• १७ माघ २०८२, शनिबार

पिएसबीसम्मको टेलिभिजनको त्यो यात्रा

blog

२०४२ पुस १४ गतेदेखि नेपाल टेलिभिजनको नियमित प्रसारण सुरु गरिनुअघि नै काठमाडौँका सीमित सम्भ्रान्त परिवारमा टेलिभिजनका सेट भित्रिसकेको थियो । छतमा अग्ला अग्ला डिस एन्टिना राखेर भारतीय दूरदर्शन टेलिभिजन हेर्ने बानी केही सहरिया नेपालीमा परिसकेको थियो । नेपाली टेलिभिजन नै सुरु भएपछि समुदायमा टेलिभिजनप्रति अझ आकर्षण बढ्यो । आफ्ना घरमा टेलिभिजन सेट नभए पनि छिमेकीको घरमा गएर निसङ्कोच कार्यक्रम हेर्न जाने चलन त्यतिबेला थियो । 

त्यतिखेर नेपाल टेलिभिजनले विभिन्न सार्वजनिक स्थलमा सामुदायिक टेलिभिजनको व्यवस्था गरेको थियो । साँझ प्रसारण सुरु भएदेखि अन्त्य नभएसम्म सर्वसाधारण कौतूहलपूर्वक कार्यक्रम हेर्ने गर्दथे । त्यसपछिका दिनमा दैनिक समाचार बुलेटिनका साथै रामायण, महाभारत जस्ता धार्मिक शृङ्खला, नेपाली, पाकिस्तानीलगायत टेलिचलचित्र, हास्य शृङ्खला प्रसारण हेर्न दर्शक प्रायः छुटाउँदैनथे । प्रत्येक शनिबार दिउँसो कथानक चलचित्र प्रसारण भएको बखत सडक नै सुनसान जस्तै हुने गर्दथ्यो । नेपाली भाषा प्रसारित पहिलो रङ्गीन टेलिभिजनको एकछत्र राज करिब १६ वर्षसम्म रह्यो तर विगतको जस्तो स्थिति रहेन । २०५८ सालमा च्यानल नेपाल टेलिभिजनले प्रसारण सुरु गरेपछि निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न कठिन बन्दै गयो । आज विज्ञान र प्रविधिको विकासले स्थिति निकै बदलेपछि नेपाल टेलिभिजनले थप चुनौतीको सामना गर्नु परिरहेको छ ।

नेपाल टेलिभिजनको नियमित प्रसारणको प्रारम्भ नै भिडियो रेकर्डिङबाट भएको थियो । प्रारम्भिक दिनमा अन्तर्राष्ट्रिय समाचारको दृश्य लिन हरेक दिन एक जना व्यक्ति क्यासेट बोकेर काठमाडौँको बलम्बुस्थित नेपाल टेलिकमको कार्यालयमा धाउनु पर्दथ्यो । त्यहाँ मात्र अन्तर्राष्ट्रिय दृश्य रेकर्ड गरिने व्यवस्था थियो । साइकलमा बलम्बुदेखि सिंहदरबारसम्म ल्याइएको उक्त टेपको दृश्य हेर्दै सम्पादकले समाचार बनाउने गर्दथे । उच्च पदस्थ व्यक्ति स्वयम्ले जिल्लामा भएका आफ्नो कार्यक्रमको क्यासेट समाचार कक्षसम्म ल्याइदिन्थे । प्रत्येक दिन विमानस्थल तथा बसपार्कबाट क्यासेट बटुल्न कर्मचारी नै खटाइने गरिन्थ्यो । तत्कालीन राजा, प्रधानमन्त्रीलगायतको विदेश भ्रमणको दृश्य नेपाल पठाउन हजारौँ डलर तिरेर स्याटेलाइटको समय बुकिङ गर्दै निर्धारित समयमा विदेशका टेलिभिजन स्टेसनमा पुग्नु पर्दथ्यो । हाल यसरी दृश्य सम्प्रेषण गर्ने कार्य इन्टरनेटको सुविधा भएको जुनसुकै स्थलबाट तत्कालै गर्न सकिन्छ ।   

