दुबई, माघ १८ गते । इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब सबै युरोपेली सङ्घ (इयू) का सेनालाई आतङ्कवादी समूह मानेको बताउनुभएको छ । इयूले इरानको अर्धसैनिक क्रान्तिकारी गार्डलाई आतङ्कवादी समूह घोषणा गरेपछि यो प्रतिक्रिया आएको हो ।
इयूको घोषणा देशव्यापी विरोध प्रदर्शनमाथि भएको रक्तपातपूर्ण दमनको सन्दर्भमा गरिएको थियो । पूर्व गार्ड कमान्डरसमेत रहनुभएका संसद अध्यक्ष मोहम्मद बाघेर कालिबाफले यो पदनाम व्यवहारिकभन्दा बढी प्रतीकात्मक हुने सम्भावना रहेको बताउनुभयो । सन् २०१९ मा संयुक्त राज्य अमेरिकाले क्रान्तिकारी गार्डलाई आतङ्कवादी समूह घोषणा गरेपछि इरानले त्यही कानुन प्रयोग गर्दै अन्य राष्ट्रका सेनालाई पनि आतङ्कवादी सूचीमा राख्ने व्यवस्था गरेको स्मरण गराइएको छ ।
यो घोषणा मध्यपूर्वमा बढ्दो तनावको पृष्ठभूमिमा आएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सम्भावित सैन्य कारबाहीबारे विचार गरिरहनु भएको सन्दर्भमा क्षेत्रीय अवस्था थप संवेदनशील बनेको छ । इरानले पर्सियन खाडीको रणनीतिक होर्मुज जलडमरूमध्यमा आइतबार र सोमबार प्रत्यक्ष फायर सैन्य अभ्यास गर्ने योजना बनाएको छ ।
यही जलडमरूमध्यबाट विश्वको करिब पाँचौँ भाग तेल व्यापार आवागमन हुन्छ । संसद् बैठकमा कालिबाफ र अन्य सांसद क्रान्तिकारी गार्डप्रतिको समर्थन जनाउँदै गार्डको बर्दीमा उपस्थित थिए । ब्यालेस्टिक मिसाइल कार्यक्रमको नियन्त्रणसमेत गर्ने र देशभित्र विशाल आर्थिक प्रभाव राख्ने क्रान्तिकारी गार्डले इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीलाई मात्र जवाफ दिने गर्छ ।
“युरोपमा आतङ्कवाद फैलिन नदिने सबैभन्दा ठुलो बाधा बनेको गार्डमाथि आक्रमण गर्न खोज्दा युरोपेलीले आफ्नै खुट्टामा गोली हानेका छन्”, कालिबाफले भन्नुभएको छ । उहाँका अनुसार युरोपेली नेताले फेरि एकपटक अमेरिकीप्रति अन्धो आज्ञाकारिता देखाउँदै आफ्नै जनताको हितविरुद्ध निर्णय गरेका छन् । सत्रका क्रममा सांसदले ‘अमेरिका मूर्दावाद’ र ‘इजरायल मूर्दावाद’ भन्ने नारा पनि लगाएका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध सैन्य कारबाहीका लागि दुई वटा सर्त अघि सारेको बताइएको छ । ती सर्तमा शान्तिपूर्ण प्रदर्शनकारीको हत्या वा प्रदर्शनसँग सम्बन्धित व्यक्तिलाई सामूहिक मृत्युदण्ड दिने अवस्था सिर्जना हुनु समावेश छन् । यसका साथै उहाँले इरानको आणविक कार्यक्रमबारे पनि बढ्दो चासो व्यक्त गर्नु भएको छ । जुन कार्यक्रमका विषयमा इजरायलले इरानसँग १२ दिनको युद्ध सुरु गर्नुअघि अमेरिकाले तेहरानसँग विभिन्न चरणमा वार्ता गरेको थियो ।
युद्धका क्रममा अमेरिकाले इरानका तीन वटा आणविक स्थलमा बम आक्रमण गरेको थियो । तीमध्ये दुई स्थलमा इरानले उपग्रहको दृश्य अस्पष्ट पार्ने प्रयास गरिरहेको हुन सक्ने र बाँकी संरचना हटाउने काम भइरहेको आँकलन गरिएको छ । शनिबार राति ट्रम्पले इरानबारे अन्तिम निर्णय गरिसकेको हो कि होइन भन्ने प्रश्नमा स्पष्ट जवाफ दिन अस्वीकार गर्नु भएको थियो । फ्लोरिडातर्फ जाँदै गर्दा पत्रकारसँग कुरा गर्दै उहाँले अमेरिकी कारबाही रोकिएमा तेहरानलाई प्रोत्साहन मिल्छ कि भन्ने प्रश्नलाई टार्नुभयो ।
इरानलाई कुनै पनि हालतमा आणविक हतियार प्राप्त गर्न नदिने उद्देश्यले ‘सन्तोषजनक’ सम्झौताका लागि वार्ता आवश्यक रहेको ट्रम्पको भनाइ छ । “उनीहरू हामीसँग कुरा गरिरहेका छन् र हामी गम्भीरतापूर्वक छलफल गरिरहेका छौँ”, उहाँले भन्नुभयो । यसैबिच, इरानका एक वरिष्ठ सुरक्षा अधिकारी अली लारिजानीले शनिबार राति सामाजिक सञ्जाल एक्समा वार्ताका लागि संरचनात्मक व्यवस्था अघि बढिरहेको उल्लेख गर्नु भएको छ । तर सर्वोच्च नेता खामेनीले बारम्बार अस्वीकार गरिरहनु भएको प्रत्यक्ष वार्ताबारे अहिलेसम्म कुनै सार्वजनिक सङ्केत देखिएको छैन । रासस/एपी