नेपालको विद्यमान संविधान नेपाली जनताको नाममा जारी भएको इतिहासकै महत्वपूर्ण, अग्रणी र उत्कृष्ट संविधान हो । राज्यको यो सिद्धान्त निर्माण गर्न जनताले इतिहासका विभिन्न कालखण्डमा ठुलो मूल्य चुकाएका छन् । जनताको अथक मेहनत, सङ्घर्ष, बलिदानी र योगदानको आलोकमा बनेको संविधान पवित्र र सर्वस्वीकार्य मूल कानुन हो । यसको परिपालना गर्नु हामी सबै नेपालीको साझा कर्तव्य पनि ठहर्छ ।
विगतको गौरवपूर्ण सङ्घर्षको आलोकमा निर्मित यो संविधानले नेपाली जनतालाई लोकतान्त्रिक शासन प्रणाली र स्वतन्त्रता सुनिश्चित गरेको छ । लोकतन्त्र र स्वतन्त्रता एउटै पथमा सवार हुन सक्ने सार्वभौम शब्दावली हुन् । भलै, लोकतन्त्र र स्वतन्त्रता एकअर्काका पर्यायवाची होइनन् । लोकतन्त्र स्वतन्त्रता प्राप्तिमा सहयोग पु¥याउने विचार र सिद्धान्त हो । लोकतन्त्र स्वतन्त्रताको संस्थागत स्वरूप पनि । लोकतन्त्र र स्वतन्त्रताको माध्यमबाट जनताले समृद्धिको यात्रा पूरा गर्दै दिगो शान्ति, सामाजिक न्याय र समानताको हक स्थापित गर्न सक्छन् । लोकतन्त्रले मानव अधिकारको संरक्षण गर्न सहयोग गर्छ । लोकतन्त्र मानव स्वतन्त्रता संरक्षण गर्ने सिद्धान्त पनि हो । लोकतन्त्र एक अमूर्त चिज हो, यसलाई मानवीय चेतनाले मूर्त बनाउँछ । जनतामा रहेको उन्नत चेतनाले लोकतन्त्रका आधारभूत मूल्यमान्यतालाई मानवीय जीवनका सारभूत सिद्धान्तको रूपमा स्विकार्छ । उल्लिखित विशेषता भएको मुलुक नै उत्तरआधुनिक समाजमा एक आदर्शपूर्ण र मानव सभ्यताका लागि अनुपम वातावरण रहेको मुलुक बन्न सक्छ । त्यसैले लोकतन्त्र सभ्य मानिसका लागि जीवनयापनको मार्ग निर्देशक सिद्धान्त हो ।
सन् १९२० को दशकमा जर्मनीमा संविधान र व्यवस्था लोकतान्त्रिक थियो । जर्मनीमा हिटलरको उदय भयो । यो कुनै आकस्मिक घटना थिएन । लोकतान्त्रिक व्यवस्थाको सीमाभित्रबाट हिटलर सत्तामा पुगे । लोकतान्त्रिक व्यवस्थाको उपयोग गर्दै शासनमा प्रभुत्व कायम राख्न सफल भए । यसका पछाडि तत्कालीन जर्मनीको राजनीतिक, आर्थिक, सामाजिक कारण जिम्मेवार थिए । लोकतन्त्रको आवरणमा तत्कालीन परिस्थितिको लाभ लिँदै हिटलरले इनेबलिङ एक्ट पारित गराए । यसले उनलाई संसद्को सहमतिबिनै कानुन बनाउने अधिकार दियो । लोकतान्त्रिक विधिबाट आएको जनताको शासकपछि निरङ्कुश शासकमा परिणत भए । यस्तो परिघटनालाई अपवादका रूपमा स्वीकार्दा लोकतन्त्र जनताद्वारा जनताकै लागि जनताले गर्ने शासन व्यवस्था हो । त्यसैले जनताले आफ्ना प्रतिनिधि छनोट गर्दा विवेकपूर्ण ढङ्गले गर्नु पर्छ । लोकतान्त्रिक संविधान र व्यवस्थामा कुनै पनि समय र बखत सङ्कट पैदा हुन सक्छ । लोकतन्त्रमा यदाकदा आउने सङ्कट मोचनका लागि संविधानले स्थापना गरेका संवैधानिक संस्था र