नेपाल टेलिभिजनले ४० वर्षको यात्रा क्रममा नेपालको सञ्चार इतिहासमै ऐतिहासिक भूमिका निर्वाह गरेको छ । रेडियोमा सीमित नेपाली समाजलाई श्रव्यदृश्य माध्यमबाट राष्ट्रिय चेतना, भाषा संस्कृति र पहिचानसँग जोड्ने कार्य टेलिभिजनले गरेको छ । दुर्गम क्षेत्रका गाउँदेखि सहरसम्मका सर्वसाधारणलाई सूचना, शिक्षा तथा मनोरञ्जनको माध्यमबाट जोड्नु सबैभन्दा ठुलो उपलब्धि मान्न सकिन्छ । मुलुकमा भएका विभिन्न राजनीतिक परिवर्तनको साक्षी बन्दै आइरहेको नेपाल टेलिभिजनले राष्ट्रिय सङ्कट, प्राकृतिक विपत्ति जस्ता अवस्थामा समेत महìवपूर्ण भूमिका खेल्दै आइरहेको छ । राजनीतिक हस्तक्षेप, स्रोत र साधनको अभावका साथै प्राविधिक सीमितता एवं निजी च्यानलसँगको तीव्र प्रतिस्पर्धाबिच नेपाल टेलिभिजन सार्वजनिक प्रसारणको आफ्नो कर्तव्यमा निरन्तर अघि बढिरहेको छ । 

काठमाडौँबाहिर पहिलो स्टेसन

नेपाल टेलिभिजनको भूसतही प्रसारण काठमाडौँ उपत्यकाबाहिर विस्तार गर्ने लक्ष्य स्थापनाकालदेखि नै थियो । सोही अनुरूप २०५३ सालमा बाँकेमा कोहलपुर प्रसारण केन्द्रको स्थापना गरिएको थियो । तथापि उचित व्यवस्थापन हुन नसक्दा यो स्टेसनबाट प्रसारण ढिलो हुन गएको थियो । २०६१ फागुन १३ गते कोहलपुर प्रसारण केन्द्रमा तत्कालीन नेकपा माओवादीले आगजनी र तोडफोड गरी क्यामरालगायत उपकरण लिएर गएपछि लामो समय सो प्रसारण केन्द्र अवरुद्ध भएको थियो । त्यसपछि २०७४ सालमा मात्र उक्त प्रसारण केन्द्र पुनः सञ्चालनमा आएको थियो ।

एनटिभी कोहलपुर नामबाट परिचित यो च्यानल हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रादेशिक प्रसारक संस्थाका रूपमा सञ्चालन भइरहेको छ । उक्त च्यानलका प्रमुख नीराजन खनालका अनुसार निजी क्षेत्रका आर्थिक गतिविधि खासै नभएका यी प्रदेशका प्रादेशिक कार्यालय, गाउँपालिका तथा नगरपालिकासँगको समन्वयमा कार्यक्रम निर्माण गरी आर्थिक आयआर्जन गर्ने गरेको छ ।

विश्व दर्शकबिच एनटिभी

विश्व समुदायलाई नेपाल र नेपालीका बारेमा सुसूचित गर्ने आँट नेपाल टेलिभिजनले लियो । जस अनुरूप गत कात्तिक २३ गतेबाट नेपालको पहिलो अङ्ग्रेजी टेलिभिजन च्यानलका रूपमा एनटिभी वल्र्ड सुरु हुन पुग्यो । यस च्यानलले नेपालको आधिकारिक च्यानलका रूपमा विश्वभर फैलिन सक्ने र नेपालसम्बन्धी भ्रमलाई चिर्न सक्ने अपेक्षा गरिएको छ । यस च्यानलमार्फत नेपालको आधिकारिक तथा सही समाचार, सूचना र विचारलाई विश्वभर सम्प्रेषण गर्न योगदान पुग्न जाने आशा लिइएको छ । यस च्यानलले विश्वका विभिन्न मुलुकमा अध्ययन, रोजगारलगायत कामका लागि बसोबास गरिरहेका नेपालीलाई पनि समेट्ने लक्ष्य राखेर सोही अनुसार कार्यक्रम जर्तुमा गरिएको पाइन्छ । 

