अर्जुन काफ्ले
स्याङ्जा, माघ १७ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–१ मा पूर्व बैंकर, भूवैज्ञानिक, हिमनदी विज्ञ र पत्रकारबिच प्रतिस्पर्धा हुने भएको छ।
यस क्षेत्रबाट १२ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन्। तीमध्ये आँधीखोला गाउँपालिका–६ का भरतराज ढकाल नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार हुनुहुन्छ। एमबीएसम्म अध्ययन गर्नुभएका ढकाल मुक्तिनाथ विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत, पूर्व अध्यक्ष तथा मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ कृषि कम्पनीका पूर्व अध्यक्ष रहनुभएको छ।
नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गर्नुभएका ढकाल हाल नेपाली कांग्रेसको वित्तीय तथा सहकारी विभागका केन्द्रीय सदस्य हुनुहुन्छ। उहाँ पूर्व पत्रकारसमेत हुनुहुन्छ। ढकालले ‘नयाँ खबर’ साप्ताहिक सञ्चालन गर्नुभएको थियो भने नेपाल पत्रकार महासंघ स्याङ्जाका संस्थापक सदस्य पनि रहनुभएको थियो। जेनजी आन्दोलनपछि जिल्ला सभापति राजु थापाले उम्मेदवारी नदिने घोषणा गर्दै ढकाललाई समर्थन गरेसँगै उहाँको उम्मेदवारी तय भएको हो।
नेकपा एमालेका तर्फबाट पुतलीबजार नगरपालिका–९ का मिनप्रसाद गुरुङ उम्मेदवार हुनुहुन्छ। उहाँ पनि पूर्व बैंकर हुनुहुन्छ। गुरुङ मुक्तिनाथ विकास बैंकका सञ्चालक तथा हाल बैंकका अध्यक्षसमेत रहनुभएको छ। एमए उत्तीर्ण गुरुङ २०३६ सालमा अनेरास्ववियु (पाँचौँ) स्याङ्जाका संस्थापक अध्यक्ष बन्नुभएको थियो। रेडकार्ड सदस्य, एमाले गाउँ कमिटी सचिव हुँदै जिल्ला कमिटी अध्यक्ष र हाल प्रदेश उपाध्यक्षको जिम्मेवारीमा रहनुभएको छ। उहाँ २०७४ सालको प्रदेशसभा निर्वाचनमा क्षेत्र नम्बर–१ (क) बाट निर्वाचित हुनुभएको थियो। सङ्घीय निर्वाचनमा भने यो उहाँको पहिलो सहभागिता हो।
नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट शैलेन्द्र घिमिरे उम्मेदवार हुनुहुन्छ। उहाँ पत्रकार पृष्ठभूमिका हुनुहुन्छ। १० वर्षे सशस्त्र जनयुद्धका क्रममा ‘डोको रेडियो’ सञ्चालन गर्नुभएका घिमिरे खुला राजनीतिमा आएपछि ‘लालरक्षक’ पत्रिकाका सम्पादक तथा ‘समाचार दैनिक’को सम्पादकीय मण्डलमा कार्यरत रहनुभएको थियो। हाल उहाँ लेख–रचना लेख्ने कार्यमा सक्रिय रहनुभएको छ र पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ। घिमिरे २०७० सालमा यही क्षेत्रबाट माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेर तेस्रो हुनुभएको थियो। २०७४ मा एमाले र २०७९ मा कांग्रेसलाई समर्थन गरी विजयी बनाएका घिमिरे १२ वर्षपछि पुनः उम्मेदवार बन्नुभएको हो। एमएस्सी उत्तीर्ण घिमिरे निर्वाचित भए सङ्घीय संसदमा पहिलोपटक प्रवेश गर्नुहुनेछ।
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट पुतलीबजार नगरपालिका–५ का डा. धनञ्जय रेग्मी उम्मेदवार हुनुहुन्छ। उहाँ भूवैज्ञानिक तथा हिमनदी विज्ञ हुनुहुन्छ। डा. रेग्मीले सन् २००६ मा जापानको साप्पोरोस्थित होक्काइडो विश्वविद्यालयबाट ‘माउन्टेन इन्भाइरोनमेन्टल जिओसाइन्स एन्ड जियोलोजी’ विषयमा विद्यावारिधि गर्नुभएको छ। उहाँ नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहनुभएको छ। हाल तालबाट जलविद्युत् उत्पादन गरी पानीको सतह घटाउने नयाँ प्रविधिमा अनुसन्धान गर्दै आउनुभएको छ। वामपन्थी विचारधाराका रेग्मी केही महिना अघि मात्र रास्वपामा प्रवेश गर्नुभएको हो।
यस क्षेत्रमा नेशनल रिपब्लिक नेपाल पार्टीबाट अर्जुनकुमार गुरुङ, मंगोल नेशनल अर्गनाइजेसनबाट यामबहादुर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हुकुमबहादुर राना, उज्यालो नेपाल पार्टीबाट रविन्द्र मल्ल, नेकपा माओवादीबाट सोमबहादुर परियार, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट रनबहादुर विक, श्रम संस्कृति पार्टीबाट पिरन गुरुङ तथा स्वतन्त्र उम्मेदवारका रूपमा अशोक बिष्ट पनि चुनावी प्रतिस्पर्धामा छन्।
यहाँ उम्मेदवारी दिएका सबै उम्मेदवार संघीय निर्वाचनका लागि नयाँ अनुहार हुन्। दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जा जिल्लाको क्षेत्र नम्बर–१ मा कुल एक लाख ३० हजार ८८६ मतदाता रहेका छन्।