• २० माघ २०८२, मङ्गलबार

सङ्घीयता, पहिचान र समानुपातिक प्रतिनिधित्व व्यवस्थित गर्न आवश्यकः उपेन्द्र यादव

blog

चुनावी भेटघाट कार्यक्रममा मञ्चासीन अध्यक्ष यादवसहितका नेताहरु । तस्बिरः देवराम यादव

देवराम यादव
सप्तरी, माघ १९ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उपेन्द्र यादवले मुलुकको विकास र पछाडि पारिएका जाति तथा समुदायको हक–अधिकार सुनिश्चित गर्न सङ्घीयता, पहिचान र समानुपातिक प्रतिनिधित्वलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सप्तरीको रुपनी गाउँपालिका–६ स्थित तेरहौतामा सोमबार आयोजित चुनावी भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो बताउनुभएको हो ।

उहाँले मधेशी, आदिवासी जनजाति, थारु, दलितलगायत समुदायको कठोर आन्दोलनबाट नै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्नुभयो । उत्पीडित जाति तथा समुदायका हक–अधिकार स्थापित गर्न सङ्घीयता, पहिचान र प्रतिनिधित्वसहितको मधेस आन्दोलनबाट प्राप्त उपलब्धिहरूको संरक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

पहिचानको आन्दोलनबाट प्राप्त अधिकारको रक्षा तथा थप अधिकार प्राप्तिका लागि संघर्ष जारी रहेको बताउँदै उहाँले अधिकार सुनिश्चितताका लागि जसपा नेपालका उम्मेदवारहरूको जित अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो ।

“मधेश जनविद्रोहबाटै मधेसी, महिला, दलित, जनजाति, थारु, मुस्लिम, आदिवासी र अल्पसंख्यक समुदायको कोटा सुनिश्चित भएको हो,” उहाँले भन्नुभयो, “यदि मधेश आन्दोलन नभएको भए एमाले, कांग्रेसलगायतका पार्टीहरूमा पनि मधेशीले स्थान पाउने थिएनन् ।”

नेपालमा पहिचानको आधारमा एकमात्र मधेश प्रदेश स्थापना भएको उल्लेख गर्दै अध्यक्ष यादवले जनसङ्ख्याको आधारमा करिब ६० प्रतिशत मधेशी जनसङ्ख्या रहे पनि विकास बजेट मात्र ११ प्रतिशत दिइने गरेको कारण अपेक्षित विकास हुन नसकेको बताउनुभयो । आदिवासी जनजाति, दलितसहित मधेश र मधेशी जनताको हक–अधिकार सुनिश्चित गर्न एकताबद्ध भएर अघि बढ्न उहाँले आग्रह गर्नुभयो ।

उहाँले पछिल्ला ३५ वर्षसम्म कांग्रेस–कम्युनिस्टले शासन सञ्चालन गरे पनि लुटतन्त्र र भ्रष्टाचार बाहेक उल्लेखनीय काम गर्न नसकेको टिप्पणी गर्नुभयो । यस अवधिमा सञ्चालनमा रहेका सयौँ उद्योग–कलकारखाना गलत नीतिका कारण बन्द भएको र निजीकरणमार्फत सरकारी विद्यालय तथा अस्पतालसमेत धराशायी बनाइएको उहाँको आरोप थियो ।

स्थानीय नेता पृथ्वीराज दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समानुपातिक उम्मेदवारद्वय स्वस्तिका चौधरी र चुल्हाइ मण्डल, रुपनी गाउँपालिकाकी उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगी, पूर्व उपाध्यक्ष बेचनीदेवी सरदार, वडा नम्बर ६ का वडाध्यक्ष बद्री नारायण सरदार, स्थानीय जनप्रतिनिधि, नेताकार्यकर्ता, बुद्धिजीवी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो ।