• १७ माघ २०८२, शनिबार

चुनावी प्रतिस्पर्धामा उत्रिए महिला

blog

धम्बोझी समाचारदाता 

धम्बोझी, माघ १७ गते । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि बाँकेमा ५६ जनाले उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका छन् । चुनावी दौडमा प्रतिस्पर्धा गर्ने अधिकांश पुरुष उम्मेदवार छन् । यहाँका चार महिलाले भने हिम्मतका लागि प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । 

पुरुष मात्रै राजनीतिमा सक्रिय हुन सक्ने र महिलाले नेतृत्व गर्न नसक्ने भन्ने मानसिकता चिर्दै चार महिला प्रतिनिधि सभा सदस्यका लागि निर्वाचनमा सहभागी भएका हुन् । धेरै पुरुष उम्मेदवारका बिच उम्मेदवारी दिँदै चार महिलाले निर्वाचन लड्ने साहस देखाएका छन् ।

बाँके–१ बाट कृष्णा केसी (नमुना) तथा बाँके–३ बाट विद्या शर्मा, भूमि महतारा र भगवती शाहले उम्मेदवारी दिनुभएको छ । केसीले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट, शर्माले आमजनता पार्टी (एकल चुनाव चिह्न) बाट, महतारा नेपाल मजदुर किसान पार्टी र शाहले स्वतन्त्र रूपमा उम्मेदवारी दिनुभएको छ ।

बाँकेको राप्तीसोनारी गाउँपालिका–९, ढकेरीनिवासी केसी लुम्बिनी प्रदेश सभा सदस्य हुनुहुन्थ्यो । प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन उहाँले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिनुभएको छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट प्रदेश सभा सदस्य बनेकी केसीले पदमा रहँदा/नरहँदा जनताको सेवामा खटिएको दाबी गर्नुभयो । उहाँले प्रदेश सभामा रहँदा शिक्षा, स्वास्थ्य र सामाजिक न्यायका क्षेत्रमा काम गरेको दाबी गर्दै प्रतिनिधि सभामा पुग्दा त्यसलाई अझ व्यापक रूपमा अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

विसं २०७९ को निर्वाचनमा प्रदेश सभा सदस्यमा बाँके–१ मा तत्कालीन गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार केसी निर्वाचित हुनुभएको थियो । उहाँले एक हजार १३७ मतान्तरले विजय हासिल गर्नुभएको थियो । केसीले नौ हजार १०३ मत पाउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरीले सात हजार ९६६ मत पाउनुभएको थियो । यसै गरी निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका तिनै जना महिला स्थानीय स्तरमा चर्चित अनुहार हुन् । 

आमजनता पार्टीबाट उम्मेदवारी दिएकी नेपालगन्ज उपमहानगरपालिका–१६, जैसपुरकी शर्मा स्थानीय स्तरमा सामाजिक अभियानमा सक्रिय हुनुहुन्छ । शर्माले जनताको दैनिक समस्या संसद्मा पु¥याउने उद्देश्यले उम्मेदवारी दिएको बताउनुभयो । 

बाँकेको खजुरा गाउँपालिका–३, सिर्जनाटोल निवासी महतारा नेपाल मजदुर किसान पार्टीको राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँले सामाजिक समस्या, मतभेद, उत्पीडनलगायतका मुद्दा उठाउँदै आउनुभएको छ । 

यसै गरी बाँकेको बैजनाथ गाउँपालिका–४, बानियाँभार निवासी शाहले स्वतन्त्र रूपमा उम्मेदवारी दिँदै समाजको स्तर माथि उकास्न आफू निर्वाचनमा होमिएको दाबी गर्दै आउनुभएको छ । जनताको वास्तविक समस्यालाई उठाएर सुसज्जित समाज निर्माण गर्न आफ्नो उम्मेदवारी भएको उहाँले बताउनुभयो ।