राधाकृष्ण डुम्रे
वालिङ,(स्याङ्जा) माघ २० गते । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मनोनयन दर्तापछि उम्मेदवारहरु गाउँगाउँमा पुगेका छन् । दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा गाउँगाउँ पुगेका राजनीतिक दलका कार्यकर्ता र नेताहरुका कारण चहलपहल भइरहेको छ ।
गएको माघ ६ गते भएको मनोनयनमा जिल्लामा एक जना पनि महिलाले उम्मेदवारी दिएनन् । ११ दलले २१ जना पुरुषलाई मात्रै उम्मेदवार बनाए भने तीन जना पुरुषले स्वतन्त्र उम्मेदवारी दिए । अव दुबै क्षेत्रमा १२/१२ गरी २४ जना उम्मेदवारहरु बिच प्रतिस्पर्धा हुने छ ।
मनोनयन दर्ता गराएका २८ जनामध्ये चार जनाले फिर्ता लिएका हुन् उनीहरु पनि पुरुष नै थिए ।
राजनीतिक दलहरुले नेपालको संविधानले परिकल्पना गरेको ‘समावेशी लोकतन्त्र’ को बेवास्ता गरेको राजनीतिका जानकारी ध्रुव शर्मा पंगेनीले बताउनुभयो । उहाँले भन्नुभयो, “समावेशीको बाध्यकारी व्यवस्थालाई समानुपातिकबाट मिलाउनै पर्ने छ तर महिलाहरुलाई पनि प्रतिस्पर्धामा उतार्न जरुरी थियो ।”
जिल्लाका कुल दुई लाख ४८ हजार ८१६ मतदातामध्ये पुरुष एक लाख २२ हजार ४६४ र महिला एक लाख २६ हजार ३५१ रहेका छन् । पुरुषभन्दा महिला मतदाता तीन हजार ८८७ ले धेरै छन् ।
समानुपातिकमा भने नेपाली कांग्रेसले कालीगण्डकी गाउँपालिकामा २०७९ को स्थानीयतहको चुनावमा पराजित हुनु भएकी माया राना र नेकपा(एमाले)ले केन्द्रीय सचिव पदमा कुमारी अर्याललाई उम्मेदवार बनाएका छन् ।