• १८ माघ २०८२, आइतबार

प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापियाे

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, माघ १८ गते । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई तीव्र पारेको छ। आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै गत माघ १० गतेदेखि १८ गतेसम्म सम्पादन भएका मुख्य-मुख्य कार्यहरूको विवरण सार्वजनिक गरेको हो।

आयोगका अनुसार निर्वाचनको पूर्वतयारी अन्तर्गत मतपत्र छपाइ, संयुक्त निर्वाचन सञ्चालन केन्द्रको स्थापना, आचारसंहिताको नियमन र अन्तर्राष्ट्रिय समुदायलाई ब्रिफिङ गर्ने लगायतका महत्त्वपूर्ण कामहरू सम्पन्न भएका छन्।

मतपत्र छपाइ र प्राविधिक तयारी

आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार थान मतपत्र र मतदाता शिक्षाका लागि करिब ११ लाख थान नमुना मतपत्रको छपाइ कार्य सम्पन्न गरेको छ। 

यस्तै, पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ हालसम्म २५ जिल्लाका ३० लाख मतपत्र छापिसकिएको आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो।

आचारसंहिता उल्लङ्घन गर्नेमाथि तीव्र निगरानी 

निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन आयोगले आचारसंहिता उल्लङ्घन गर्नेहरूमाथि कडा निगरानी थालेको छ।

डिजिटल कारबाही: मिथ्या सूचना र घृणास्पद अभिव्यक्ति फैलाउने १२० कन्टेन्ट उत्पादकलाई साइबर ब्युरोमा कारबाहीका लागि सिफारिस गरिएको छ।

अनुगमन: ७७ वटै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीलाई 'आचारसंहिता अनुगमन अधिकृत' तोकिएको छ।

उजुरी संयन्त्र: नागरिकका लागि उजुरी दिन ecn.coc@election.gov.np इमेलको व्यवस्था गरिएको छ। हालसम्म २१ वटा उजुरीमा स्पष्टीकरण सोधिएकोमा १२ वटाको जवाफ प्राप्त भइसकेको छ।

संयुक्त निर्वाचन सञ्चालन केन्द्रको सुरुवात

निर्वाचन अनुगमनलाई प्रभावकारी बनाउन माघ ११ गतेदेखि आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरिएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीद्वारा उद्घाटन गरिएको यस केन्द्रमा गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकृतहरूको प्रतिनिधित्व रहेको छ। यसले देशभरका सूचना विश्लेषण र समस्या समाधानमा सहजीकरण गर्ने छ।

आर्थिक पारदर्शिता र निजी क्षेत्रको ऐक्यबद्धता

आयोगले निर्वाचन खर्चलाई पारदर्शी बनाउन राजनीतिक दल र उम्मेदवारहरूका लागि छुट्टै बैँक खाता खोल्न राष्ट्र बैँकलाई पत्राचार गरिसकेको छ। 

यसका लागि "निर्वाचन अभियान बैँक खाता कार्यविधि, २०८२" समेत तयार गरिएको छ। यता, निजी क्षेत्रका छाता सङ्गठनहरूले निर्वाचनलाई सफल बनाउन पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

अन्य गतिविधिहरू:

कल सेन्टर: माघ ५ गतेदेखि सञ्चालित कल सेन्टरमा हालसम्म Ps हजार ६७७ वटा जिज्ञासा प्राप्त भएका छन्, जसमा अधिकांश मतदाता नामावलीसँग सम्बन्धित छन्।

अन्तर्राष्ट्रिय ब्रिफिङ: माघ १५ गते काठमाडौँस्थित कूटनीतिक नियोग र संयुक्त राष्ट्र सङ्घीय निकायका प्रमुखहरूलाई निर्वाचन तयारीबारे परराष्ट्र मन्त्रालयमार्फत जानकारी गराइएको छ।

मतदाता शिक्षा: आयोगले फेसबुक, टिकटक र युट्युबमार्फत १५८ वटा सचेतना सामग्रीहरू प्रचारप्रसार गरिरहेको छ।

आयोगले निर्वाचनको वातावरण उत्साहजनक रहेको र निर्धारित समयमै निष्पक्षरूपमा निर्वाचन सम्पन्न गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको जनाएको छ।