• १८ माघ २०८२, आइतबार

तारे होटेलको मापदण्ड संशोधन हुने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १८ गते । सरकारले देशभर सञ्चालित तारे होटेलको सेवाको गुणस्तर, दिगोपन, वातावरणीय प्रभाव न्यूनीकरण र वातावरणमैत्री पूर्वाधारमा जोड दिँदै वर्गीकरणको मापदण्ड संशोधन गर्ने भएको छ । 

पर्यटन विभागका अनुसार तारे होटेलको मापदण्ड संशोधनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं पर्यटन महाशाखा प्रमुख इन्दु घिमिरेको संयोजकत्वमा काम सुरु भएको छ । समितिले विक्रम संवत् २०७६ देखि (विसं २०७७ मा पहिलो संशोधन) प्रचलनमा रहेको मापदण्ड परिमार्जन गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित मापदण्ड अनुसार संशोधनका लागि गृहकार्य थालेको छ ।

विभागका निर्देशक हिमाल गौतमले भन्नुभयो, “हाल प्रचलित मापदण्ड अनुसार पाँचतारे होटेलका लागि काठमाडौँ उपत्यकाभित्र कम्तीमा एक सय र उपत्यकाबाहिर ८० कोठा अनिवार्य छ । यही व्यवस्थाका कारण होटेल व्यवसायी सेवा र गुणस्तरभन्दा भौतिक संरचना विस्तारमै केन्द्रित हुन थालेपछि अबको होटेल नीति ‘ग्रिन टुरिजम’ र ‘ग्रिन हस्पिटालिटी’ अवधारणामा आधारित रहेर मौलिक पहिचान झल्कने गरी मापदण्ड संशोधन गरिन लागेको हो ।”

होटेललाई वातावरणमैत्री, वातावरणीय प्रभाव न्यूनीकरण र निरन्तर अनुगमनलगायतका मापदण्ड लागु गर्ने गरी मन्त्रालयका महाशाखा प्रमुखको संयोजकत्वमा निर्देशन समिति र विभागका आरोहण शाखा प्रमुख संयोजकत्वको कार्यदलले गृहकार्य थालेको उहाँले जानकारी दिनुभयो ।

पछिल्लो समय उपत्यकाबाहिर सञ्चालित तारे होटेल वर्गीकरणमा पर्न कोठा र शय्या सङ्ख्यामा केन्द्रित देखिएको, होटेलबाट शुल्क अनुसारको गुणस्तरीय सेवा सुविधा नपाएकोलगायतका गुनासो बढ्दै गएको र यसले अन्तर्राष्ट्रिय जगत्मा समेत नकारात्मक सन्देश फैलिन थालेपछि मापदण्ड संशोधन तयारी अगाडि बढेको हो ।

अहिलेको मापदण्ड अनुसार होटेल निर्माण सकिएपछि होटेलको क्षेत्रफल, भौतिक सेवा सुविधा, कर्मचारीलगायतका आधारमा विभागले अनुगमन गरेर स्तर वर्गीकरण गर्दै आएको छ । विभागले गर्ने एकतारेदेखि पाँचतारे डिलक्ससम्मका होटेलको वर्गीकरणका लागि छुट्टाछुट्टै प्रावधान रहेका छन् ।नयाँ मापदण्डमा पानीको न्यून प्रयोग, फोहोर व्यवस्थापन, सरसफाइ, स्वच्छ खाद्य प्रणाली, वातावरणीय प्रभाव न्यूनीकरण र अनुगमनलगायतका विषय समावेश गरिने छ । 

हाल देशभर २७ वटा पाँचतारे, तीन पाँचतारे डिलक्स, तीन चारतारे डिलक्स लक्जरी बुटिक र चारतारे डिलक्स हेरिटेज होटेल र एकदेखि चारतारे होटेलको सङ्ख्या ३४८ पुगेको छ । उक्त होटेलमा १६ हजार बढी कोठा र २६ हजार हाराहारी शय्या उपलब्ध रहेको छ ।