• १७ माघ २०८२, शनिबार

एक हप्तामा सात लाखभन्दा बढी राजस्व सङ्कलन

blog

जिल्ला प्रशासन कार्यालय गुल्मी। तस्बिरः रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 
गुल्मी, माघ १७ गते।
जिल्ला प्रशासन कार्यालय गुल्मीले एक हप्तामा सात लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ। पछिल्लो एक हप्तामा प्रशासन कार्यालयले सात लाख ८१ हजार ५०० रुपियाँ राजस्व सङ्कलन गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो।

उहाँका अनुसार राहदानीबाट सात लाख ६७ हजार पाँच सय रुपियाँ र राष्ट्रिय परिचयपत्रबाट १४ हजार रुपियाँ राजस्व सङ्कलन गरिएको छ। यो साता संस्था दर्ता, नवीकरण र हातहतियारसम्बन्धी कुनै पनि राजस्व सङ्कलन नभएको सहायक प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिनुभयो। प्रशासनबाट पछिल्लो एक हप्ता गत आइतबारदेखि शुक्रबारसम्म वैवाहिक अङ्गिकृत नागरिकता एकसहित १८१ जनाले नयाँ नागरिकता लिनुभएको छ।

१४४ जनाले नागरिकता प्रमाणपत्रको प्रतिलिपि बनाउनुभएको छ। नाबालक परिचयपत्र ६, राहदानीको आवेदन सङ्कलन १४८, राहदानी वितरण २७७ जनालाई गरिएको छ। राष्ट्रिय परिचयपत्रको आवेदन सङ्कलन ३८८, राष्ट्रिय परिचयपत्र वितरण २८६, दलित, जनजाती, पारिवारिक विवरण तथा अन्य प्रमाणित १९ जनाको गरिएको छ।

प्रशासनले विगतदेखि नै एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण आम नागरिकलाई जानकारी गराउने उद्देश्यले सार्वजनिक गर्दै आएको हो। सेवा प्रवाहको सहजतासँगै नागरिकमैत्री बनाउनुका साथै सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रशासन कार्यालय निरन्तर लागेको उहाँले बताउनुभयो।