निर्वाचनमार्फत शासनका राजनीतिक संरचनामा पुग्ने व्यक्ति स्वेच्छाचारी नभई लोकतान्त्रिक विधि, नियम र अनुशासन पालन गर्न सक्ने हुनु पर्छ । लोकतान्त्रिक मूल्यमान्यता, चरित्र र आदर्शलाई निष्ठापूर्वक परिपालनाको सामथ्र्य राख्ने उच्च नैतिकवान् व्यक्ति राजनीतिक संरचनामा पुग्यो भने जस्तै कठिन र जटिल अवस्थामा पनि लोकतन्त्र जीवित रहन सक्छ । नेपालमा हरेक दशकमा हुने राजनीतिक परिवर्तनले सामाजिक परिवेशमा आएका फरक सोच र विचारको प्रतिनिधित्व समयानुकूल हुनु पर्छ भन्ने मत बलियो छ ।
वैधानिक माध्यमबाट संविधान संशोधन गर्दै राजनीतिक स्थायित्व कायम गर्ने, सुशासनको प्रत्याभूति गर्ने, भ्रष्टाचार न्यूनीकरण गर्ने र विकासको गतिलाई तीव्रता दिने नसक्दा दुई ठुला दलको दुई तिहाइको सरकार जेनजी आन्दोलनबाट विस्थापित भयो । आन्दोलनले राज्यमा सुशासन कायम गर्ने, भ्रष्टाचार अन्त्य गरी रोजगारी सिर्जना गर्ने, सामाजिक सञ्जालको निर्बाध प्रयोग गर्ने सहज वातावरण तयार गर्न राज्यलाई आवाजमार्फत सन्देश दियो । आन्दोलनमा राज्य पक्षको अधैर्यता र युवाका बिचमा स्वार्थ समूहको प्रवेशले मुलुकको परिस्थिति असहज बन्यो । नेपाली समाजमा रहेको तीव्र विस्मरणको कारण कुनै पनि घटना वा आन्दोलन र विद्रोह विवेचना तत् क्षणका लागि मात्र हुने अनौठो प्रवृत्ति छ । यस्तो विचित्रको प्रवृत्ति हाबी रहेको नेपाली समाजले दिगो समाधान नखोज्ने, समस्याको गर्तमा पुग्न नचाहने, समाधानका लागि सामाजिक प्रयोवधर्मिता प्रयोगसमेत नगर्ने प्रचलन हिजोदेखि नै कायम हुँदै आएको छ । नेपाली समाज जहिले पनि अल्पकालीन सोचका आधारमा चलेको छ । अनुसन्धान वा प्रयोगपरक अभ्यासको माध्यमबाट मुलुकका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र व्यावहारिक पक्षको अध्ययन गरी बदलिँदो सोचको व्यवस्थापन गर्न सकेमा जनअसन्तुष्टि हट्ने र समाजमा दिगो शान्ति कायम गर्न सहयोग पुग्छ । शान्ति र समृद्धि हासिल गर्न लोकतान्त्रिक व्यवस्था यथार्थमा प्रायोगिक हुनु पर्छ । परिणामसहितको लोकतन्त्रले शासनको अङ्गमा सङ्ख्या वा अङ्क गणितको प्राविधिक महत्वभन्दा लोकतान्त्रिक चरित्र र व्यवहार प्रधान बनाउन मद्दत गर्छ ।
लोकतान्त्रिक शासन प्रणालीमा राजतन्त्र, कुलिनतन्त्र, निरङ्कुशता, स्वेच्छाचारिता, शासकको मनमौजी हुँदैन । लोकतन्त्रमा जनताले वरण गरेको, रोजेको, चयन गरेको, छनोट गरेको प्रतिनिधि राजनीतिक संरचनामा शासनका लागि योग्य हुन्छ । विद्यमान कानुनी व्यवस्थाले अयोग्य नठहराएका सबै नागरिकलाई शासन व्यवस्थामा सहभागी हुन स्वच्छ तथा निष्पक्ष निर्वाचनको वैधानिक मार्गबाट शासन सञ्चालनमा सहभागी हुने अवसर प्रदान गरेको छ । शासनमा पुगेका व्यक्तिको आर्थिक र सांस्कृतिक चरित्र र उच्च