केशवराज भट्ट
वाशुलिङ बैतडी, माघ १७ गते । आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बैतडीको राजनीतिक माहोल क्रमशः तात्दैगएको छ । यसपटक बैतडीमा ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । तर चुनावी चहलपहल बढे पनि मतदाताको मनोविज्ञान भने अघिल्ला निर्वाचनभन्दा फरक देखिन थालेको छ ।
मतदाताहरूले गाउँ–गाउँमा अहिले एउटै प्रश्न दोहाेर्याइरहेका छन्, काम नगर्नेलाई फेरि किन भोट दिने । चुनाव नजिकिँदै जाँदा दलहरू पार्टी सङ्गठन र कार्यकर्ताको बलमा प्रचारप्रसारमा सक्रिय देखिन्छन् । नेताहरू घरदैलो, भेटघाट र सभामार्फत मत माग्न गाउँ–गाउँ पुगिरहेका छन् । तर जनस्तरमा भने चुनावप्रति उत्साहभन्दा पनि शङ्का र प्रश्न बढी देखिन्छ ।
‘काम नगर्नेलाई भोट छैन’ भन्ने जन आवाज बलियो बन्दै गएको वर्तमान अवस्थामा बैतडीको यो निर्वाचन केवल सत्ता प्राप्तिको प्रतिस्पर्धा मात्र नभई जनप्रतिनिधिको कार्य सम्पादन प्रतिको जनमत परीक्षणका रूपमा हेरिएको स्थानीयहरू बताउछन् ।
स्थानीय बासिन्दाहरूका अनुसार विगतमा निर्वाचित जनप्रतिनिधिहरूले जितेपछि गाउँघर नफर्किने, जनसमस्या नबुझ्ने र गरेका प्रतिबद्धता कार्यान्वयन नगर्ने प्रवृत्तिले जन आक्रोश बढाएको छ । ‘‘चुनाव आउँदा मात्रै देखिने नेता अब चाहिँदैन,’’ एक स्थानीय मतदाताले भने, ‘‘यसपटक पुराना अनुहारभन्दा पनि काम गर्न सक्ने र जनतासँगै बस्ने उम्मेदवारलाई मत दिने तयारी गरेका छौँ ।’’
बैतडीमा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारी अझै पनि प्रमुख समस्या बनेका छन् । यिनै मुद्दामा उम्मेदवारहरूले मत मागिरहेका भए पनि मतदाताले यसपटक नाराभन्दा कामलाई आधार बनाउने सङ्केत दिएका छन् ।
निर्वाचन आयोग बैतडीको जानकारी अनुसार दर्ता भएका उम्मेदवारीमध्ये नेपाली कांग्रेसबाट नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, नेकपा (एमाले) बाट पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, नेपाल कम्युनिस्ट पार्टीबाट पूर्व जिल्ला सभापति प्रमानन्द भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भूपेनबहादुर चन्द र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हरिमोहन भण्डारी चुनावी मैदानमा हुनुहुन्छ ।
यस्तै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट रामसिंह कुँवर, जनता समाजवादी पार्टी नेपालबाट आनसिंह भण्डारी, नेपाल मजदुर किसान पार्टीबाट नवराज कोइराला, आमजनता पार्टीबाट विसन सिंह बोहरा र श्रम संस्कृति पार्टीबाट गजेन्द्रराज पाण्डेयले पनि उम्मेदवारी दिनुभएको छ । यी १० दलका उम्मेदवारसँगै जयप्रकाश पन्त स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धामा हुनुहुन्छ । स्वतन्त्र उम्मेदवार पन्त उम्मेदवारी दर्ता गर्नु अघि राष्ट्रिय प्रजातन्त्र पार्टीका सक्रिय नेताका रूपमा हुनुहुन्थ्यो ।