुभएको थियो । नेकपा एमालेबाट पूर्व केन्द्रीय सदस्य तथा पोलिटब्युरो सदस्य सुमन प्याकुरेल उम्मेदवार हुनुहुन्छ । उहाँ पनि २०७९ को निर्वाचनमा यही क्षेत्रबाट पराजित हुनुभएको थियो ।
यसै क्षेत्रबाट जनमत पार्टीका उपाध्यक्ष डा. जयकान्त राउत, राष्ट्रिय स्वतन्त्र पार्टीकी पुष्पा चौधरी र स्वाभिमान पार्टीका सुमितकुमार साह उम्मेदवार रहनुभएको छ । स्थानीय मतदाता भोला पासवानका अनुसार यस क्षेत्रमा मुख्य दलबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यस निर्वाचन क्षेत्रमा दलबाट १६ र स्वतन्त्रतर्फ पाँच गरी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन क्षेत्र नं. २
निर्वाचन क्षेत्र नम्बर २ जिल्लाका प्रमुख राजनीतिक नेताहरूको गढका रूपमा चिनिन्छ । यस क्षेत्रबाट जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउत दोस्रोपटक उम्मेदवार बन्नुभएको छ । २०७९ सालको निर्वाचनमा उहाँ यही क्षेत्रबाट ठूलो मतान्तरले निर्वाचित हुनुभएको थियो ।
जनता समाजवादी पार्टीबाट उमेश यादव तेस्रोपटक उम्मेदवार रहनुभएको छ । उहाँ यसअघि एकपटक यही क्षेत्रबाट निर्वाचित भइसक्नुभएको छ । नेपाली कांग्रेसबाट रामकुमार यादव, स्वाभिमान पार्टीबाट मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सतिसकुमार सिंह, नेकपाबाट सूर्यनाथ यादव (सुभाष), नेपाल जनता पार्टीबाट रञ्जु कुमारी ठाकुर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामजी यादव तथा उज्यालो पार्टीबाट डा. दीपक चौधरी उम्मेदवार रहनुभएको छ ।
स्थानीय मतदाता सुनिता यादवका अनुसार यस क्षेत्रमा पनि दलहरूबिच नै प्रतिस्पर्धा रहनेछ । यहाँ दल र स्वतन्त्र गरी ३४ जनाले उम्मेदवारी दिएका छन् ।
निर्वाचन क्षेत्र नं. ३
सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार रहनुभएको छ । २०७९ सालको निर्वाचनमा क्षेत्र नं. २ बाट पराजित भएपछि यसपटक उहाँ क्षेत्र नं. ३ बाट उम्मेदवार बन्नुभएको हो ।
नेपाली कांग्रेसबाट दिनेश यादव दोस्रोपटक उम्मेदवार रहनुभएको छ । उहाँ २०७९ सालमा यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । नेकपा एमालेबाट ताराकान्त चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अमरकान्त चौधरी, नेकपाबाट अरुणकुमार साह, जनमत पार्टीबाट सुरेन्द्र शर्मा, उज्यालो नेपालबाट परमेश्वर साह र राष्ट्रिय मुक्ति नेपालबाट गजेन्द्रकुमार मण्डल उम्मेदवार रहनुभएको छ ।
स्थानीय मतदाता रिमा चौधरीका अनुसार यहाँ पनि दलबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रमा दलबाट १५ र स्वतन्त्रतर्फ ७ गरी २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन क्षेत्र नं. ४
सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका तेजुलाल चौधरी तेस्रोपटक उम्मेदवार रहनुभएको छ । उहाँ २०७० को दोस्रो संविधानसभा तथा २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भइसक्नुभएको छ ।
यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सिताराम साह, नेकपाबाट रूबी कर्ण, जनता समाजवादी पार्टीबाट डा. बबी सिंह यादव, नेकपा एमालेबाट गंगाराम चौधरी र जनमत पार्टीका जितेन्द्र साह उम्मेदवार रहनुभएको छ ।
स्थानीय मतदाता रञ्जित चौधरीका अनुसार यस क्षेत्रमा पनि दलबिच नै प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ दलबाट १४ र स्वतन्त्रतर्फ १३ गरी २७ जनाले उम्मेदवारी दिएका थिए, जसमध्ये २ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका छन् ।
सप्तरीका चारवटै निर्वाचन क्षेत्रका चार सिटका लागि राजनीतिक दल र स्वतन्त्र गरी एक सयभन्दा बढी उम्मेदवार मैदानमा रहेपछि सबै सिटमा मुख्य दलकै उम्मेदवार विजयी हुने सम्भावना रहेको स्थानीय राजनीतिक नेताहरूको विश्लेषण छ ।