नारायणगढ समाचारदाता
नारायणगढ, माघ १९ गते । आसन्न प्रतिनिधि सभा निर्वाचनमा चितवनमा मतदान गर्ने महिलाको सङ्ख्या पुरुषको भन्दा बढी छन् तर उम्मेदवार महिलाको सङ्ख्या न्यून छ ।
चितवनमा कुल ६४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगको कार्यालयले जनाएको छ । तीमध्ये १८ जना महिला उम्मेदवार बन्नुभएको छ । चितवनमा रहेका चार लाख ८२ हजार ८२ मतदातामध्ये महिला मतदाता दुई लाख २४ हजार ७६६ रहेका छन् ।
मत राख्ने महिला मतदातको सङ्ख्या बढी भए पनि उम्मेदवार महिलाको सङ्ख्या न्यून छ । महिला तथा बालालिकाका क्षेत्रमा नियमित कलम चलाइरहने पत्रकार सरिता पौडेल प्रतिस्पर्धामा महिलाको उपस्थिति कमजोर देखिएको प्रतिव्रिmया दिनुहुन्छ । उहाँले भन्नुभयो, “मत हाल्ने सङ्ख्यामा अगाडि भए पनि निर्णय गर्ने तहमा पुग्नकै लागि भएको निर्वाचनमा उम्मेदवार हुन महिला अझै पछाडि छन् भन्ने तथ्यहरूले देखाएको छ ।” उहाँले महिला उम्मेदवारको सङ्ख्या कम हुनुमा संयोग मात्रै नभई संरचनागत असमानताको परिणाम भएको आरोप पनि लगाउनुभयो ।
चितवन क्षेत्र नम्बर १ मा दुई जना महिला उम्मेदवार छन् । राष्ट्रिय जनमोर्चाबाट सीता देवी क्षेत्री र नेसनल रिपब्लिक नेपालबाट ईश्वरी गुरुङ यो क्षेत्रमा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यस्तै क्षेत्र नम्बर २ मा महिला उम्मेदवारको सङ्ख्या धेरै देखिन्छ । यस क्षेत्रमा कुल २३ जनामध्ये सात जना महिला उम्मेदवार छन् । यो क्षेत्र यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले भारी मतान्तरले चुनाव जित्नुभएको क्षेत्र हो । यो क्षेत्रमा अहिले पनि लामिछानेको उम्मेदवारी रहेको छ । यहाँ लामिछानेसँग प्रतिस्पर्धा गर्न नेपाली कांग्रेसले समाजसेवी महिला मीना खरेललाई अगाडि सारेको छ । खरेल अहिले महिला तथा युवाको उत्साहले आफूले चुनाव जित्ने दाबी गर्नुहुन्छ ।
उहाँले भन्नुभयो, “लामो समयदेखि यही क्षेत्रमा रहेर काम गरेका कारण पनि मलाई यो क्षेत्रका हरेक मतदाताले चिन्नुभएको छ । त्यो नै मेरो जितको आधार हो ।” यो क्षेत्रमा मीनासँगै छ जना महिला उम्मेदवार छन् । मङ्गोल नेसनल अर्गनाइजेसनका ऋषा गोले, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट दिर्शना कुमारी शाही, आमजनता पार्टीबाट देवीकुमारी मगर, राष्ट्रिय जनमोर्चा पार्टीकी देवी शर्मा, जनमत पार्टीकी निर्मलाकुमारी ठाकुर र नेपाल मजदुर किसान पार्टीकी शोभा वासुकला रहेका छन् । उहाँहरू सबै निर्वाचन जित्ने दाबी गर्नुहुन्छ ।
क्षेत्र नं. ३ मा चर्चित दुई महिला चुनावी दौडानमा रहेकाले यो क्षेत्रले सबैको ध्यान खिचेको छ । नेपाली कम्युनिस्ट पार्टीकी रेनु दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमबिचको प्रतिस्पर्धाले यस क्षेत्रमा रोमाञ्चित चुनावी भिडन्त हुने देखिएको छ । सोविता रास्वपाकी केन्द्रीय सदस्य तथा यसअघि सांसद भइसक्नुभएको थियो । रेनु दाहाल भरतपुर महानगरमा प्रमुख भएर विकास निर्माणमा आफूलाई अब्बल बनाउनुभएको पात्र हुनुहुन्छ । दाहालले आफूले जितको आधार भरतपुरमा गरिएको विकास निर्माण र सुशासन नै भएको दाबी गर्नुहुन्छ ।
यस क्षेत्रमा रेनु र सोवितासहित नौ जना महिला उम्मेदवार छन् । यो क्षेत्रमा उम्मेदवार दिने महिला उम्मेदवारमा नेसनल रिपब्लिक नेपालकी सेतीमाया तामाङ, नागरिक उन्मुक्ति पार्टीकी हरिमाया महतो, नेपाल मजदुर किसान पार्टीकी बद्री लक्ष्मी कवाँ, स्वतन्त्रतर्फ इन्द्रमाया पौडेल, पार्वती पौडेल काफ्ले, मधुमाया अधिकारी र रञ्जना पौडेल चुनावी प्रतिस्पर्धामा छन् ।
चितवनको इतिहास हेर्दा यसअघि प्रत्यक्षतर्फ एक जना महिलाले मात्रै चुनाव जित्नुभएको छ । २०५६ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी सावित्री बोगटीले चितवन क्षेत्र नम्बर १ बाट निर्वाचत हुनुभएको थियो । उहाँ पछि सहायक मन्त्रीसमेत हुनुभयो । चितवनमा यसअघि २०१५ सालको निर्वाचनमा मैयादेवी श्रेष्ठले नेपाली कांग्रेसबाट विद्रोह गरेर बागी उम्मेदवार दर्ता गराएपछि उहाँले नेपाली कांग्रेसका उम्मेदवार विश्वबन्धु थापालाई समर्थन गरेको इतिहास उल्लेख छ ।