• १८ माघ २०८२, आइतबार

मेयरको भनाइ,‘सबैले पार्टी रोजे, मैले जनता रोजें’

blog

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल ।

नीराजन परियार

चौमाला (कैलाली), माघ १८ गते । कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर (प्रमुख) गोपाल हमालले अरूले पार्टी रोज्दा आफूले जनता रोजेको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले  ‘सबैले पार्टी रोजे, मैले जनता रोजेँ’ लेख्नुभएको छ । 

स्वतन्त्र रूपमा चुनाव लडेर स्थानीय तहमा विजयी भएका तीन मेयरमध्ये दुई जना भने पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनिसक्नुभएको छ । 

काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन साह राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेताका रूपमा झापा –५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चुनावी मैदानमा छन्। यस्तै, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले  ‘श्रम संस्कृति पार्टी’ गठन गर्दै सुनसरी क्षेत्र नम्बर –१ बाट उम्मेदवारी दिएका छन्।

तर हमालले भने धनगढीका जनताले आफूलाई पाँच वर्षका लागि दिएको जनादेश पूरा गर्ने प्रतिबद्धता गरेका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा मेयरमा उठेका हमाल कांग्रेसका नृपबहादुर वडसँग २ हजार ७०० मतले पराजित भएका थिए। तर २०७९ सालको निर्वाचनमा भने उहाँले वडलाई पराजित गर्दै मेयरमा विजय हासिल गरेका थिए । हमालले कुल खसेको ६३ हजार ७१५ मतमध्ये २६ हजार ८६५ मत प्राप्त गरे भने निकटतम प्रतिस्पर्धी वडले १४ हजार ८१७ मत ल्याएका थिए । तेस्रो स्थानमा रहेका एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत प्राप्त गर्नुभएको थियो ।