जयमान बुढामगर
रुकुमपूर्व, माघ १९ गते । रुकुमपूर्व र बागलुङसँगको सिमाना यिरनेता (पातिहाल्ने)मा हिउँ खेल्नेको घुइँचो लागेको छ । दुई दिन लगातार परेको हिउँ अनुमानित ३ फिटसम्म रहेकोले हाल रुकुमपूर्व र बाग्लुङको सिमाना यिरनेतामा हिउँ खेल्नेको घुइँचो लागेको हो ।

यिरनेता मध्यपहाडी लोकमार्गमै पर्ने भएकोले हिउँ खेल्नका लागि रुकुमपूर्व र बागलुङ जिल्लासँगै रोल्पा, रुकुम पश्चिम, दाङ, प्युठान, बुटवल लगायतका जिल्लाबाट दैनिक आन्तरिक पर्यटक पुग्ने गर्छन्।
यिरनेतामा होटेल व्यवसायी कमल बुढाका अनुसार गएको बुधबारदेखि हिउँ खेल्न आउनेको घुइँचो लागेको छ । "यिरनेता मध्यपहाडी लोकमार्गको पहुँचमै रहेकोले टाढा–टाढाबाट पर्यटक आउने उहाँले जानकारी दिनुभयो । हिउँ हेर्न र खेल्न दैनिक ५० देखि दुई सय जनासम्म आउने गर्छन्", उहाँले भन्नुभयो ।
हिउँ खेल्ने र हेर्ने आउनु भएका पर्यटकले टिकटक बनाउने, तस्बिर खिच्ने एवम् हिउँमै नाचगान समेत गरी हिउँमा रमाउने गर्छन् ।

यसैगरी, जलवायु परिवर्तनका कारणले हाल माथिल्लो उच्च क्षेत्रमा मात्र हिउँ पर्ने गरेकोले हिउँ खेल्ने र हेर्नेको महत्त्व बढेको रुकुमपूर्व भूमे गाउँपालिका–९, चुनबाङका लालबहादुर विष्टले बताउनुभयो । विष्टले भन्नुभयो, “विगतका वर्षमा हिउँ गाउँ सम्मै पर्थ्याे । ७–८ वर्ष यता गाउँभन्दा माथि धेरै उच्च क्षेत्रमा मात्र हिउँ पर्ने गर्छ ।”
हिउँ नपर्ने जिल्लाका लागि त यो अनौठो नै हुने भयो तर, पछिल्लो वर्षमा हिउँ कम परेको कारण हिमाली जिल्लावासीलाई समेत अनौठो लागेको विष्टले बताउनुभयो ।

