ठाकुरप्रसाद आचार्य
म्याग्दी, माघ १८ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा छनोट भएका निर्वाचन प्रहरीलाई म्याग्दीमा आइतबारदेखि तालिम दिन सुरु गरिएको छ । निर्वाचन सुरक्षाका लागि परिचालन हुने निर्वाचन प्रहरीलाई दस दिने अनुशिक्षण तालिम दिन थालिएको हो ।
बेनीको खुला मञ्च खेल मैदानमा सुरु भएको तालिमको प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले उद्घाटन गर्नुहुँदै निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्न निर्वाचन प्रहरीको महोत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले तालिमबाट प्राप्त भएका सीप र ज्ञानलाई व्यवहारमा उतारेर निर्वाचनलाई सफल पार्नुपर्ने बताउनुभयो ।
प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले निर्वाचनका समयमा खटिने सुरक्षाकर्मीहरूसँगको समन्वयमा निर्वाचन प्रहरीले निष्पक्ष भएर काम गर्नुपर्ने बताउनुभयो । निर्वाचन प्रहरीले सुरक्षाकर्मीसँग मिलेर मतदान स्थलको सुरक्षा,भयरहित वातावरण बनाउन र मतपेटिकाको ढुवानी लगायतका विषयहरूमा सहयोग पुर्याउनुपर्ने बताउनुभयो ।
तालिम अवधिभर निर्वाचन प्रहरीलाई मतदान स्थलको जानकारी,सुरक्षा,भीड नियन्त्रण गर्ने तरिका,निर्वाचन ऐन कानुन सम्बन्धी जानकारी लगायतका विषयमा तालिम दिइने प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिनुभयो । निर्वाचनलाई लक्षित गरेर म्याग्दीमा ८ सय ६१ निर्वाचन प्रहरी भर्ना गरिएको छ ।