• १८ माघ २०८२, आइतबार

अरुणिमा शैक्षिक प्रतिष्ठानको दिवसः मुख्यसचिवसहित छ जना सम्मानित

blog

अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औँ स्थापना दिवसका अवसरमा मुख्य सचिवसहित छ जनालाई सम्मान प्रदान ।

काठमाडौँ, माघ १८ गते ।काठमाडौँस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानको ४१औँ स्थापना दिवसका अवसरमा मुख्य सचिवसहित छ जनालाई सम्मान प्रदान गरिएको छ ।

विद्यालयद्वारा आज यहाँ आयोजित ‘विशिष्ट व्यक्तित्वको अभिनन्दन’ कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्याल, न्यूज २४ दैनिकका प्रधान सम्पादक नवराज चालिसे, समाजसेवी नेपालजित लामा, सर्वजित लामा र खड्गजित लामा तथा त्रिभुवन विश्वविद्यालयका केन्द्रीय पुस्तकालय प्रमुख सागरराज सुवेदीलाई विशिष्ट व्यक्तित्वका रूपमा सम्मान गरिएको हो ।

साथै शिक्षक हर्षनारायण झा र कर्मचारी मञ्जु अधिकारी ढकाललाई २० वर्षे दीर्घसेवा सम्मानद्वारा अभिनन्दन गरिएको छ । 

कार्यक्रममा प्रमुख अतिथि प्रा डा अभि सुवेदी, प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुङ्गानालगायत व्यक्तिले संयुक्त रूपमा उहाँहरूलाई सम्मान गर्नुभएको अरुणिमा शैक्षिक प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रमको सुरुमा सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो भने प्रतिष्ठानका कार्यकारी प्रधानाध्यापक ईश्वरीप्रसाद लामिछानेले प्रतिष्ठानमार्फत सञ्चालित शैक्षिक निकायका कार्यक्रम तथा प्रभावकारिताका बारेमा जानकारी दिनुभएको थियो ।

सोही समारोहमा विद्यालयको प्रथम ब्याच (२०५१) मा एसएलसी दिएका प्रविण न्यौपाने, विन्दिया मानन्धर, मनिष खनाल, सुलक्षण शर्मा, सरोज सुवेदी, गजेन्द्र कर्माचार्य र मेनुका गुरुङले राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा पुर्‍याउनुभएको योगदानको उच्च कदर गर्दै अभिनन्दन गरिएको छ । 

अभिनन्दित मुख्यसचिव अर्यालले प्रतिष्ठानको स्थापना दिवसको शुभकामना व्यक्त गर्दै अरुणिमाले आफ्ना विद्यार्थीलाई गुणस्तरीय तथा जीवनोपयोगी शिक्षा प्रदान गरिरहेकामा प्रशंसा गर्नुभयो ।

 कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानाले अरुणिमासँग जोडिएका अग्रजसँगको साक्षात्कारबाट आफ्नो कार्यक्षेत्रको कार्यसम्पादनमा थप हौसला मिलेको धारणा राख्नुभयो । 

अरुणिमा परोपकार प्रतिष्ठानका सचिव जितेन्द्र श्रेष्ठले सभ्य समाज निर्माणमा गुणस्तरीय शिक्षाको महत्वबारे प्रकाश पार्नुभयो । 

प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुङ्गानाले प्रतिष्ठान गैरनाफामूलक रूपमा सञ्चालन भइरहेको जानकारी गराउँदै समयसापेक्ष योजना तर्जुमा गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा विद्यार्थीहरूले आर्कषक गीत तथा नृत्यसमेत प्रस्तुत गरेका छन् । रासस