• १७ माघ २०८२, शनिबार

चुनौती थप्दै गुप्ता र यादव

blog

जीवछ यादव 

लहान, माघ १७ गते  । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा जेनजी आन्दोलनको अगुवाइ गरेका बब्लु गुप्ता र शिवशङ्कर यादवले सिराहा निर्वाचन क्षेत्र नम्बर १ र २ मा पुराना दलका उम्मेदवारलाई चुनौती  थप्नुभएको छ । 

सिराहाको चार वटै निर्वाचन क्षेत्रमा जेनजी आन्दोलनमा सहभागी युवाको उम्मेदवारी रहे पनि सिराहा निर्वाच क्षेत्र नम्बर १ मा निवर्तमान युवा तथा खेलकुदमन्त्री रहनुभएका बब्लु गुप्ताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएपछि पूर्वमन्त्रीसमेत रहनुभएका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामचन्द्र यादव, नेपाली कांग्रेसका उम्मेदवार रामसुन्दर चौधरी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेका उम्मेदवार रामशङ्कर यादव, जनाता समाजवादी पार्टीका उम्मेदवार सत्यनारायण यादव र जनमत पार्टीका उम्मेदवार रामस्वरूप चौधरीलाई चुनावी प्रतिस्पर्धामा चुनौती थपिएको छ । 

जेनजी आन्दोलनका अर्का अगुवा शिवशङ्कर यादव सिराहा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र यादव, नेकपा एमालेका उम्मेदवार नवीनकुमार यादव र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मुक्तिनारायण सिंह, जनता समाजवादी पार्टीका उम्मेदवार सञ्जीव यादव र जनमत पार्टीका उम्मेदवार विनोदकुमार यादवलाई चुनौती दिइरहनुभएको छ । 

जेनजी आन्दोलनमा सिराहाका तीन अगुवाहरूमध्ये बब्लु गुप्ता र शिवशङ्कर यादव प्रत्यक्ष उम्मेदवार हुनुभएको छ भने पुरुषोत्तम यादव समानुपातिक सूचीमा समेटिनुभएको छ । जेनजी आन्दोलनका तिनै जना अगुवाको पहलमा वर्षांैदेखि हुन नसकेका अलपत्र परेको सिराहा–धनुषा जोड्ने कमला नदीमा अस्थायी समाधानको लागि डाइभर्सन, लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा रजिस्ट्रेसन र स्थानीय (पालिका) स्तरमा भएका अनियमितताको विरोधमा खबरदारीका कारण उहाँहरूप्रति मतदाताको झुकाव बढ्न थालेको हो । 

नागरिक अगुवा दिनेश यादव भन्नुहुन्छ, “सिराहाका हरेक परिवर्तनको आन्दोलनमा सहादात दिएको जिल्ला हो । जेनजी आन्दोलनमा सिराहाका तीन युवा बब्लु गुप्ता, शिवशङ्कर यादव, पुरुषोत्तम यादवले भदौ २३ र २४ गतेको आन्दोलनमा ठुलो योगदान गरेकै कारण आफ्नो छुट्टै पहिचान बनाएका छन् । लहान नगरपालिका वडा नम्बर १५ का विजय चौधरीले सहादत नै प्राप्त गरे ।”