जीवनको आनन्दित र रमणीय क्षण हो– यात्रा । मानिसलाई भिन्न भिन्न ठाउँको भूगोल, वातावरण र परिवेशको पहिचान त यात्राले गराउँछ नै; विशेष गरी यसलाई अन्वेषण, अनुसन्धान र खोजका निमित्त पनि निकै लाभदायक मानिन्छ । एकै ठाउँमा जड भएर बसिरहन नसक्ने मानवीय स्वभाव शाश्वत सत्य पनि हो । यात्राले मानिसलाई एक खालको ऊर्जा र हौसला प्रधान गर्छ । निरन्तर नयाँ नयाँ ज्ञानको तिर्खा र भोकलाई तृप्त पार्ने सामथ्र्य पनि यसले राख्छ । ठाउँविशेषको भाषा, धर्म, संस्कृति, परम्परा, रीतिरिवाज यावत् पक्षको सही जानकारी पहिचान गर्दै निरन्तर खोजमूलक कार्यको निमित्त नियात्रा अझ बढी प्रभावकारी देखिन्छ । वास्तविक सत्य र तथ्यको जानकारीमा नियात्राले विशेष टेवा पु¥याउने गर्छ । सत्य र यथार्थको नजिक पु¥याएर अध्ययन अनुसन्धानको निमित्त मार्ग प्रशस्त गर्छ ।
यस्तै यात्रामा विशेष रुचि र निमग्न हुने नियात्राकार महेशराज खरेलद्वारा लेखिएको यात्रा संमरण हो– ‘देश विदेश’ नियात्रा कृति । जीवन गुजाराको निमित्त कृषि पेसाको विकल्प खोज्दै यत्रतत्र भौतारिँदै हिँडेको पाइन्छ, लेखक खरेल । जागिरे जीवन प्रारम्भदेखि निवृत्तपश्चात् देशका विभिन्न स्थान र विदेशसम्मको यात्रामा आफूले देखेका, भोगेका र अनुभव गरेका विषयवस्तु व्यवस्थित रूपमा लिपिबद्ध गरी रचना गरिएको यात्रा संस्मरणको सङ्कलन हो– देशविदेश ।
जागिरका सन्दर्भमा आफू पुगेका स्थानको चर्चापरिचर्चा मिठासपूर्ण शैलीमा प्रस्तुत गरेको पाइन्छ । पढ्दै गर्दा पाठकको तन किताबको सामीप्यमा भए पनि मनले ती सबै ठाउँ र परिवेशको विचरण राम्रैसँग गर्न पुग्छ । पाठकको मनलाई यसरी विचरण गराउन सक्नु नै लेखकको कलात्मक सामथ्र्य हो । २६९ पृष्ठको पुस्तक पढ्दै गर्दा हृदयले आनन्दानुभूतिको शिखर चुमिरहन पुग्छ । पठनका क्रममा मलाई पनि लेखकसँग पूर्वी नेपाल हुँदै उत्तरपश्चिम नेपाली भूमि र विदेशका भूमिको यात्रामा निमग्न हुन पुगेको अनुभूति र आभास भई नै रह्यो । यस्ता कृतिले एकातर्फ पठन संस्कृतिको विकासमा विशेष टेवा पु¥याउँछ भने अर्कातर्फ यात्राको आनन्दानुभूति लिन पनि विशेष सहयोग पु¥याउने देखिन्छ ।
