गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २० गते । प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले पेस गरेको बन्दसूचीका ७६ उम्मेदवार बन्दसूचीबाट हटेका छन् । उम्मेदवारमाथि प्राप्त उजुरी, योग्यता र अयोग्यताको प्रश्न तथा राजनीतिक दलहरूको पत्राचारका आधारमा निर्वाचन आयोगले सो निर्णय गरेको हो । पुस १३ र १४ गते समानुपातिकको बन्दसूची पेस भएकोमा माघ ४ गते प्रारम्भिक नामावली सार्वजनिक भएको थियो । समानुपातिकतर्फको निर्वाचन कार्यतालिका अनुसार माघ २० गते मङ्गलबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुँदै छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सम्बन्धित राजनीतिक दलहरूको सिफारिससमेतका आधारमा नाम हटाइएको बताउनुभयो । निर्वाचन आयोगका अनुसार कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१ जना, प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका २५ जना, निर्वाचन आयोगबाट तोकिएको जरिबाना भुक्तान नगरेका १० जनालाई आयोगले बन्दसूचीबाट हटाएको छ ।
आयोगका अनुसार सविना श्रेष्ठ, अनिलकुमार साह, भवानी दमाई, प्राणेदेवी थरुनी, लेखबहादुर मोक्तान र वसन्तकुमार हमालको नाम प्रदेश सभाको समानुपातिकको बन्दसूचीमा कायम रहेपछि प्रतिनिधि सभातर्फ हटाइएको हो । ममता यादव, धनबहादुर गुरुङ, मिनु थापा, दिलकुमारी थापा, दीपेन्द्रबहादुर थापा, सावित्रीदेवी चौधरी, दलबहादुर गुरुङ, जशोदा लिम्बू र शिला लिम्बूलगायतको नाम पनि प्रदेश सभाको बन्दसूचीमा रहेपछि प्रतिनिधि सभा समानुपातिकबाट हटाइएको हो । यस्तै विमला स्वाँर र लालुराम जैसीको मतदाता नामावलीमा पिछडिएको क्षेत्रबाट नाम नरहेपछि समानुपातिकको बन्दसूचीबाट नाम हटाइएको हो । यस्तै श्रम संस्कृति पार्टीको पत्रबाट १० जनाको नाम फिर्ता भएको छ ।
चार जनाको नाम उम्मेदवार हुन तोकिएको २५ वर्ष उमेर पूरा नभएकाले हटाइएको छ । महिला उम्मेदवार पेस हुनुपर्नेमा पुरुष उम्मेदवार पेस भएकाले एक जनाको नाम बन्दसूचीबाट हटाइएको छ । निर्वाचन कार्यतालिका अनुसार अब आयोगले उम्मेदवारको अन्तिम नामावली मङ्गलबार प्रकाशित गर्ने छ ।
आयोगले दलहरूबाट पेस भएको बन्दसूची अनुसार तीन हजार २१३ जनाको नाम प्रारम्भिक रूपमा सार्वजनिक गरेको छ । जाँचबुझको प्रक्रियाबाट ७६ जनाको नाम हटेसँगै अब तीन हजार १३७ उम्मेदवार कायम भएका छन् । ५७ निर्वाचन चिह्नमा ६३ राजनीतिक दलले समानुपातिकमा भाग लिएका छन् । एकल र संयुक्त चिह्न गरी ५७ निर्वाचन चिह्न कायम भएका छन् । समानुपातिकको मतपत्रमा भने ५८ चिह्न रहने निश्चित भइसकेको छ । समानुपातिकतर्फ कुल ११० सदस्य निर्वाचित हुने छन् ।