काठमाडौँ, माघ १७ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सार्वजनिक सेवा प्रसारण संस्थाले नयाँ प्रविधि, ‘डिजिटल प्लेटफर्म’ र बढ्दो जनअपेक्षालाई आत्मसात् गर्दै प्रसारण सामग्रीको गुणस्तर र प्रभावकारिता बढाउन आवश्यक रहको बताउनुभएको छ।
सार्वजनिक सेवा प्रसारण नेपालअन्तर्गतको नेपाल टेलिभिजनको ४१औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित विशेष समारोहमा उहाँले डिजिटल युगमा विषयवस्तु, पहुँच, प्रस्तुति र प्रविधिलाई निरन्तर विस्तार गर्नु अपरिहार्य रहेको बताउनुभयो।
“परम्परागत रेडियो वा टेलिभिजनमा सीमित नभई डिजिटल माध्यममार्फत जनतासम्म पुग्नु आजको चुनौती मात्र होइन, नयाँ पुस्तासम्म राष्ट्रको आवाज पुर्याउने अवसर पनि हो”, उपराष्ट्रपति यादवले भन्नुभयो, “सरकारी सञ्चारमाध्यमको प्रमुख दायित्व राष्ट्रको आवाजलाई सशक्त बनाउने, नागरिकलाई जानकारीमूलक, शैक्षिक तथा प्रेरणादायी सामग्री उपलब्ध गराउने र लोकतान्त्रिक मूल्यहरूको संरक्षण गर्ने हो।”
नेपाल टेलिभिजन र रेडियो नेपालले राष्ट्रिय एकता, सामाजिक सद्भाव, सांस्कृतिक विविधता र लोकतान्त्रिक मूल्यहरूको प्रवर्धनमा निरन्तर योगदान दिँदै आएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले भन्नुभयो, “हामी सबै मिलेर सार्वजनिक सेवा प्रसारणलाई अझ सबल, प्रभावकारी र जनमुखी बनाउन योगदान गरौँ। ” उहाँले राष्ट्रको आवाजलाई विश्वभर पुर्याउने, नागरिकलाई सशक्त बनाउने र समृद्ध नेपाल निर्माणमा सहायक बन्ने सामूहिक जिम्मेवारी पूरा गर्न आह्वान गर्नुभयो।
पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएको जनाउँदै उपराष्ट्रपतिले समाजमा सत्यतथ्य, निष्पक्षता र जनताको आवाजलाई उजागर गर्ने जिम्मेवारी पत्रकारिताले गर्दै आएको बताउनुभयो। “पत्रकारितामा समावेशिता, समान अवसर र सबैको आवाजको प्रतिनिधित्व हुनु लोकतान्त्रिक मूल्य र सामाजिक न्यायको आधारभूत सर्त हुन”, उहाँले भन्नुभयो, “कुनै पनि समुदाय वा नागरिकको आवाज उपेक्षित हुनु लोकतन्त्रको आत्मालाई कमजोर बनाउने कार्य हो। त्यसैले पत्रकारिता सबै वर्ग, भाषा, संस्कृति र भौगोलिक क्षेत्रलाई समान अवसरसहित प्रतिनिधित्व गर्ने माध्यम बन्नुपर्छ।”
अर्को प्रसङ्गमा उपराष्ट्रपति यादवले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्येक मतदाताले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता गरिनुपर्ने बताउनुभयो। “यसका लागि सञ्चारमाध्यमको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ। निर्वाचनसम्बन्धी सही सूचना प्रवाह, मतदाताको सचेतना अभिवृद्धि तथा शान्तिपूर्ण वातावरण निर्माणमा सञ्चारमाध्यमले जिम्मेवारीपूर्वक योगदान गर्नुपर्छ”, उहाँले भन्नुभयो।