• २० माघ २०८२, मङ्गलबार

म्याग्दीबाट निर्वाचन प्रहरी थपेर बागलुङमा तालिम थालियो

blog

जिल्ला प्रहरी कार्यालय बागलुङले निर्वाचन प्रहरीहरुलाई तालिम दिँदै । तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट) माघ २० गते ।
जिल्ला प्रहरी कार्यालय बागलुङले छिमेकी जिल्ला म्याग्दीबाट निर्वाचन प्रहरी थप गरेर तालिम सुरूवात गरिएको छ ।

तीन पटकसम्म पनि  म्याद थप्दा समेत निर्वाचन प्रहरी अपुग भएपछि जिल्ला प्रहरी कार्यालय बागलुङले छिमेकी जिल्लाबाट जनशक्ति थपेर तालिम सुरु गरिएको हो ।

बागलुङ जिल्लामा आवश्यक एक हजार २९८ निर्वाचन प्रहरीका लागि अपुग जनशक्ति म्याग्दी जिल्लाबाट ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

उहाँले अपुग जनशक्तिमध्ये १५४ जनशक्ति म्याग्दीबाट मगाएर एक हजार २४० जना निर्वाचन प्रहरीको चार स्थानमा तालिम दिन थालिएको भारतीले बताउनुभयो । तीन पटक म्याद थप्दा समेत आवश्यक निर्वाचन प्रहरी अपुग भएपछि म्याग्दीमा आवेदन बढी आएका जनशक्तिलाई बागलुङ ल्याइएको हो । 

बागलुङमा मागेको आवेदनभन्दा कम जम्मा एक हजार ८६ जनामात्रै निर्वाचन प्रहरीका लागि निवेदन परेको थियो ।

अझै ५८ जना जनशक्ति अन्य जिल्लाबाट ल्याउने तयारी गरिएको भारतीले जानकारी दिनुभयो । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि बागलुङका चार ठाउँमा तालिम सुरु गरिएको छ ।

बागलुङमा एक हजार २९८ जना निर्वाचन प्रहरीको लागि १० दिने तालिम सुरु भएको हो । निर्वाचन प्रहरी भर्नाको लागि तीन पटकसम्म सूचना प्रकाशित गर्दा समेत माग संख्या भन्दा २१२ जना कमले आवेदन पेश गरेका थिए ।

भर्ना प्रक्रियाबाट छनोट भएका निर्वाचन प्रहरीमध्ये इलाका प्रहरी कार्यालय बरेङडाँडामा ५९ जना, बुर्तिवाङमा ३१०, गलकोटमा १८१ र अन्य बाँकी ७४८ जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङबाट तालिम दिन थालिएको हो ।