काठमाडौँ, माघ १८ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रतिनिधिसभा निर्वाचनको तयारीबारे जानकारी लिनुभएको छ।
गृहसचिव, मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख लगायतका उच्च अधिकारीसहित भक्तपुर पुग्नुभएका मन्त्री अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न गृहले काम गरिरहेको बताउनुभयो । गृह मन्त्रालयले सार्वजनिक गरेको ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्ने सम्बन्धी अवधारणा, २०८२’ लाई कार्यान्वयन गर्ने सम्बन्धमा प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई स्थानीय जनप्रतिनिधिहरुसँग सहकार्य र समन्वय गर्दै अघि बढ्न निर्देशन दिनुभयो।
भक्तपुरमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय र भक्पुरका दुवै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मन्त्री अर्यालले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतसँग भेट गर्नुभएको छ ।
मुख्य निर्वाचन अधिकृतसँगको भेटमा मन्त्री अर्यालले स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ रहेको बताउँदै आवश्यक समन्वय र सहजिकरणको लागि गृह मन्त्रालय तयार रहेको बताउनुभयो।
मन्त्री अर्याललाई भक्तपुरका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका पदाधिकारीले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था र निर्वाचनको तयारीबारे मन्त्री अर्याललाई जानकारी गराउनुभयो।
आइतबार मन्त्री अर्यालले भक्तपुरमा रहेको बालसुधार गृहको स्थलगत अवलोकनसमेत गर्नुभएको छ । माघ ८ गते उक्त गृहमा भएको तोडफोडबाट भएको क्षतिबारे जानकारी लिँदै उहाँले आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिन प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई निर्देशन दिनुभयो।
बाल सुधार गृहमा भएको उक्त घटना पश्चात् त्यहाँ रहेका १८ वर्षमाथिका बन्दीलाई नुवाकोटमा रहेको कारागारभित्र रहेको छुट्टै ब्लकमा स्थानान्तरण गरिसकिएको छ।