एनटिभी वल्र्डका निर्देशक डा. टङ्क उप्रेती भन्नुहुन्छ, “एनटिभी वल्र्डको डिजिटल प्लेटफर्मप्रति विश्वमा छरिएका दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ ।” सामाजिक सञ्जाल फेसबुक, युट्युब, टिकटक जस्ता माध्यममा ‘अपलोड’ गरिएका समाचार तथा अन्य सामग्री विश्व दर्शकले कत्तिको रुचाएका छन् भनेर पुनरवलोकनको काम भइरहेको बताइन्छ ।  ‘नेपालको विश्व दृष्टिकोण’ नारासाथ सुरु गरिएको यो च्यानलसहित नेपाल टेलिभिजनका अन्य पाँच च्यानल पनि डिजिटल प्लेटफर्ममा आबद्ध गरिएको छ । रेडियो, टेलिभिजन र डिजिटल प्लेटफर्मलाई एकीकृत गर्ने योजना पनि बनाइएको बताइन्छ । 

च्यानल साझेदारी 

निजी टेलिभिजनका रूपमा नेपाल टेलिभिजनलाई लिइन्छ । नेपाल टेलिभिजनको बिहानको प्रसारणमा एक घण्टा समय खरिद गरी सुरु भएको इमेज च्यानलले २०६० असार २९ गतेदेखि बेग्लै च्यानलका रूपमा नेपाली आकाशमा टेलिभिजनका सिग्नल फाल्न थाल्यो । सन्जोगले कान्तिपुर टेलिभिजनको उद्घाटन पनि त्यही दिन भएको थियो । ती दुवै निजी टेलिभिजनको उद्घाटन तत्कालीन युवराज पारस शाहले गर्नुभएको थियो । रेडियो नेपालले २०५२ कात्तिक ३० गते पहिलो पटक एफएम रेडियोको सुरुवात गर्दा पनि विभिन्न निजी प्रसारण संस्थाले समय खरिद गरेर एफएम रेडियो प्रसारणमा साझेदारी गरेका थिए ।  

नेपाल टेलिभिजनको सहायक परियोजनाका रूपमा स्थापित एनटिभी वल्र्डले पहिलो पटक आफ्नै च्यानल साझेदारीको अभ्यास सुरु गरेको हो । नेपाल टेलिभिजन अन्तर्गत सञ्चालनमा रहेका अन्य पाँच वटा च्यानल हाल २४ घण्टा नै सञ्चालनमा छन् तर ती च्यानलका सबै प्रसारण समय पूर्ण रूपमा सदुपयोग हुन सकेका छैनन् । त्यसैले विभिन्न कार्यक्रम पटक पटक पुनः प्रसारण गर्ने गरिएको छ । जसका लागि एनटिभी वल्र्ड र एनटिभी प्लस च्यानलबिच प्रसारण समय साझेदारी गरिएको छ । हाल एनटिभी वल्र्ड डिजिटल प्लेटफर्मबाट २४ घण्टा नै तथा एनटिभी प्लसबाट रातिको समयमा केही घण्टा प्रसारण भइरहेको छ । 

२०६० सालमा एनटिभी मेट्रो च्यानलले मनोरञ्जनलक्षित कार्यक्रम थाल्यो । चीन सरकारले मेट्रो च्यानल स्थापनाका लागि सहयोग उपलब्ध गराएको थियो । सोही सहयोग अन्तर्गत सिंहदरबारभित्र भव्य भवनसहित आधुनिक स्टुडियो निर्माण गरी उपकरणसमेत जडान गरिएको थियो । पछि यसको नाम एनटिभी प्लसका रूपमा परिवर्तन गरिएको थियो । 

अब सार्वजनिक सेवा 

रेडियो नेपाल तथा नेपाल टेलिभिजनलाई समायोजन गरी सार्वजनिक सेवा प्रसारण (पिएसबी) मा गत वर्ष मात्रै रूपान्तरण गरिएको छ । सङ्घीय संसद्ले सार्वजनिक सेवा प्रसारण ऐन पारित गरेपछि भिन्न कार्य वातावरण तथा कानुनी संरचनामा रहेका रेडियो नेपाल र नेपाल टेलिभिजनबिच समायोजन सम्भव भएको हो । 

