बिष्णुप्रसाद पोखरेल
दमक, माघ १८ गते । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख बसुन्धरा खड्काले सुरक्षाको चिन्ता नगर्न आग्रह गर्नुभएको छ । उम्मेदवार तथा उम्मेदवारसँग सम्बन्धित पार्टीको जो सुकैलाई सुरक्षा खतरा वा चिन्ता भएमा ढुक्कका साथ भन्न आग्रह गर्दै सुरक्षामा कमी हुन नदिने जनाउँदै उहाँले यस्तो बताउनुभएको हो ।
झापा क्षेत्र नं. ५ मा विशेष प्रहरी टोली पनि परिचालन भइसकेको खड्काले जानकारी दिनुभएको छ । झापाको दमकमा भएको छलफलमा राजनीतिक दलहरूले हिजो आफूहरूको घर जलाउने र सरकारी कार्यालयहरू जलाउने अहिले निर्वाचन अभियानमा हिँडिरहेको जनाउँदै आफूहरूलाई खतरा हुनसक्ने बताएका थिए ।
घरदैलो तथा चुनावी अभियानमा असुरक्षा हुने गतिविधि र सामाजिक सञ्जालहरूमा धम्किपूर्ण आशयका अभिव्यक्ति आइरहेको भन्दै सुरक्षाको विषयमा चिन्ता प्रकट भएको पाएपछि खड्काले सुरक्षाको विषयमा निश्चिन्त हुनका लागि आग्रह गर्नुभयो । भरपर्दो सुरक्षा व्यवस्था मिलाएकाले निश्चिन्त हुन उहाँको आग्रह छ ।
खड्काले एकीकृत सुरक्षा योजना अनुसार जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको र झापा ५ अहिले सबैको ध्यान खिच्ने क्षेत्र भएकाले यहाँको सुरक्षा व्यवस्थालाई झनै महत्त्व दिइएको स्पष्ट पार्नुभयो। विगतका दिनभन्दा निर्वाचन नजिक हुँदै जाँदा सुरक्षाकर्मीहरूको सडकमा बाक्लो उपस्थिति देख्दै हुनुहुन्छ, उहाँले भन्नुभयो ।
विशेष गरेर क्षेत्र नं. ५ मा सबैको चासो रहेको जनाउँदै सुरक्षामा कुनै पनि प्रकारको कमी आउन नदिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रहरीको एकल प्रयासले मात्र भयरहित अवस्थामा निर्वाचन सम्भव नभएकाले यसमा सबैको भूमिका महत्त्वपूर्ण हुनेमा उहाँको जोड रहेको थियो ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, रास्वपाका वरिष्ठ नेता एवं काठमाडौँ महानगरका निवर्तमान प्रमुख बालेन्द्र शाह, नेपाली कांग्रेसकी नेतृ बसुन्धरा पौड्याल, नेकपाका नेता रञ्जित तामाङ र राप्रपाका लक्ष्मी संग्रौला लगायतका उम्मेद्वारहरू चुनावी अभियानमा रहेका छन् ।