विनय कर्ण
कल्याणपुर (सप्तरी) माघ २० गते । लामो समयदेखि बेवारिसे शव राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिरहँदा समस्या उत्पन्न भएको छ । सप्तरीको विभिन्न ठाउँमा फेला परेका आठवटा बेवारिसे शव अस्पतालको पोष्टमार्टम कक्षमा थन्किएर राखिदा अस्पतालमा समस्या उत्पन्न भएको हो ।
अस्पतालको पोष्टमार्टम कक्षमा चार महिनादेखि आठ जनाको शव राखिएको अस्पतालको मेडिकल रेकर्ड मेडिको लिगल शाखाका प्रमुख मनोज देवले जानकारी दिनुभयो ।
“बेवारिसे अवस्थामा भेटिएको ती शवहरु प्रहरीले पोष्टमार्टमका लागि ल्याएको थियो, तर पहिचान नखुल्दा शव अस्पतालमै राखिएको छ,’’ उहाँले भन्नुभयो ।
अस्पतालको पोष्टमार्टम कक्षभित्रको डीफ्रीजमा ती शव हरु राखिएको र अब कुनै शव आउँदा राख्ने ठाउँ समेत नरहेको देवले बताउनुभयो ।
पटकपटक यी शवको व्यवस्थापन गर्न सम्बन्धित निकायसँग आग्रह गरेपनि कसैले चासो नलिएको उहाँको गुनासो छ ।
विद्युत कट्दा अस्पताल परिसरमा दुर्गन्ध फैलिने गरेको त्यहाँका चिकित्सकहरु बताउनुहुन्छ ।
अस्पतालमा राखिएको शव सदरमुकाम राजविराजसहित कञ्चनरुप नगरपालिका तथा बिष्णुपुर र रुपनी गाउँपालिकाको छुट्टाछुट्टै स्थानमा बेबारिसे अवस्थामा भेटिएको थियो ।
बिभिन्न मितिमा भेटिएका शवहरुको हालसम्म पहिचान हुन नसक्दा पोष्टमार्टम कक्षमा राखिएको छ ।
कञ्चनरुप नगरपालिकाको छुट्टाछुट्टै ठाउँबाट दुई पुरुष र एक महिला, बिष्णुपुर गाउँपालिका वडा नम्बर ७ बाट एक पुरुष, रुपनी गाउँपालिकाबाट एक पुरुष, राजविराज नगरपालिका ६ बाट एक पुरुष, राजविराज–१४ बाट एक बालिका र राजविराज नगरपालिका वडा नम्बर ४ बाटै एक बालिकाको शव भेटिएको थियो ।
भेटिएको शव पोष्टमार्टमका लागि प्रहरीले अस्पताल ल्याएको थियो । तर शवको सनाखत हुन नसक्दा कोही पनि लिन नआएकोले शव यही राखिएको छ ।
वेवारिसे शव भेटिएको पालिकाकाले शव व्यवस्थापन गर्ने व्यवस्था छ । तर ती पालिकाहरुले कुनै पनि चासो नलिएको अस्पतालको मेडिकल रेकर्ड मेडिको लिगल शाखाका प्रमुख देवको भनाइ छ ।
“हामीले शव भेटिएका पालिकासहित प्रमुख जिल्ला अधिकारीसम्म गुहार लगाएका छौं । तर कसैले कुनै चासो लिएको छैन् । अब कुनै शव आउँदा राख्ने ठाउँ छैन’’ देवले भन्नुभयो ।