• १७ माघ २०८२, शनिबार

अटो चलाएर गुजारा गर्दै बेलडाँडीका स्थानीय

blog

बेलडाँडी घर भएका अटो चालकहरू अटो चलाउँदै । तस्बिरः भवानीदत्त भट्ट

भवानीदत्त भट्ट

कञ्चनपुर, माघ १७ गते । शुक्रबार बिहान कञ्चनपुरको बेदकोट नगरपालिका–३ सावा दैजीमा अटो चालकहरू घरबाट पार्सल गरेर ल्याएको रोटी खाँदैगरेको भेटिनु भयो । उहाँहरू एकाबिहानै घर गुजारा गर्न अटो चलाउँदै आउनुभएको छ ।

बेलडाँडी गाउँपालिकाका अटो चालक मङ्गल साही, देवराज भट्ट र लव विष्ट बिहानै ५ बजे घरबाटै रोटी पार्सल गरेर अटोमा यात्रु ओसारपसार गर्नुहुन्छ । यहाँका स्थानीयहरू विगतमा कामको सिलसिलामा बाह्य मुलुक गए पनि स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच बनाएर अटोबाट आम्दानी गर्दै आएका छन् ।

बेलडाँडी गाउँपालिका–१ का स्थानीय देवराज भट्ट १६ वर्षको उमेरमा कामको खोजीमा भारत पस्नुभयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित उहाँको परिवारको अन्य आयस्रोत नहुँदा परिवार पाल्न सानै उमेरमा भारत पस्नुभयो । 

तीन दाजुभाइमध्ये जेठा देवराज कामको खोजीमा भारत पसेपछि उहाँले आठ वर्ष भारतमा मजदुरी गर्नुभयो । भारतमा छँदा घरखर्च तथा भाइको पढाइ खर्च धान्नुभएका उहाँ गाउँठाउँमै केही गर्ने सोच बनाएर घर फर्किएको बताउनुहुन्छ ।

बेलडाँडी फर्किए पनि रोजगारी नपाउँदा उहाँले तीन वर्ष महेन्द्रनगरका होटलमा कारिगर काम गरेको सुनाउनुहुन्छ । आफैंले केही गर्नुपर्छ भन्ने सोच बनाएपछि उहाँले आठ वर्ष पहिले २८ वर्षको उमेरमा अटो खरिद गर्नुभयो । अटो खरिद गरेर उहाँ बेलडाँडी दैजी महेन्द्रनगर रुटमा अटो चलाउँदै आउनुभएको छ । 

सात वर्ष पहिले अटो खरिद गरेर यात्रु ओसारपसार गर्दै आउनुभएका उहाँ हाल भने सडकको सहजताका कारण आम्दानी राम्रो हुने गरेको बताउनुहुन्छ । “विगतमा कच्ची, खराब सडकका कारण २० किलोमिटर यात्रा गर्दा घण्टौँ लाग्ने गरेको थियो” उहाँले भन्नुभयो, “हाल आधा घण्टामै यात्रुहरूलाई गन्तव्यमा पुर्‍याउने गरेको छु ।” 

सडकमा सुधार हुँदा २–३ वर्ष पहिले दैनिक दैजी बेलडाँडी सडकमा ४–५ चक्कर लगाउँदै आउनुभएका उहाँ हाल अत्यधिक अटोका कारण दैनिक दुई पटक मात्र ओहोरदोहोर हुने गरेको सुनाउनुहुन्छ । “सरकारले निकुञ्ज विस्थापितको व्यवस्थापन नगरे पनि केही गरेर घर परिवार खर्च धनेकै छु” उहाँले भन्नुभयो, “अहिले घरमा तीनवटै भाइको अवस्था राम्रै छ ।” अटो चलाएर मासिक २५ हजारसम्म बचत हुने गरेको उहाँ बताउनुहुन्छ । 

यसैगरी, २१ वर्षको उमेरमा रोजगारीका लागि भारत छिर्नुभएका बेलडाँडीका मङ्गल साहीले २२ वर्ष भारतमै बिताउनुभयो । भारतमा चौकीदारीको काममा २२ वर्ष बिताउनुभएका साही घर खर्च धान्दै आए पनि गाउँमै केही गर्ने सोच बनाएर घर फर्किएको बताउनुहुन्छ । 