आन्तरिक लेखा परीक्षणको अवसरले जुराएको ‘जुम्ला, मुगु र राराको अविस्मरणीय भ्रमण’ नियात्रा पढ्दै गर्दा द्वन्द्वकालमा माओवादी आक्रमणमा जुम्ला जिल्लावासी र त्यहाँ कार्यरत कर्मचारीले भोगेका पीडा, व्यथा र त्रासदीपूर्ण वातावरण भेटिन्छ । जीवन जिउन सकस परेको वास्तविकताको उल्लेखले तत्कालीन अवस्थाको नेपाली समाजको वृत्तचित्र झल्किन्छ । भौतिक र मानवीय क्षतिको विकराल अवस्था र चन्दननाथ नगरवासीको क्रन्दनलाई समेत पुस्तकमा चर्चा गरिएको छ । विगतको द्वन्द्वको प्रभाव अहिले पनि गाउँबस्तीमा नराम्रोसँग परेको देखिन्छ । रित्तिएको गाउँ उजाडिएको ग्रामीण बस्तीले गर्दा खेतीयोग्य भूमि बन्जर भई अरबौँको खाद्यान्न विदेशबाट आयात गर्नु परेको बाध्यात्मक परिस्थिति अहिले नेपालीले भोग्न विवश छन् । मुगु जिल्लामा खाद्यान्नले पारेको समस्या र त्यहाँको उत्पादनले जम्मा तीन महिना मात्र धानिने कठिनपूर्ण जीवन निर्वाहको अवस्थालाई चित्रण गर्नुभएको छ । गरिबीका कारण खाद्यान्न अभावमा मानवीय जीवन नै पेरुङ्गो झैँ भएको छ । मानव जीवनको अवस्थालाई पेरुङ्गोसँग दाँज्न पुग्छन् । निकै कारुणिक र मार्मिक अवस्थाको चित्रण पुस्तकमा पाउन सकिन्छ । दुर्गम पहाडका मानव बस्तीमा खाद्यान्नको जोहोमा झेल्नु परेको समस्या र कठिन मानवीय अवस्थाको बोध गर्न सकिन्छ ।
प्रकृतिको सुन्दर मनोरम दृश्यको काखमा रहेको रारा सिङ्गो कर्णाली बोकेर आन्तरिक र बाह्य पर्यटकको स्वागतमा मग्न रहेको छ । मानव जीवनलाई शक्तिमय र ऊर्जावान् बनाउने पाँचऔँले, यार्चागुम्बा, जटामसी, चिराइतो जस्ता जडीबुटीले सुसज्जित कर्णाली नेपालको उपहार र अमूल्य निधि रहेको भाव प्रस्ट रूपमा लेखकले व्यक्त गर्नुभएको छ । प्रकृतिप्रदत्त बहुमूल्य निधिलाई पहिचान गरी प्रयोगमा ल्याउन सक्ने हो भने नेपाल आर्थिक रूपले सबल र सक्षम हुन सक्ने कुरामा दुई मत नरहेको वास्तविकतालाई नियात्रामार्फत लेखकले प्रस्ट पार्नुभएको छ ।
आफूले यात्रा गरेका ठाउँहरूको प्राकृतिक पर्यावरणसँग नतमस्तक हुँदै आफ्ना भाव र विचारको प्रस्तुति रोमाञ्चक शैलीमा उल्लेख गर्न निकै सफल देखिनुहुन्छ नियात्राकार । प्राकृतिक सौन्दर्यको आनन्दानुभूतिमा रमण गर्दै उसैको रङ्गीन तस्बिरमा आफू स्वयम्लाई भेट्न पुग्नुहुन्छ । विश्वकै सुन्दर प्राकृतिक छटाले सिँगारिएका हिमवत्खण्ड र हिमशृङ्खलाको सौन्दर्यमा नियात्राकार चुर्लुम्म डुब्न पुग्नुभएको छ । तिनैको महिमा गान र महत्वको विश्लेषण लुक्ला, नाम्चे हुँदै होटल एभरेस्ट भ्युबाट सगरमाथा नियाल्दा शीर्षकमा पाउन सकिन्छ । भारी बोक्ने कार्यलाई सहज बनाएको पशुको पीडादायी अवस्थाको वर्णनले पढ्दापढ्दै मनभरि अनगन्ती कारुणिक भाव पैदा हुन्छ । पाठकको मन करुण रसले भारी बन्न पुग्छ । यसले नेपालका हिमाली भेगमा यातायातको पहुँचमा भएको कठिन परिस्थितिको आकलन सहजै गर्न सकिन्छ । भारी