न्युयोक, माघ १७ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सदस्य राष्ट्र वार्षिक योगदान र संरचनात्मक कोष जम्मा गर्ने विषयमा पछाडि परेको कारण विश्व निकाय वित्तीय सङ्कटको बाटो तर्फ गइरहेको चेतावनी दिनु भएको छ ।
परिस्थितिगत गम्भीरताको विवरण सहित संयुक्त राष्ट्रका सबै सदस्य राष्ट्रलाई सम्बोधन गर्दै गुटेरेसले वित्तीय नियममा सुधार गर्न वा सङ्गठनको वित्तीय पतनको वास्तविकताको सामना गर्न आग्रह गर्नु भएको छ । अल जजिराका अनुसार उहाँले सम्बन्धित देशलाई आफ्नो बकौैता तिर्न पनि आह्वान गर्नु भएको छ ।
संस्थाको वित्तीय कमजोरीलाई उजागर गर्दै प्रवक्ता फरहान हकले विगतका वर्षमा गरे जस्तै काम गर्न नगद भण्डार र तरलता नभएको पत्रकारलाई बताउनु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बहुपक्षीय निकायका लागि वासिङ्टनको आर्थिक सहयोग कटौती गर्न कदम चालेको समयमा यो अपिल आएको हो ।
ट्रम्प प्रशासनले संयुक्त राष्ट्रका धेरै एजेन्सीबाट फिर्ता हुने योजना घोषणा गरेको छ भने ट्रम्पले “बोर्ड अफ पिस”को पहललाई पनि बढावा दिएको जनाइएको छ । विद्यमान प्रणाली अन्तर्गत, संयुक्त राष्ट्रसङ्घको सदस्यता शुल्क घरेलु उत्पादन, ऋण स्तर र आर्थिक क्षमता जस्ता कारकको आधारमा गणना गरिन्छ, जसमा संयुक्त राज्य अमेरिकाले मुख्य बजेटको २२ प्रतिशत, भने चिनले २० प्रतिशत योगदान गर्दछ ।
यसै बिच गुटेरेसले सन् २०२५ को अन्त्यमा, एक अर्व ५७ करोड अमेरिकी डलर भुक्तानी बाँकी रहेको बताउनु भएको छ । सुधारको आवश्यकतालाई जाड दिदै, उहाँले सबै सदस्य राष्ट्रले पूर्ण र समयमै भुक्तानी गर्ने आफ्नो दायित्वका पुरा गर्नु पर्ने वा सदस्य राष्ट्रले आसन्न वित्तीय पतन रोक्नका लागि विद्यमान नियमलाई सुधार गर्नु पर्ने बताउनु भएको छ ।
आर्थिक दबाब बढ्दै जाँदा पनि संयुक्त राष्ट्रसंघले यस महिनाको सुरुमा सन् २०२६ का लागि तीन अर्व ४५ करोड डलरको बजेट स्वीकृत गरेको छ जुन गत वर्षको तुलनामा ७ प्रतिशतले कम हो । सम्बोदन पत्रमा गुटेरेसले आगामी जुलाईसम्ममा संयुक्त राष्ट्रसङ्को नगद भण्डारण समाप्त हुने सक्ने चेतावनी दिनु भएको छ । सङ्गठनको वेबसाइटमा प्रकाशित तथ्याङ्कले बिहीबारसम्म, संयुक्त राष्ट्रका १९३ सदस्य देश मध्ये ३६ वटा ले मात्र आफ्नो नियमित २०२६ योगदान पूर्ण रूपमा भुक्तान गरेको देखाउँछ । रासस/एएनआई