गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २० गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार अनुमति प्रणाली (इपिएस) बाट दक्षिण कोरिया जान रोस्टरको अवधि थप्नुपर्नेलगायतका मागसहित लामो समयदेखि आन्दोलनरत युवालाई विरोधका कार्यक्रम स्थगित गरेर विकल्प खोज्न आग्रह गरेको छ ।
मन्त्रालयले कोरियास्थित नेपाली दूतावास र कोरियाको रोजगार तथा श्रम मन्त्रालयबिच भएको छलफलबाट नेपालीका लागि मात्रै रोस्टरको समयावधि थप नसक्ने स्पष्ट पारेको हुँदा आन्दोलनरत युवालाई यसको विकल्प खोज्न मन्त्रालयले आग्रह गरेको हो । रोस्टर अवधि सकिन लागेका युवाले रोस्टर अवधि थप हुनुपर्ने, ९० प्रतिशतलाई रोजगारी सुनिश्चित हुनुपर्ने, पहिलो आउनेलाई पहिलो प्राथमिकता दिनुपर्ने, क्षेत्र परिवर्तन गर्न पाउनुपर्नेलगायतका माग राखेर आन्दोलनमा छन् । श्रम मन्त्रालयका सहसचिव पीताम्बर घिमिरेले रोस्टरमा रहेका नेपाली युवाको मागलाई प्राथमिकतामा राखेर कोरियामा रहेको नेपाली दूतावासले कोरिया सरकार अन्तर्गत नेपालमा रहेको मानव संसाधन विभाग (एचआरडी) का प्रतिनिधिलाई सहमत गराउन अनेक प्रयासबाट हाम्रो पक्षमा परिणाम नआएको बताउनुभयो । रोस्टरमा रहेका युवाको समस्या समाधान गर्ने समितिका संयोजकसमेत रहेका घिमिरेले भन्नुभयो, “हामीले लागे र पुगेसम्म धेरै कोसिस गरियो, हामीले मात्रै चाहेर भएन, कोरियाले नेपालीका लागि मात्रै नियम परिवर्तन गर्न नसक्ने स्पष्ट पारेको छ ।”
उहाँले यस्ता गतिविधिले मित्रराष्ट्र दक्षिण कोरियासँगको सुमधुर सम्बन्धमा प्रतिकूल असर पर्न सक्ने र भविष्यमा नेपाली श्रमिकको रोजगारीका अवसरमा समेत नकारात्मक प्रभाव पर्न सक्ने देखिएकाले सबै पक्षलाई संयमित हुन आग्रह गर्नुभयो । दक्षिण कोरियामा इपिएसका माध्यमबाट नेपालसहित १७ देशका श्रमिक जाने र सबै देशमा एकरूपतासाथ लागु हुने भएकाले नेपालका लागि मात्र छुट्टै नियम परिवर्तन गरी रोस्टर अवधि थप गर्न वा क्षेत्र परिवर्तन गर्न नसकिने जानकारी गराइसकेको छ साथै कोरियाले सञ्चालन गरेको परीक्षा प्रणाली र जब म्याचिङ प्रक्रिया पूर्ण रूपमा स्वचालित र अनलाइन प्रणालीमा आधारित रहने हुँदा यसमा कुनै पनि व्यक्ति, कर्मचारी वा निकायले हस्तक्षेप गर्न नसक्ने र यो अत्यन्तै पारदर्शी एवं विश्वसनीय रहेको भन्दै कुनै शङ्का नगर्न आग्रह गरेको छ ।
साथै सहसचिव घिमिरले श्रम मन्त्रालयले यस्ता समस्याको दीर्घकालीन समाधान खोज्न एक उच्चस्तरीय टोली छिट्टै दक्षिण कोरिया प्रस्थान गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।