ऐन, २०८१ कात्तिक २३ गतेबाट प्रारम्भ भएको थियो । दुई प्रमुख प्रसारण संस्थाबिच एकीकरण भएर पिएसबी लागु भए पनि आवश्यक कानुन तयार गरिएका थिएनन् । नेपालमा सार्वजनिक सेवा प्रसारण ऐन जारी गर्दा स्पष्ट गर्नुपर्ने कतिपय कुरा अधुरो र अपुरो छोडिएको थियो । कर्मचारीको सेवा सर्त र सुविधासम्बन्धी विनियमावली, आर्थिक प्रशासनसम्बन्धी विनियमावलीलगायत मसौदा तयार गरी सम्बन्धित मन्त्रालयमार्फत कार्यान्वयन तहमा प्रक्रिया अघि बढाइँदै छ । 

पिएसबीमा गए पनि नेपाल टेलिभिजनको चुनौती चुलिँदै छ । नेपालमै टेलिभिजनको सङ्ख्या २५२ पुगेको छ । विज्ञान तथा प्रविधिको पछिल्लो विकास क्रमसँगै नेपाल सरकारमा दर्ता भएका अनलाइन समाचारको सङ्ख्या आठ हजार ५२ पुगिसकेको छ । यसमध्ये धेरैका युट्यब च्यानलमार्फत सूचना तथा मनोरञ्जनका सामग्री पस्किरहेका छन् । यसर्थ पनि नेपाल टेलिभिजनले विगतमा एक्लै श्रव्यदृश्य माध्यमका रूपमा रहँदा कमाएको साख पुनः फर्काउने चुनौती नेपाल टेलिभिजनलाई छ । 

स्रोतको खाँचो

कोभिड–१९ पछिको आर्थिक मन्दीले विज्ञापनको बजार सन्तोषप्रद छैन । विज्ञापनको बजार डिजिटल बजारतर्फ केन्द्रित भएको छ । जसले नेपाल टेलिभिजनको विज्ञापनसमेत ह्वातै घटेको छ । सीमित सरकारीबाहेक निजी क्षेत्रको विज्ञापनमा कमी आई आम्दानी घटेको छ । टेलिभिजनका ‘प्राइम टाइम’ विज्ञापनबिनाका छन् । सार्वजनिक सेवा प्रसारणमा परिणत भइसकेपछि नेपाल टेलिभिजनका लागि सरकारले अनुदान नदिनाले त्यसको प्रत्यक्ष असर टेलिभिजनको प्रसारणमा परिरहेको छ । सार्वजनिक सेवा प्रसारण संस्था स्थापनापछिको पहिलो बजेटमा समेत यसलाई सम्बोधन गरिएको थिएन । स्रोतको स्पष्ट र दिगो व्यवस्था नभई सार्वजनिक सेवा प्रसारणको स्थायित्व कायम हुन सक्दैन । 

सार्वजनिक सेवा प्रसारण अन्तर्गतका  रेडियो तथा टेलिभिजनका लागि भरपर्दो आर्थिक स्रोत जरुरी मानिन्छ । सार्वजनिक प्रसारण सेवा अन्तर्गत विभिन्न मुलुकमा रहेका रेडियो तथा टेलिभिजन सञ्चालनका लागि लाइसेन्स शुल्क, करबापत प्राप्त रकम, अनुदान आदि प्रदान गर्ने गरिएको छ । अमेरिकामा सार्वजनिक प्रसारण सेवाका लागि प्रमुख आर्थिक स्रोतका रूपमा आर्थिक सहयोग, अनुदान तथा सदस्य रहेका स्टेसनसँग लिइने शुल्क रहेको छ । क्यानडाको सिबिसी टेलिभिजन तथा रेडियो क्यानडाका लागि सरकारले कोष प्रदान गर्दछ । बेलायतस्थित ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन बिबिसीलाई विश्वव्यापी लाइसेन्स शुल्कबाट कोष उपलब्ध गराइने गरिएको छ तर नेपालमा स्रोतका लागि दिगो व्यवस्था गरिएको छैन । सार्वजनिक सेवा प्रसारण संस्थाले सार्वजनिक प्रसारणबाहेक व्यावसायिक प्रसारण सेवासमेत सञ्चालन गर्न सक्ने व्यवस्था भए पनि यसबारे ठोस पहल हुन सकेको छैन । व्यावसायिक प्रसारण सेवाबाट प्राप्त आम्दानी सार्वजनिक सेवा प्रसारणको विकास र विस्तारमा प्रयोग गर्न सकिने व्यवस्थाको कार्यान्वयन कहिले हुने हो प्रतीक्षाको विषय बनेको छ । 

