• १७ माघ २०८२, शनिबार

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

blog

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू ।

काठमाडौँ, माघ १७ गते।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरकारसँग उचित सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न माग गर्नुभएको छ। 

एमालेको ओखलढुङ्गा काठमाडौँ सम्पर्क मञ्चले आज काठमाडौँमा आयोजना गरेको चुनावी भेलालाई सम्बोधन गर्दै उहाँले चुनावमा धाँधली वा अवाञ्छित क्रियाकलाप हुन नदिन शान्ति, सुरक्षाको प्रभावकारी व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो।  

उहाँले जिल्लाको विकास गर्ने र जनताको समस्या बुझ्ने युवा नेत्री अस्मिता थापालाई उम्मेवार बनाएकाले मतदातासँग उहाँलाई मत दिन आग्रह गर्नुभयो। 

उम्मेदवार थापाले ओखलढुङ्गाका जनताले दिएको मत गलत कार्यमा प्रयोग नगर्ने भन्दै सकारात्मक काम गरेर असल छोरी र असल जनप्रतिनिधिका रूपमा प्रमाणित गर्ने दाबी गर्नुभयो।  कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा ओखलढुङ्गा जिल्ला इन्चार्ज यज्ञराज सुनुवारले युवा महिला उम्मेदवार पाउँदा ओखलढुङ्गामा ठूलो उत्साह आएको धारणा राख्नुभयो। 

महिला सशक्तीकरण  प्राथमिकता : अस्मिता थापा

नेकपा (एमाले) की केन्द्रीय सदस्य तथा ओखलढुंगाबाट प्रतिनिधि सभा सदस्यकी उम्मेदवार अस्मिता थापाले जिल्लाको सर्वाङ्गीण विकास, सूचना प्रविधि र महिला सशक्तीकरण आफ्नो मुख्य प्राथमिकता रहेको बताउनुभएको छ ।

शनिबार नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित ‘प्रतिनिधि सभा निर्वाचन केन्द्रित कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उम्मेदवार थापाले ओखलढुंगाका सीमानाका जोड्ने सडकहरूको निर्माण र पालिका–पालिकामा कालोपत्रे गर्ने योजना अघि सार्नुभयो । एउटा गाउँपालिकाको व्यक्ति तीनवटा जिल्ला घुमेर सदरमुकाम पुग्नुपर्ने विद्यमान बाध्यता अन्त्य गर्ने उहाँको संकल्प छ । उहाँले भन्नुभयो, "अब ओखलढुंगाले आफ्नै नेतृत्वमा पूर्वाधार विकास गर्नेछ, जसले नागरिकको दैनिक जीवन सहज बनाउनेछ ।"

जिल्लाका कतिपय स्थानमा अझै पनि मोबाइल नेटवर्कको समस्या रहेको उल्लेख गर्दै थापाले अबको युग सूचना प्रविधिको हुने बताउनुभयो । "अझै पनि फोन गर्न डाँडामा जानुपर्ने अवस्था छ, मैले यो समस्या भोगेकी छु," उहाँले थप्नुभयो, "अब नेटवर्क मात्र होइन, ठाउँ-ठाउँमा साइबर क्याफे र उच्च गतिको इन्टरनेट पुर्‍याइनेछ । युवाहरूले काठमाडौं नआई आफ्नै घरको स्वच्छ हावापानीमा बसेर 'आइटी'को काम गर्न सक्ने वातावरण निर्माण गरिनेछ ।"

शैक्षिक क्षेत्रको सुधारका लागि विद्यालयहरूमा सही 'काउन्सिलिङ'को व्यवस्था गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । यस्तै, महिला मुक्तिको सवालमा चर्चा गर्दै उहाँले भन्नुभयो, "आसन, भाषण र शासनमा महिला नपुगी वास्तविक मुक्ति सम्भव छैन । महिलाहरूलाई नेतृत्वदायी भूमिकामा पुर्‍याउन म देशव्यापी रूपमा लाग्नेछु ।"

लिखु गाउँपालिकाकी पूर्व उपाध्यक्ष समेत रहनुभएकी थापाले युवाहरूले भाषणभन्दा पनि कामबाट आफूलाई प्रमाणित गर्नुपर्नेमा जोड दिनुभयो । युवा र महिला प्रतिनिधित्वको प्रतीकका रूपमा चुनावी मैदानमा उत्रिनुभएकी उहाँले काममा आधारित नेतृत्वले मात्रै समाज परिवर्तन गर्ने विश्वास व्यक्त गर्नुभयो ।