जीवछ यादव
लहान, माघ १८ गते । आगामी फागुन २३ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सिरहा निर्वाचन क्षेत्र नम्बर–३ मा बहुपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।
स्थानीय सचेत मतदाताहरूका अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनमत पार्टीका उम्मेदवारबिच मुख्य प्रतिस्पर्धा केन्द्रित हुने अनुमान गरिएको छ।
२०७९ सालको निर्वाचनमा पूर्वमन्त्री तथा एमालेका केन्द्रीय सदस्य लिलानाथ श्रेष्ठले तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेदवार विश्वनाथ साहलाई एक हजार १८२ मतले पराजित गर्दै विजय हासिल गर्नुभएको थियो। उक्त निर्वाचनमा एमाले–जसपा गठबन्धनका उम्मेदवार श्रेष्ठ रहनुभएको थियो भने माओवादी केन्द्रका उम्मेदवार साहलाई कांग्रेस र तत्कालीन नेकपा (एकीकृत समाजवादी)को समर्थन रहेको थियो।
यसपटकको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालबाट अशेश्वर यादव, कांग्रेसबाट सुभाषचन्द्र यादव, रास्वपाबाट शम्भु यादव र जनमत पार्टीबाट रोहित महतो उम्मेदवार बनेपछि प्रतिस्पर्धा थप बहुआयामिक हुने देखिएको छ।
गोलबजार र सिरहा नगरपालिका, नरहा, विष्णुपुर गाउँपालिका तथा अर्नमा समेटिएको यस निर्वाचन क्षेत्रमा विगतमा कांग्रेस र एमालेले पालैपालो जित हासिल गर्दै आएका छन्। स्वतन्त्रसहित ४१ जना उम्मेदवार चुनावी मैदानमा उत्रिए पनि मुख्य प्रतिस्पर्धा पुराना दलका अनुभवी अनुहार र नयाँ दलका नयाँ अनुहारबिच नै हुने शिक्षक राजकिशोर यादवको भनाइ छ। उहाँका अनुसार यस निर्वाचनलाई दलहरूको वास्तविक हैसियत देखाउने प्रतिस्पर्धाका रूपमा हेरिएको छ। सिरहामा कांग्रेसभित्र आन्तरिक एकता देखिएकाले यसपटक कांग्रेस बलियो देखिएको उहाँले बताउनुभयो ।
मतदाताहरूले कृषि सडक, शिक्षा, सीमा सुरक्षा, व्यापार प्रवद्र्धन, कमला नदीमा स्थायी पुलको पुनर्निर्माण तथा भ्रष्टाचारमुक्त सरकारी कार्यालयजस्ता एजेन्डामा उम्मेदवारहरूको ध्यान केन्द्रित हुनुपर्ने अपेक्षा गरेका छन्। साथै सिरहास्थित सत्यनारायण–सूर्यनारायण मोरवैता क्याम्पसको पुरानो साख जोगाउने भरपर्दो आधार, प्राविधिक शिक्षाको व्यवस्थापन, सलहेस पर्यटनको विकास र स्वदेशमै रोजगारी सिर्जना हुने विश्वसनीय प्रतिबद्धताको प्रतीक्षामा मतदाता रहेका छन्।
यसपटक जाति र भूगोलभन्दा परिवर्तनको आवाज बलियो रूपमा उठिरहेकोले नयाँ र पुरानो पुस्ताबीच पनि प्रतिस्पर्धा हुन सक्ने सम्भावनालाई नकार्न नसकिने पत्रकार अर्जुन थपलियाको बुझाइ छ। यस क्षेत्रमा ह्याट्रिक जित निकाल्ने कसरतमा पूर्व न्याय तथा कानूनमन्त्रीसमेत रहनुभएका नेकपा एमालेका उम्मेदवार लिलानाथ श्रेष्ठ जुटिरहनुभएको छ भने २०७९ को निर्वाचनमा झिनो मतान्तरले पराजित पूर्व शान्तिमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विश्वनाथ साह पनि सक्रिय रूपमा चुनावी अभियानमा लागिरहनुभएको छ।