• १८ माघ २०८२, आइतबार

सुपर काबेली ‘ए’ ले शेयर निष्कासन गर्ने

blog

सुपर काबेली ‘ए’ जलविद्युत आयोजना । तस्बिरः साहारा लिम्बू

साहारा लिम्बू 

फुङलिङ, माघ १८ गते । सुपर काबेली  ‘ए’ जलविद्युत आयोजनाले साधारण शेयर निष्कासन गर्ने भएको छ । आयोजनाले ९ लाख ३७ हजार ५ सय कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।  

आयोजनाका अति प्रभावित क्षेत्रका लागि ४ लाख ६८ हजार ७ सय ५० र आयोजना प्रभावित क्षेत्रका लागि ४ लाख ६८ हजार ७ सय ५० कित्ता शेयर निष्कासन गर्न लागिएको आयोजना जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार सिरिजङ्गा गाउँपालिकाको वडा ८ याम्फुदिनमा निर्माण गरिएको जलविद्युत् आयोजनाको अति प्रभावित क्षेत्र याम्फुदिन रहेको छ। 

आयोजनाको प्रभावित क्षेत्र सिरिजङ्गा गाउँपालिका–१, सिनाम, वडा २ आम्बेगुदिन, वडा ३ सिकैचा, वडा ४ तेल्लोक, वडा ५ पेदाङ, वडा ६ मामाङ्खे र वडा ७ खेवाङसहित सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिन र वडा ६ मेहेले, पाथीभरा याङवरक गाउँपालिका–५, चाक्सिबोटे र वडा ६ थुम्बेदिन साथै पाँचथरको हिलिहाङ गाउँपालिका–१ रहेको छ।

आयोजनाका जनसम्पर्क अधिकृत ढुङ्गानाका अनुसार साधारण शेयर निष्कासनका लागि अनुमति प्राप्त भई अबको केही अवधिमै शेयर निष्कासनको सार्वजनिक आवह्वान गर्ने तयारी छ । स्नो रिभर्स लिमिटेडले निर्माण गरेको १३.५ मेगावाट क्षमताको सुपर काबेली  ‘ए’ जलविद्युत आयोजनाबाट यसअघि नै औपचारिक रूपमा विद्युत उत्पादन सुरु भइसकेको छ। 

सिरिजङ्घा गाउँपालिका–८, याम्फुदिनस्थित आयोजनाको उत्पादन पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको नेपाल विद्युत् प्राधिकरणको १३२ केभिए क्षमताको अमरपुर सब स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । याम्फुदिनस्थित विद्युत् गृहबाट ३१ किलोमिटर दूरीमा रहेको अमरपुर सब स्टेसनसम्मको विद्युत् प्रसारण प्रणालीमार्फत सुपर काबेली  ‘ए’ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा समाहित भएको छ ।

२०७९ साल मङ्सिर अन्तिम सातादेखि सुरु भएको आयोजनाको निर्माण २ अर्ब ६३ करोड २९ लाख रुपियाँको लागतमा निर्माण सम्पन्न भएको हो ।