रवीन्द्र उप्रेती
बर्दिबास, माघ १९ गते । बर्दीबासको नाम, पहिचान तथा धार्मिक महत्त्व बोकेको वडा १४ स्थित कामेश्वरनाथ तलाउमा आराध्यदेव भगवान् शिवको ३१ फिट अग्लो मूर्ति निर्माण गरिने भएको छ । नगरपालिकाको आन्तरिक स्रोतबाट करिब ४२ लाख रुपियाँ लागतमा निर्माण हुने मूर्तिको बर्दीबास नगरपालिका प्रमुख प्रह्लाद क्षेत्री तथा वडा १४ का वडाध्यक्ष विजय महतोले वैदिक विधिअनुसार आज (सोमबार) बिहान शिलान्यास गर्नुभयो ।
शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख क्षेत्रीले कामेश्वरनाथ तलाउसँग बर्दीबासको नाम, पहिचान र धार्मिक आस्था गाँसिएकोले जनभावनाको कदर गर्दै यस तलाउलाई धार्मिक पर्यटनसँग जोड्ने उद्देश्यले यस भेगकै सबैभन्दा अग्लो महादेवको मूर्ति स्थापना गर्न लागिएको जनाउनुभयो ।
स्थानीय बुढापाकाका अनुसार उक्त पोखरी कहिले निर्माण भयो ? यकिन इतिहास नपाइए पनि यसको सम्बन्ध जयनगर–जनकपुर रेल्वेसँग गाँसिएको छ । विक्रम सम्वत् १९९४ साल (सन १९३७) मा तत्कालीन ब्रिटिस भारत सरकारले महोत्तरीका जङ्गलबाट काठ ढुवानी गर्न जयनगर–जनकपुर न्यारोगेज रेलवे निर्माण गरेको थियो, जुन महोत्तरीको विजलपुरासम्म विस्तार भएको थियो ।
रेलवे ट्रयाक निर्माण तथा सेवा सञ्चालनका क्रममा माईस्थान, टुटेश्वरलगायतका क्षेत्रमा व्यापक रुख कटानी भए । ती काठहरू जङ्गलबाट नजिकको रेलवे स्टेसनसम्म सयौँ बैलगाडाबाट ढुवानी गरिन्थ्यो। जङ्गल र रेलवे स्टेसनको बिचमा पर्ने निर्जन स्थानमा रहेको यही कामेश्वरनाथ तलाउ किनारामा ती बैलगाडा एक रात बास बस्थे । थाकेका गोरुका बथान त्यही आराम गर्थे । त्योेबेला तलाउको पानी स्वच्छ र पिउनयोग्य भएकोले बहलमानहरू (गाडा चालक) सोही पोखरीको पानीले खाना बनाएर खान्थे, आराम गर्थे र झिसमिसेमै गाडा जोतेर रेल्वे स्टेसनतर्फ लाग्थे ।
वडाध्यक्ष विजय यादवका अनुसार काठ बोकेर आएका सयौँ गाडाका ‘बरद’ अर्थात् गोरुहरू यहीँ बास बस्ने भएकाले यो ठाँउलाई स्थानीय भाषामा ‘बरद बास’ भनिन थालियो । यही शब्द अपभ्रंश हुँदै यस स्थानको नाम बर्दीबास रहन गएको हो ।
बस्ती विस्तारसँगै पोखरीको पश्चिमतर्फ कामेश्वरनाथ मन्दिर स्थापना भएपछि तलाउ पनि कामेश्वरनाथ पोखरीका नामले चिनिन थाल्यो । पछि राजमार्ग विस्तारसँगै यो क्षेत्र टुटेश्वरनाथ मन्दिर र हलेसी महादेव जोड्ने धार्मिक मार्गका रूपमा विकास भएपछि यो पोखरीको पनि धार्मिक तथा पर्यटकीय महत्त्व बढेकोले जनभावलाई अनुमोदन गर्दै विशालकाय महादेवको मूर्ति निर्माणको निर्णय गरिएको वडाध्यक्ष महतोले बताउनुभयो ।
‘वरद’ अर्थात् बसाहाको ऐतिहासिक पहिचानलाई मूर्तरूप दिन महादेवको मूर्तिसँगै बसाहाको मूर्ति पनि निर्माण गरिने डिजाइन गरिएको उहाँले जानकारी दिनुभयो । वडाध्यक्ष महतोका अनुसार फाउन्डेसनको काम यही फागुन महिनाभित्र सम्पन्न गरी वर्षा सुरु हुनु अगावै मूर्ति निर्माण कार्य पूरा गर्ने लक्ष्य राखिएको छ ।
मूर्ति निर्माणपछि बर्दीबासको आन्तरिक पर्यटन प्रवर्धन तथा स्थानीय बजार व्यवसाय चलायमान हुने अपेक्षा गरिएको छ ।