साहारा लिम्बू
फुङलिङ, माघ १७ गते । ताप्लेजुङ जिल्ला अदालतले मध्ये ४३ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । चालु आर्थिक वर्षको ६ महिनामा जिम्मेवारी सरी आएका र नयाँ लगतका रूपमा दर्ता भएका गरी जम्मा तीन सय ७० थान मुद्दामध्ये एक सय ६० थान मुद्दा फर्छ्यौट गरेको हो ।
जिम्मेवारी सरी आएका एक सय ५९ र नयाँ लगतका रूपमा दर्ता भएका दुई सय ११ मुद्दामध्ये क्रमशः ८६ थान जिम्मेवारी सरी आएका र ७४ थान नयाँ लगतका मुद्दा फर्छ्यौट भएको ताप्लेजुङ जिल्ला अदालतका श्रेष्तेदार शम्मीकपुर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार हाल अदालतमा बाँकी रहेका दुई सय १० थान मुद्दा कारबाहीको प्रक्रियामा रहेको छ ।
फर्छ्यौट भएका मुद्दामध्ये ८६ थान ६ महिना भित्रका, ५३ थान ६ महिना देखि एक वर्ष भित्रका, १६ थान एक वर्ष देखि १८ महिना भित्रका तथा पाँच थान मुद्दा १८ महिनादेखि दुई वर्ष भित्रका रहेका छन् ।
यस्तै, अदालतमा कारबाहीको क्रममा रहेका मुद्दामध्ये नयाँ लगतका रूपमा दर्ता हुन आउने बाहेक एक सय ३७ थान मुद्दा ६ महिना भित्रका, ५७ थान मुद्दा ६ महिनादेखि एक वर्ष भित्रका, १५ थान मुद्दा एक वर्षदेखि १८ महिना भित्रका र एक थान मुद्दा १८ महिनादेखि दुई वर्ष भित्रका रहेका छन् । दुई वर्ष नाघेका मुद्दा भने नरहेको अदालतले जानकारी दिएको छ ।