• १९ माघ २०८२, सोमबार

प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्छु : अध्यक्ष आचार्य

blog

सञ्चार सम्वाद क्लबको उद्घाटनपश्चात् सम्बोधन गर्नुहुँदै प्रेस काउन्सिलका अध्यक्ष डा. कुमार शर्मा आचार्य । तस्बिरः गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, माघ १९ गते । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले आफ्नो कार्यकालभर प्रेस स्वतन्त्रताको पूर्णरुपमा ग्यारेन्टी गर्ने बताउनुभएको छ ।

सञ्चार सम्वाद क्लबको सोमबार नेपालगन्जमा उद्घाटनपश्चात् अध्यक्ष आचार्यले पत्रकारलाई पूर्णरुपमा आचारसंहिताभित्र रहटेर पत्रकारिता गर्न अनुरोध गर्दै पत्रकारको रक्षा, हकहितका लागि आफ्नो कार्यकाल प्रेस स्वतन्त्रताको पूर्णरुपमा ग्यारेन्टी गर्ने बताउनुभएको हो ।

काउन्सिलले जारी गरेको आचारसंहितालाई अध्ययन गरेर आफ्नो कर्म गरे कहिल्यै गल्ती नहुने भन्दै निर्वाचन पनि अगाडि आएकाले निर्वाचन आचारसहिंताका साथै पत्रकार आचारसंहिताअन्तर्गत रहेर सभ्य र निष्पक्ष भएर पत्रकारिता गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपालगन्जमा सञ्चार सम्वाद क्लब स्थापना हुनु खुसीको कुरा भएको बताउँदै उहाँले क्लबका बारेमा विवादित कुराहरु आफूले सुन्न नपरोस् भन्दै निष्पक्ष तरिकाले लोकतन्त्रलाई संस्थागत गर्ने उद्देश्यले काम गर्न क्लबलाई शुभकामना दिनुभयो ।

अध्यक्ष आचार्यले काउन्सिल स्वतन्त्र र नियामक निकाय भएकाले गलत नगर्ने पत्रकारले डराउन नपर्ने र गलत गर्नेहरुका बारेमा काउन्सिलले अनुगमन र निगरानी गरिरहने बताउनुभयो । उहाँले सुधारात्मक विधि र दण्डनात्मक विधिबाट काउन्सिलले काम गर्दै आए पनि सुधारात्मक विधिलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।

निर्वाचन आयोग र प्रेस काउन्सिलले संयुक्त रुपमा निर्वाचनलक्षित आचारसंहिता र नियमित आचारसंहिता बारेमा विभिन्न जिल्लाहरुमा सचेतनाका अभियान सञ्चालन गरिरहेको समेत उहाँले जानकारी दिनुभयो ।

क्लबका अध्यक्ष डा. डक्टप्रसाद धितालले क्लब नाफामूलक संस्था नभएर आम आवाजविहीन नागरिकहरुको आवाज बोल्ने प्लेटफर्म भएको बताउनुभयो । उहाँले क्लबलाई राजनीतिक थलोका रुपमा प्रयोग हुन नदिएर स्वच्छ रुपमा समाजका आवाजहरु उठ्ने र उठाउने थलोका रुपमा प्रयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

पत्रकार आचारसंहिताको पूर्णरुपमा पालना गर्दै कुनै पनि विवादित विषयलाई स्थान नदिने र क्लबमार्फत यो क्षेत्र मात्रै नभएर प्रदेश तथा देशलाई नै सहयोगी भूमिका हुने गरी काम गर्ने उल्लेख गर्नुभयो । उहाँले क्लबको उद्देश्यअनुसार सत्यतथ्य, निष्पक्ष, जिम्मेवार र मर्यादित भएर जनताका पक्षमा सदैव काम गर्ने बताउनुभयो ।

सोमबारदेखि सञ्चलानमा आएको नेपालगन्जको न्यूरोडमा स्थापना गरिएको सञ्चार सम्वाद क्लबको काउन्सिलका अध्यक्ष आचार्यले एक औपचारिक कार्यक्रमबिच उद्घाटन गर्नुभएको क्लबका महासचिव खिमप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

क्लबका सचिव सन्तोष विष्टले स्वागत गर्नुभएको कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, बाँके अध्यक्ष नवीन गिरी, बाँकेका पूर्वअध्यक्ष निरज गौतम लगायतले क्लबको निरन्तरताको कामनासहित शुभकामना व्यक्त गर्नुभएको थियो ।