गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ १८ गते । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष प्रतिस्पर्धामा पूर्वशिक्षामन्त्री नगन्य मात्रै प्रतिस्पर्धामा उत्रिएका छन् ।
२०६२/६३ को आन्दोलनपछि मुलुकमा करिब दुई दर्जन व्यक्ति शिक्षामन्त्री भएका छन् । पछिल्लो एक दशकमा भने एक दर्जनभन्दा बढी व्यक्ति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बन्न्नुभएको थियो । तीमध्ये २०६२/६३ को जनआन्दोलनपछि गठन भएको सरकारमा शिक्षामन्त्री बन्नुभएका मङ्गलसिद्धि मानन्धर र प्रदीप नेपाल तथा संविधान जारी भएपछि शिक्षामन्त्री बन्नुभएका धनीराम पौडेलको निधन भइसकेको छ ।
त्यसपछि शिक्षामन्त्री बन्नुभएकामध्ये रेणुकुमारी यादव, सर्वेन्द्रनाथ शुक्ल, गङ्गालाल तुलाधर, दीनानाथ शर्मा, माधवप्रसाद पौडेल, चित्रलेखा यादव, गोपालमान श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, अशोक राई, सुमना श्रेष्ठ, विद्या भट्टराई, रघुजी पन्तलगायत प्रत्यक्षतर्फको चुनावी प्रतिस्पर्धाबाट बाहिरिनुभएको छ ।
उहाँहरूमध्ये चित्रलेखा यादव हाल नेपालका लागि अस्ट्रेलियाको राजदूत हुनुहुन्छ । शिक्षासहित विभिन्न मन्त्रालय समाल्नुभएका गिरिराजमणि पोखरेल र देवेन्द्र पौडेल भने यस पटक पनि चुनावी मैदानमा हनुहुन्छ । पछिल्लो पटक गैरजेनजी आन्दोलनपछि गठन भएको गैरदलीय सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बन्नुभएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बन्नुभएको छ । उहाँ प्रत्यक्षतर्फको मनोनयन हुने अघिल्लो दिन अर्थात् माघ ५ गते राजीनामा दिएर चुनावी प्रतिस्पर्धामा उत्रनुभएको हो । अहिले म्याग्दीमै रहनुभएका पुन निर्वाचन प्रचार प्रसार गर्ने अनौठो शैलीका कारण चर्चामा हुनुहुन्छ ।
२०७२ सालमा नौ महिना र २०७४ सालमा ३२ महिना गरी दुई पटक शिक्षामन्त्री बन्नुभएको गिरिराजमणि पोखरेल हाल महोत्तरीको निर्वाचन क्षेत्र नं. १ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट चुनावी मैदानमा हुनुहुन्छ । पोखरेलले २०६४ र २०७० को संविधान सभा निर्वाचन तथा २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । २०७९ सालको निर्वाचनमा भने उहाँ नेकपा (एमाले) का उम्मेदवार लक्ष्मी कोइरीसँग पराजित हुनुभएको थियो । फौजदारी मुद्दा लागेका कारण कोइरीले प्रतिनिधि सभा सदस्यको शपथ विवादास्पद भएको थियो । जिल्ला अदालतबाट मुद्दा जितेपछि यस पटक पुनः कोइरी र पोखरेल अन्य दलका उम्मेदवारसँग पुनः प्रतिस्पर्धामा हुनुहुन्छ । पोखरेल हाल निर्वाचन क्षेत्रमै केन्द्रित भएर मतदाताबिच पुगिरहनुभएको छ ।
त्यस्तै २०७८ सालमा शिक्षामन्त्री बन्नुभएको देवेन्द्र पौडेल नवलपरासी (बर्दघाट सुस्तापूर्व) क्षेत्र नं. २ बाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट उम्मेदवार बन्नुभएको छ । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा पौडेल बागलुङ क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो । पौडेलले पनि निर्वाचन तयारीलाई तीव्रता दिनुभएको छ ।
संविधान जारीपछि २०७९ साल माघदेखि करिब एक वर्ष शिक्षा मन्त्रालयको जिम्मेवारी समाल्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनाल पनि काठमाडौँ क्षेत्र नं. ६ बाट सोही पार्टीबाट प्रत्यक्षतर्फको उम्मेदवार बन्नुभएको छ । खनाल २०७९ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । रास्वपाका प्रभावशाली नेतामध्ये एक हुनुहुन्छ । उहाँ पनि मतदाताबिच आफ्नो प्रचारमा लागिरहनुभएको छ ।