नैतिकता भएको हुनु पर्छ भन्ने मान्यता राखिन्छ । यस्तो मान्यता लोकतन्त्रमा अनिवार्य वा पूर्वसर्त पनि हो । शासक जनताका लागि सारथि वा सहजकर्ता हुने भएकाले चरित्र र नैतिकताको कसीमा खरो उत्रन सक्ने नेतृत्वले मात्र जनविश्वास हासिल गर्न सक्छ । जनआवाजलाई आफ्नै आवाजको विम्ब ठान्ने जनप्रतिनिधिले मात्र जनतासँग लामो समयसम्म हातेमालो गरी हिँड्न सक्छ ।
नेपाली समाजमा चिल्ला र मिठा भाषण गर्ने तत्कालीन फाइदाका विषयवस्तु उठान गर्ने र वाकपटुता भएका मानिसलाई नेता मान्ने चलन छ । अल्पकालीन सोच, विचार र अभिमतले राजनीतिक स्थायित्व दिन सक्दैन । यस्तो सोचले प्रकान्तरमा राजनीतिक संरचनामा केही थान मानिस नेताको रूपमा देखिन्छन् तर समाज नेतृत्वविहीन हुन्छ । कतिपय सन्दर्भमा व्यक्तिगत स्वार्थको परिपूर्ति गर्न सत्तालाई सिँढी बनाउने स्वार्थी व्यक्ति वा समूह हाबी हुन्छन् । यस्तो प्रवृत्ति लोकतन्त्रको अपवाद हो ।
लोकतन्त्रको सुविधा उपयोग गर्दै आकर्षक भाषण र कार्यक्रमको माध्यमबाट सत्ता पुग्ने चाहना राखेर आएका पलल्वी मान्छे वा उम्मेदवारबाट पनि लोकतन्त्रलाई खतरा हुन्छ । सचेत नागरिकले मात्र अधिकारसहित कर्तव्यलाई बोध र आत्मसात् गर्न सक्ने भएकाले लोकतन्त्र रक्षा गर्न नागरिकमा उच्चस्तरको चेतना आवश्यक हुन्छ । सचेत मतदाताले मात्र आफूमा अन्तरनिहित सार्वभौम सत्ताको रक्षा गर्ने सामथ्र्य राख्छन् । सोच, विचार र सिद्धान्तले ओतप्रोत मतदाताले मात्र जनअनुमोदित हुन चाहने उम्मेदवारबारे जानकारी राख्न वा पहिचान गर्न सक्छन् । लोकतन्त्र खुला समाजमा आधारित शासन व्यवस्था हो र आफैँमा एउटा खुला विश्वविद्यालय पनि । लोकतन्त्रको खुला विश्वविद्यालयबाट प्राप्त ज्ञान, सिप, चरित्र र आदर्शले नागरिकलाई लोकतन्त्रको पहरेदार बन्न र बनाउन सहयोग पुग्छ । २१ औँ शताब्दीको नागरिक रैतीमा परिणत हुन चाहँदैन । नेपाली जनताको आफ्नो शासन आफैँ गर्ने आकाङ्क्षा पूरा गर्न नेपालको लोकतन्त्र जनताका लागि साझा हित (सर्वहिताय) कायम गर्ने सार्वभौम चौतारी हो । राष्ट्रहित र जनताको समृद्धको चाहना पूरा गर्न स्वच्छ, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गर्नु नेपाल सरकार र नेपाली जनताको साझा कर्तव्य हो । आसन्न निर्वाचन आवधिक निर्वाचन नभएर आकस्मिक निर्वाचन हो । वर्तमान विशिष्ट र विषम परिस्थितिमा सचेत मतदाताले नागरिक हुनुको नाताले देश र जनताको पक्षमा, जात, धर्म, भाषा, क्षेत्र/भूगोल, अभाव, दबाब, प्रभाव, मौद्रिक वा गैरमौद्रिक प्रलोभनमा नपरी निर्भयताका साथ आफ्नो अमूल्य मतदान गर्दा नै नागरिकले आफ्नो कर्तव्य परिपालना गरेको ठहर्छ । मातृभूमिलाई साक्षी राखी विवेकपूर्ण मतदान गर्दा नै संविधान र लोकतन्त्रको रक्षा हुन्छ ।