• १७ माघ २०८२, शनिबार

हिमपातमै मतदान स्थल अनुगमन

blog

मतदान स्थल अनुमगन गर्नुहुँदै मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बराललगायतका प्रतिनिधि । तस्बिर : राजन रावत

हुम्ला समाचारदाता

हुम्ला, माघ १७ गते । हिमाली जिल्ला हुम्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्धारण गरिएका मतदान स्थलको अनुगमन गरिएको छ । 

मतदान स्थलको भौतिकलगायत अन्य अवस्था बुझ्न मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालको नेतृत्वमा शुक्रबार अनुगमन गरिएको हो । शुक्रबार सिमकोट गाउँपालिका–५ को भीमसेन आधारभूत विद्यालय मतदान स्थल र वडा नं. ६ को कालाशिल्ता आवि मतदान स्थलको अनुगमन गरिएको मुख्य निर्वाचन अधिकृत बरालले बताउनुभयो । हिउँमै मतदान स्थल अनुगमन गरिएको उहाँले बताउनुभयो । दुवै मतदान स्थलको अवस्था सन्तोषजनक रहेको र मतदान गराउन कुनै कठिनाइ नभएको उहाँले बताउनुभयो । जिल्लाका ६० वटा मतदान स्थल र ६४ वटा मतदान केन्द्र रहेको र सम्भव भएसम्म सबै मतदान स्थलमा अनुगमन गर्न पुग्ने प्रतिबद्धता उहाँले जनाउनुभयो । 

हिउँ बिलाए सिमकोट आसपास र दक्षिणी क्षेत्रका पाँच वटा गाउँपालिकाका मतदान स्थलमा अनुगमनमा जाने योजना रहेको बताउँदै उहाँले उत्तरी नाम्खाका मतदान स्थलमा भने तत्काल जान सकिने अवस्था छैन भन्नुभयो । “हाललाई उत्तरी नाम्खाका सबै मतदान स्थल अनुगमन गर्न जान सकिँदैन । लिमीका तीन वटा मतदान स्थलमा त हेलिकोप्टरबाहेक अन्य किसिमले अनुमगन गर्न जान सकिने अवस्था छैन ।”