• १७ माघ २०८२, शनिबार

रुकुमलाई आत्मनिर्भर बनाउने नेकपाको सङकल्प

blog

नेकपाको चुनावी सङकल्प पत्र सार्वजनिक कार्यक्रम । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, माघ १७ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुकुमपश्चिमले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सङ्कल्प पत्र सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमार्फत् नेकपाले चुनावलक्षित प्रतिबद्धता सार्वजनिक गरेको हो । 

‘शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार: आत्मनिर्भर रुकुमपश्चिमको आधार’ भन्ने मुख्य नाराका साथ नेकपाले सङकल्प पत्र तयार पारेको छ । विभिन्न पाँच वटा विषयगत क्षेत्रमा नेकपाले रुकुमपश्चिमको मार्गदर्शन तय गरेको छ । 

नेकपामा तर्फबाट उम्मेदवार गोपाल शर्मासहित पार्टीका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समितिका संयोजक वसन्तकुमार शर्माले सङकल्प पत्र सार्वजनिक गर्नुभएको हो । सङकल्प पत्रमा गुणस्तरीय पूर्वाधार विकासलाई पहिलो प्राथकिमतामा राखिएको छ । यस अन्तर्गत बस्ती, वडा केन्द्र, पालिका केन्द्रसम्मका सडक विस्तार तथा स्तरोन्नती, क्षेत्रीय सडक लगायत रणनीतिक महत्त्वका सडक निर्माण कार्य सम्पन्न गरी स्तरोन्नति गर्ने र अत्यावश्यक स्थानमा सडक पुल तथा झोलुङ्गे पुल निर्माण गर्ने उल्लेख छ । खानेपानी, सिंचाई, विद्युत, सडक, पुल निर्माणका काममलाई प्राथमिकता दिने संकल्प नेकपाले गरेको छ । 

सहरी विकासतर्फ जिल्लाका प्रमुख बजार क्षेत्रलाई ग्रामीण सहरको रूपमा विकास गर्ने, चौरजहारीमा निर्माणाधीन नयाँ सहर आयोजनालाई तीव्रता दिने र जिल्ला सदरमुकामलाई सहरीकरण गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ । सूचना तथा सञ्चारतर्फ आवश्यक स्थानहरूमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तार गर्ने, सञ्चार संस्था तथा सञ्चारकर्मीको पेसागत र आत्मनिर्भरताको लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने बताईएको छ।

सामाजिक विकास अन्तर्गत शिक्षातर्फ हरेक पालिकामा गुणस्तरीय शैक्षिक केन्द्रहरू निर्माण गर्ने र सबै विद्यालयमा पक्की र सुविधाजनक भवन निर्माण गर्ने भनिएको छ । स्वास्थ्यतर्फ जिल्ला अस्पताललाई ५० शय्या स्तरोन्नती गर्ने, पालिका अस्पतालहरूमा जनशक्ति र प्रविधिको व्यवस्था गर्ने, मोबाइल हस्पिटल सञ्चालनमा ल्याउने, स्थानीय अस्पतालमा विशेषज्ञ सेवाका लागि टेलिमेडिसिन सेवा सञ्चालन गर्ने, संस्कृति संरक्षणतर्फ मौलिक लोक संस्कृतिको संरक्षण र प्रवद्र्धनको लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने समेत संकल्प पत्रमा उल्लेख छ । 

युवा, खेलकुदतर्फ सबै पालिकामा खेल मैदान निर्माण गर्ने, आर्थिक विकासतर्फ पर्यटन अन्तर्गत स्यार्पू तालमा इको टुरिजम र मनोरञ्जन केन्द्र, भेरी नदीमा साहसिक जलयात्रा, चित्रिपाटन, सिस्ने राउण्ड पदमार्ग, मौराखारामा साहसिक पर्यटन पदयात्रा र हाइकिङ, डिग्रे मन्दिरमा, रिम्नादोभान लगायतका क्षेत्रलाई धार्मिक तथा सांस्कृतिक पर्यटन, गुरिल्ला ट्रेल रेस, खारास्थित जनयुद्ध संग्रालयलाई युद्ध पर्यटनको रूपमा विकास गर्ने भनिएको छ । 

कृषि उत्पादन तथा पशुपालनतर्फ आधुनिक कृषि प्रवधि, उन्नत बीउ–विजन र प्रविधिको पहुँच विस्तार, कृषि उपजको भण्डारण, प्रशोधन र बजारीकरण, रोजगारीतर्फ कृषिमा आधारित साना उद्योग स्थापना गर्ने लगायतका विषय सार्वजनिक गरिएको छ । 

पत्रकार सम्मेलनमा प्रत्यक्षतर्फका उम्मेदवार गोपाल शर्माले रुकुमपश्चिमको रुप बदल्ने गरी सबै क्षेत्रको विकासलाई समेटेर सङ्कल्प पत्र तयार पारिएको र यसलाई गम्भीरताका साथ कार्यान्वयन गरिने बताउनुभयो । रुकुमको समग्र विकासका लागि मार्गचित्र निर्माण भएको र आफ्नो उम्मेदवारी यसैका लागि भएको उहाँले बताउनुभयो ।