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले राजनीतिक घटनाक्रम वा प्राकृतिक विपत्तिमा निष्पक्ष एवं आधिकारिक सूचनाको संवाहकका रूपमा नेपाल टेलिभिजनले भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभयो। “सत्यतथ्य सूचना आमजनतासमक्ष पुर्याउनु, जनचेतना अभिवृद्धि, संस्कृति संरक्षण र सामाजिक रूपान्तरण जस्ता योगदानमार्फत नागरिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता र सामाजिक दायित्वसँग जोड्ने कार्य नेपाल टेलिभिजनबाट हुँदै आएको छ”, सचिव बस्नेतले भन्नुभयो।
सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले अन्तरराष्ट्रिय मान्यता र राष्ट्रिय आवश्यकताका आधारमा सार्वजनिक प्रसारण संस्थाहरू सञ्चालनमा रहेको बताउनुभयो। राष्ट्रिय प्रसारकका रूपमा जनतालाई केन्द्रविन्दुमा राखेर सार्वजनिक प्रसारणलाई अघि बढाउनुपर्नेमा जोड दिँदै उहाँले राष्ट्रिय एकता, समृद्धि र विपदमा नागरिक रक्षालाई प्रमुख आधार मानेर सार्वजनिक प्रसारण संस्थाका विषयवस्तु निर्माण हुँदै आएको स्पष्ट पार्नुभयो।
कार्यक्रममा नेपाल टेलिभिजनमा क्रियाशील विभिन्न पेसागत सङ्घसङ्गठनको प्रमुख तथा प्रतिनिधिले संस्थागत सुदृढीकरण, सार्वजनिक प्रसारण संस्थाका विषयवस्तु, कर्मचारीको वृत्तिविकासलगायत विषयमा व्यवस्थापनको ध्यानाकर्षण गराउनुभएको थियो।
समारोहमा उपराष्ट्रपति यादवले नेपाल टेलिभिजनमा ४० वर्ष, ३० वर्ष र २० वर्ष अविछिन्न सेवा गर्नुभएको कर्मचारीलाई दीर्घसेवापदक प्रदान गर्नुभयो। कार्यक्रममा टेलिभिजनका उत्कृष्ट कर्मचारी, पत्रकार, विज्ञानपनदाता, कार्यक्रम निमार्तालगायतलाई सम्मान गरिएको थियो।
विसं २०४१ माघ १७ गते स्थापना भएको नेपाल टेलिभिजन समयसँगै प्रविधि र प्रवृत्तिमा आएका परिवर्तन अनुरूप परिस्कृत हुँदै अघि बढिरहेको छ। राज्य सञ्चालित टेलिभिजनबाट सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण भएको नेपाल टेलिभिजनले वार्षिकोत्सवका अवसरमा राज्यप्रतिको दायित्वसँगै नागरिकप्रतिको जिम्मेवारी र जवाफदेहितालाई पूरा गर्दै अघि बढ्ने सङ्कल्प दोहोर्याएको छ।
राष्ट्रिय प्रसारण संस्थाका रूपमा राज्य र नागरिकबिच सेतुको भूमिका निर्वाह गर्दै आइरहेको नेपाल टेलिभिजनले आफ्नो प्रसारणको चार दशकको इतिहासमा विश्वव्यापी पहुँचका पाँच वटा च्यानलसँगै यसैवर्षदेखि बेग्लै अंग्रेजी च्यानल ‘एनटिभी वल्र्ड’ पनि सञ्चालनमा ल्याएको छ।
नेपाल टेलिभिजनको देशमा भू–सतही प्रसारणमार्फत ५२ प्रतिशत भू–भाग र ७२ प्रतिशत जनतामा पहुँच पुगेको छ।
सार्वजनिक सेवा प्रसारण नेपालका कामु प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले दूरदराजका नागरिकलाई जोड्दै विभिन्न जातजाति भाषाभाषी र समुदायको प्रतिनिधित्व र सरोकार सम्बोधन हुनेगरी टेलिभिजनले दैनिक सात भाषामा समाचार, २५ भाषाका साप्ताहिक कार्यक्रम र थप दुई भाषामा साप्ताहिक समाचार प्रसारण गर्दै आइरहेकोे जानकारी दिनुभयो।