बोक्दै हिँडेका अबोध पशु कतै अक्करमा परी मृत्युवरण गरेको छ । अर्कोतर्फ जघन्य चोटले मर्नु न बाँच्नुको दोसाँधमा सास्तीपूर्ण रूपले बाँचेको दयनीय अवस्था कति मर्मस्पर्शी छ । यसरी भारी बोक्ने पशुले खेप्नु परेको कारुणिक दृश्यले मन भक्कानिएर आउने गर्छ । भौगोलिक संरचनाले गर्दा नेपालले भोग्नु परेको बाध्यात्मक परिस्थितिको यथार्थ प्रस्तुतिमा नियात्राकार सक्षम र सफल भएको अनुभूति छर्लङ्ङ हुन्छ । हिमाली क्षेत्रको यात्रा रोमाञ्चक र कठिन दुवै रहेको परिदृश्य सहजै अनुमान गर्न सकिन्छ । अप्ठ्यारा भूबनोटले बाटोमा निम्त्याउने जोखिम र कठिन परिस्थितिमा जनावरको सकसपूर्ण यात्राले आङ नै सिरिङ्ग बनाउने पाठकका मनमा भारी बोकी पर्यटन व्यवसायलाई प्रवर्धन गर्ने कार्यमा सहयोग गरेका पशु र भरियाप्रति दया र करुणाको भाव सिञ्चित हुन पुग्छ । भारी बोक्ने भरिया गधा र खच्चड जस्ता पशु सबैलाई भारी बोक्दाको दुःख र पीडा समान हो । भरियाले आफ्ना विचारलाई व्यक्त गर्छ तर पशुले व्यक्त गर्न नसक्ने हुँदा मानवले पशुमाथि मानवीय धर्म निर्वाह गर्न पनि अपिल गरेको पाइन्छ । मानिसले मानवीय व्यवहार र संवेदना देखाउनुपर्ने शाश्वत सत्यलाई नियात्राकारले इङ्गित गर्नुभएको छ । मानिस, मानवता र मानवीय धर्मबाट कहिल्यै अक्षुण्ण हुन नहुने कुराको सन्देश पनि सुसेलेको पाइन्छ ।
‘गाउँको यात्रा र पानवाली बहिनीको क्यारेमबोर्ड’ शीर्षक नियात्रामा गाउँमा बसोबास गर्ने पराया पनि समयक्रम र व्यावहारिक अन्तरघुलनले आफन्त नै बन्न सक्ने नेपाली समाजको अनुपम उदाहरण प्रस्तुत गरिएको छ । नाता र सम्बन्धले मात्र नभई भावनात्मक सम्बन्धले हातेमालो गर्दै अगाडि बढेका छिमेकी पनि आफन्तकै दर्जामा रहेर मानवीय सम्बन्ध विस्तार गरेको दृष्टान्त प्रिय र लोभलाग्दो छ । मान्छे आफूले बिताएका गाउँठाउँ र आफूले सिर्जना गरेको बस्तीप्रति कति मोहित हुने रहेछ भन्ने कुरा यहाँ देखिन्छ । उमेरसँगै जवानीले नेटो काटेपछि पानवाली चमेलीको व्यापार पनि व्रmमशः खस्किँदै गएको छ । विदीर्ण भएको शारीरिक अवस्थाले व्यापार व्यवसायमा पारेको नकारात्मक प्रभावको वास्तविकता यहाँ झल्किन्छ । जीवनमा समय कति बलवान् छ भन्ने शाश्वत सत्य यहाँ प्रस्ट रूपमा नियाल्न सकिन्छ ।
सरल भाषाशैलीको प्रयोगले पुस्तक बोधगम्य रहेको छ । उखानटुक्का र विम्बको प्रयोगले भाषामा मिठास थपेको छ । नियात्रामा आफ्ना वैयक्तिक गन्थनले खासै तुक नराख्ने हुँदा त्यस्ता कुरालाई स्थान नदिनु नै उचित देखिन्छ ।