केदार तिमल्सिना
बनेपा, माघ १७ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा काभ्रेपलाञ्चोकको प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा दलहरुबिच कडा चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । यस पटकको निर्वाचनमा यो क्षेत्रमा विशेष गरी नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारबिच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ को समानुपातिक तर्फको मतको आधारमा आँकलन गर्ने हो भने यस क्षेत्रमा नेकपा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो, रास्वपा तेस्रो र नेपाली कम्युनिस्ट पार्टी चौथो पार्टीको रूपमा देखिन्छ ।
प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा यस पटक एमालेका तर्फबाट ५४ वर्षीय केन्द्रीय सदस्य अशोककुमार ब्याञ्जु श्रेष्ठ, कांग्रेसका तर्फबाट २०७४ मा यसै क्षेत्रबाट उम्मेदवारी दिई पराजित हुनुभएका ६१ वर्षीय केन्द्रीय सदस्य ई. मधुप्रसाद आचार्यले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै, रास्वपाका तर्फबाट ३३ वर्षीय बदनकुमार भण्डारी र नेकपाको तर्फबाट ५५ वर्षीय बसुन्धरा हुमागाईले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस पटक काभ्रेपलाञ्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा एमाले चुनावी परिणाम आफ्नो पक्षमा पारेर यस क्षेत्रमा विजयीको ह्याट्रिक गर्ने रणनीतिमा रहेको छ । यसअघि पार्टीबाट टिकट पाएर दुई पटक विजयी बन्नुभएका एमालेका केन्द्रीय सदस्य गोकुलप्रसाद बास्कोटालाई पछि सार्दै पार्टीले केन्द्रीय सदस्य तथा धुलिखेल नगरपालिकाका नगर प्रमुख ब्याञ्जुलाई टिकट दिएको हो । करिब २८ वर्ष स्थानीय तहमा काम गर्नुभएका ब्याञ्जु स्थानीय तहका विज्ञको रूपमा रहनुभएको छ ।
यसअघिका दुई पटकका निर्वाचनमा यो क्षेत्रमा विजयी भएको पार्टीलाई पुनः विजयी गराएर विजयीमा ह्याट्रिक गर्नुपर्ने चुनौती ब्याञ्जु र एमाले काभ्रेपलाञ्चोकमा देखिएको छ । ब्याञ्जुले नयाँ पुस्ता, नयाँ समाजले परिकल्पना गरेको र नयाँ पुस्ताले अघि सारेको र आजको आवश्यकता अनुसारको राजनीतिक प्रणालीलाई सुधार र समृद्ध गर्नका लागि मेरो उम्मेदवारी रहेको बताउनुभयो । यसअघिका दुई वटा निर्वाचनमा पराजय बेहोरेको कांग्रेस यस पटक क्षेत्र नम्बर–२ मा विजयी भएर पराजयको पुरानो घाउँमा मल्हम लगाउने रणनीतिमा रहेको छ ।
यो क्षेत्रमा कांग्रेस प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा हालका उम्मेदवार आचार्य र ०७९ मा पूर्व केन्द्रीय सदस्य शिवप्रसाद हुमागाँई एमालेका उम्मेदवार गोकुलप्रसाद बास्कोटासँग पराजित हुनुभएको थियो । आचार्यले युवाहरूको भावना अनुसार मुलुकमा सुशासन कायम गर्न, भ्रष्टचारमुक्त समाजको निर्माणमा योगदान गर्न, सबै क्षेत्रमा अनावश्यक रूपमा भएको दलियकरणको अन्त्य गर्न र जनतलाई प्रत्यक्ष सेवा पुर्याउनका लागि आफुले उम्मेदवारी दिएको बताउनुभयो । यस क्षेत्रमा कांग्रेस पनौतीका नेता राजेशकुमार श्रेष्ठले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएपछि भने पार्टीको मत विभाजित हुने खतरा देखिएको छ ।
पछिल्लो समय आफ्नो पार्टीप्रति देखिएको नागरिकको समर्थनलाई चुनावी परिणाममा परिणत गरेर राष्ट्रिय स्वतन्त्र पार्टी विजयी हुने लक्ष्यका साथ चुनावी अभियानमा लागेको छ । रास्वपाले यस क्षेत्रमा ३३ वर्षीय युवा बदनकुमार भण्डारीलाई उम्मेदवार बनाएर युवा पुस्ताको मत आफुतिर तान्न तल्लिन देखिएको छ । उम्मेदवार भण्डारीले मुलुकमा सुशासन कायम गर्नुपर्ने भ्रष्टचारको नीति गत अन्त्य गर्नुपर्ने, जेनजीको माग सम्बोधन गर्नुपर्ने, जनहितमा आवश्यक नीति बनाउनुपर्ने र जनहितमा नभएका नीतिलाई अन्त्य गर्नुपर्नेछ त्यसका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । यसैगरी, यस क्षेत्रमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी मिलेर बनेको नेकपाको तर्फबाट बसुन्धराले उम्मेवारी दिनुभएको हो । लामो समयसम्म एमालेमा सक्रिय राजनीति गर्नु भएका हुमागाई एमालेबाट छुट्टिएर एकीकृत समाजवादी हुँदै हाल नेकपाबाट उम्मेदवार बन्नुभएको हो । हुमागाई यसअघि बागमती प्रदेशको कृषि मन्त्रीको रूपमा काम समेत गर्नुभएको थियो ।
हुमागाईले देशमा सुशासन कायम गर्न, समृद्ध राष्ट्र, सुखी नेपाली बनाउन, जनताले खोजेको परिवर्तन खोजेको छ र नयाँ पुस्ताको माग सम्बोधन गर्नका लागि र किसान, मजदुर र सर्वहारा जनताको पक्षमा काम गर्नका लागि आफुले उम्मेदवारी दिएको बताउनुभयो । प्रतिनिधि सभा क्षेत्र नम्बर–२ मा राजनीतिक दल र स्वतन्त्र रूपमा उम्मेदवारी दिनुभएका उम्मेदवारहरू राजनीतिक दलहरूभित्र देखिएका असन्तुष्ट नेता तथा कार्यकर्तालाई आफुतिर आकर्षित गरेर चुनावी परिणाम आफ्नो पक्षमा पार्ने होडबाजीमा लाग्नुभएको छ । अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा क्षेत्र नम्बर–२ मा समानुपातिकतर्फ एमालेले ३४ हजार ७०५ मत, कांग्रेसले २६ हजार ५५६ मत, रास्वपाले १६ हजार ८२६ मत, माओवादी केन्द्रले सात हजार ९२६ मत र एकीकृत समाजवादीले छ हजार १४३ मत प्राप्त गरेका थिए । अघिल्लो पटकको प्रत्यक्षतर्फको निर्वाचनमा एमालेका गोकुल बास्कोटाले ४५ हजार ३४५ मत ल्याएर विजयी हुनु भएको थियो भने कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाई ३९ हजार ४८२ मत ल्याई पराजित हुनुभएको थियो ।