• १८ माघ २०८२, आइतबार

आर्मीलाई राष्ट्रिय जिमन्यास्टिक उपाधि

blog

उपाधिसहित आर्मीका खेलाडी ।

काठमाडौँ, माघ १८ गते । १४औँ राष्ट्रिय जिमन्यास्टिक प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ ।

भक्तपुरको जगातीस्थित लिवाली कभर्ड हलमा भएको प्रतियोगिताको फाइनलमा सर्वाधिक १००.५० अङ्क जोड्दै आर्मी टिम च्याम्पियन बनेको हो । 

नेपाल जिमन्यास्टिक सङ्घले आयोजना गरेको प्रतियोगितामा बागमती प्रदेश दोस्रो भयो । बागमतीले ९८.६० अङ्क बनायो । 

एपिएफ क्लबले ९२.३५ अङ्क जोड्दै तेस्रो भयो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहतालगायतले एक कार्यक्रमबिच पुरस्कृत गर्नुभयो । 

प्रतियोगितामा सात प्रदेश, नेपाल प्रहरी, नेपाल आर्मी र एपिएफ क्लबका एक सय २० खेलाडीले पुरुष/महिलामा समान आठ आठ गरी १६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

यसै प्रतियोगिताबाट चीनमा सन् २०२६ को जुनमा हुने एसियाली आर्टिस्टिक जिमन्यास्टिक प्रतियोगितामा सहभागी हुने खेलाडीको छनोट गरिने सङ्घका उपाध्यक्ष राजकुमार कार्कीले जानकारी दिनुभयो ।