सिराज खान
नेपालगन्ज, माघ १७ गते । नेपाल भारत सीमा नजिकै भारतीय क्षेत्रमा बसले मोटरसाइकललाई ठक्कर दिँदा नेपालगन्ज पिप्रहवा निवासी एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
नेपालगन्जबाट भारतको सीमावर्ती क्षेत्रमा उपचारका लागि मोटरसाइकलमा जाँदै गर्दा चर्दा जमोक भन्ने स्थानमा बसले मोटरसाइकललाई ठक्कर दिएको भारतको रुपैडिहास्थित भारतीय प्रहरीले जनाएको छ ।
रुपैडिहा प्रहरीका अनुसार भारत उपचारका लागि जाने क्रममा बाँके उढरापुर घर भइ हाल नेपालगन्जको पिप्रहवा बस्दै आउनुभएका बुद्ध चमार र उहाँकी श्रीमति सरस्वति चमार सवार मोटरसाइकल बाबागन्ज नजिकको चर्दा जमोक बजारमा शुक्रबार बससँग ठोक्किएको थियो ।
सो दुर्घटनामा परि बुद्धको मृत्यु भएको छ भने उहाँकी श्रीमती सरस्वतिको अवस्था गम्भीर रहेको छ । दुर्घटनापछि स्थानीय बासिन्दाको सहयोगमा घाइते महिलालाई चर्दाको उपचार केन्द्र लगिएको थियो जहाँ चिकित्सकहरुले अवस्था गम्भीर रहेको भन्दै उहाँलाई मेडिकल कलेज, बहराइच रेफर गरेका थिए ।
घटनाको जानकारी पाएपछि रुपैडिहा प्रहरीले घटनास्थलमा पुगेर आवश्यक कानुनी कारबाही सुरु गरेको थियो । प्रहरीले शवलाई नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि बहराइच पठाएको छ भने दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।