गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २० गते । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले अबको एसियाली खेलकुदमा नेपालको सहभागिता नतिजामूलक हुनुपर्नेमा जोड दिनुभएको छ । सातदोबाटोको ओलम्पिक भवनमा आयोजित ‘जापानको आइची र नागोयामा हुने एसियाली खेलकुदको प्रचारमा खेलकुद पत्रकारको भूमिका’ बारे आयोजित अन्तर्क्रियामा एनओसी अध्यक्ष श्रेष्ठले एसियाली खेलकुदको आयोजनाका लागि धेरै समय बाँकी नरहेको हुनाले यसको तयारी अझ व्यापक र व्यवस्थित ढङ्गले हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली टिमको तयारीका लागि अब धेरै समय बाँकी छैन । यस तयारीमा एनओसी सबै प्रकारले सहयोग गर्न तयार छ । हामीले एसियाली खेलकुदमा सहभागी हुने केही खेलाडीलाई छात्रवृत्ति पनि प्रदान गरेका छौँ ।”
अध्यक्ष श्रेष्ठले एसियाली खेलकुदको प्रचारप्रसारका लागि खेल पत्रकारको ठुलो भूमिका रहने बताउनुभयो । “पत्रकारका लागि सहभागी हुने खेल र खेलाडीको जानकारीका लागि सूचना आदानप्रदानका लागि विशेष व्यवस्था हुने छ र पत्रकारका तर्फबाट रचनात्मक सहयोगको अपेक्षा रहेको छ,” उहाँले भन्नुभयो ।
यसै गरी एनओसीका महासचिव राजीव श्रेष्ठले एसियाली खेलकुद राष्ट्रको पहिचान, खेलाडीको सपना र देशको गौरवसँग जोडिएको खेलकुद मेला हो भन्नुभयो । उहाँले सो एसियाली खेलकुदमा खेलाडीको मनोबल बढाएर पदक ल्याउन प्रेरित गर्न मिडियाको भूमिका पनि महत्वपूर्ण हुने भएकाले यो अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।
सो अवसरमा पत्रकारले एसियाली खेलकुदको तयारीलाई लिएर सुझाव दिएका थिए । आगामी एसियाली खेलकुद सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म आयोजना हुँदै छ ।