सार्वजनिक सेवा प्रसारणसम्बन्धी ऐनमा सङ्घीय, प्रदेश र स्थानीय सरकारको लगानी, संस्थाको आम्दानी र वैदेशिक सहायताले सार्वजनिक सेवा प्रसारण सञ्चालन गरिने कुरा उल्लेख गरिएको भए पनि कसले कति लगानी बेहोर्ने भनी स्पष्ट छैन । नेपाल टेलिभिजनले सरकार तथा बजार दुवैको दबाबबिना सर्वसाधारणलाई सूचना प्रवाह गर्न सकेमा मात्र वास्तविक रूपमा सार्वजनिक प्रसारण सेवा बन्न सक्दछ ।

स्वतन्त्र र स्वायत्त

नेपाल टेलिभिजनले आफ्ना च्यानलको सङ्ख्या बढाउनुभन्दा पनि ती च्यानल कति दर्शकले हेरिरहेका छन, त्यसले ठुलो महत्व राख्दछ । विभिन्न च्यानलमा प्रसारण गरिएका विविध विषयवस्तुले मुलुक परिवर्तनमा के कस्तो मद्दत ग¥यो त्यसको पनि मूल्याङ्कन हुनु आवश्यक छ ।

तथापि नेपाल टेलिभिजन र रेडियो नेपाललाई पिएसबीमा लगिए पनि प्रश्न स्वतन्त्रता र  स्वायत्तताको छ । यो निकै महत्वपूर्ण प्रश्न हो । सम्पादकीय स्वतन्त्रता कायम गरी जनताको तटस्थ, निष्पक्ष, तथ्यपरक र वस्तुनिष्ठ सूचना, समाचार तथा मनोरञ्जनात्मक कार्यक्रम हेर्न पाउने अधिकारको रक्षा हुनु पर्दछ । 

यसलाई राजनीतिक तथा सरकारी हस्तक्षेपबाट मुक्त गर्दै स्वतन्त्र र स्वायत्त माध्यमका रूपमा स्थापित गर्न संसद्ले नै पहल गर्नु पर्दछ । नेपाल टेलिभिजन लोकतान्त्रिक समाजको मेरुदण्ड बन्नु पर्दछ । यसले सूचना, शिक्षा र संस्कृतिको माध्यमबाट जनतालाई सशक्त बनाउने जिम्मेवारी पूरा गर्नु पर्दछ । व्यावसायिक नाफाभन्दा माथि उठेर जनहित, राष्ट्रिय पहिचान र सामाजिक समावेशितालाई प्राथमिकता दिनु यसको सबैभन्दा ठुलो दायित्व हुनु पर्दछ ।

समग्रमा सार्वजनिक प्रसारण सेवालाई स्वतन्त्र, उत्तरदायी र आधुनिक बनाउँदै संस्थागत सुधार गर्नु जरुरी देखिएको छ । सम्पादकीय स्वतन्त्रता, डिजिटल रूपान्तरण र जनउत्तरदायित्वलाई प्रमुख प्राथमिकता दिनु आजको आवश्यकता हो । संसद्को प्राथमिकतामा सार्वजनिक प्रसारण सेवा सशक्त बने मात्र यसले लोकतन्त्र, सामाजिक न्याय र राष्ट्रिय एकताको पक्षमा आफ्नो ऐतिहासिक भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न सक्ने कुरामा आशावादी हुन सकिन्छ ।