एसएलसी (हाल एसइई) परीक्षा उत्तीर्ण गर्न नसक्दा सानै उमेरमा घरकाले विवाह गरिदिएपछि परिवार पाल्न भारत जानुपरेको उहाँ सुनाउनुहुन्छ । “भारतमा २२ वर्ष चौकीदारी गरेर बिताएँ” उहाँले भन्नुभयो, “गाउँ फर्किएपछि यतै केही गर्ने सोच बनाएर अटो किने ।” 

साहले तीन वर्ष पहिले ६ लाखमा अटो खरिद गरेर परिवार खर्च धान्दै आएको बताउनुहुन्छ । उहाँको घरमा दुई छोरा, श्रीमती हुनुहुन्छ । बेलडाँडी दैजी अटो चलाउँदै आउनुभएका उहाँ दैनिक एक हजार पाँच सयसम्म बचत हुने गरेको बताउनुहुन्छ । अटो चलाएर घर खर्च तथा सन्तानको पढाइ खर्च धानिएको उहाँले सुनाउनुभयो । 

“बिहानै घरबाट निस्कँदा परिवारले रोटी पार्सल गरेर पठाउनुहुन्छ” उहाँले भन्नुभयो, “फुर्सदको समयमा पार्सल रोटी खाने गरेको छु ।” बेलडाँडी गाउँपालिका–१ का लव विष्ट तीन वर्ष मलेसिया बसेर घर फर्कनुभयो । मलेसियामा सन्चो नभएपछि स्वदेशमा केही गर्ने सोच बनाएर २०७० मा घर फर्कनुभएका विष्ट स्वदेशमा कुनै काम नपाउँदा भौँतारिनुभयो । 

घरमा आमाबुवा, श्रीमती, दुई छोराको खर्च धान्न विष्टले स्वदेशमै भए पनि केही गर्ने निधो गर्नुभयो । मलेसियामा कमाएको केही बचत रकमबाट उहाँले फर्केको पाँच वर्षपछि साढे पाँच लाख लागतमा अटो खरिद गर्नुभयो । 

सुरुमा अटो चलाएर मनग्य आम्दानी गर्न थाल्नुभएका विष्टले विस्तारै लामो यात्रामा पनि अटोमा सवारी बोक्न थालेको बताउनुभयो । “सुरुमा बेलडाडी–दैजी सडकमा अटो चलाउँथे” उहाँले भन्नुभयो, “पछि धनगढी–महेन्द्रनगरसम्म बेलडाँडीबाट यात्रुहरू पुगाउन थालें ।” 

सुरुमा दैनिक एक हजारसम्म बचत गर्दै आएका उहाँ हाल दैनिक दुई हजार जति बचत हुने सुनाउनुहुन्छ । “घर खर्च, सन्तानको पढाइ खर्च यसै अटो चलाएर धानेको छु” उहाँले भन्नुभयो, “गर्न सके स्वदेशमै राम्रो आम्दानी हुन्छ ।” 

अर्काको मुलुकमा काम गरेर बस्नुभन्दा आफ्नै ठाउँमा काम गर्दा मनग्ये आम्दानी हुने तथा घर परिवारको पनि रेखदेख हुने उहाँ बताउनुहुन्छ । “अटोमा यात्रु बोक्न बिहान घरबाट निस्कदा परिवारले खाना पार्सल गरिदिन्छन्” उहाँले भन्नुभयो, “फुर्सदको समयमा खाने गरेको छु ।” यात्रुहरूलाई गन्तव्यमा छोड्दै आउनुभएका अटो चालकहरू बिहान तथा दिनको समयमा घर बाहिरै खाना खाने गरेको बताउनुहुन्छ । 

बेलडाँडी गाउँपालिकाको मात्र तीन दर्जन स्थानीयहरूले अटो चलाएर घरबार चलाउँदै आउनुभएको छ । एकाबिहानै अटो दगुराउनु यहाँका स्थानीय अटो चालकहरूको दैनिकी बनेको छ । जसबाट उनीहरूले घर खर्च धान्दै आउनुभएको छ ।