इतिहास शिरोमणि बाबुराम आचार्य (विसं १९४४–२०२९) बहुमुखी प्रतिभा सम्पन्न अविस्मरणीय राष्ट्रिय व्यक्तित्वका रूपमा स्थापित हुनुहुन्थ्यो । विशेष गरी ऐतिहासिक तथ्यको खोज, अध्ययन–अनुसन्धान र विषयको सत्यापनका माध्यमबाट उहाँले नेपालको इतिहासको क्षेत्रमा आफ्नो तर्फबाट अतुलनीय र अविस्मरणीय योगदान दिनुभएको छ । विसं २००८ मा राजा त्रिभुवनबाट ६४ वर्षको उमेरमा उहाँ ‘इतिहास शिरोमणि’ उपाधिले सम्मानित हुनुभएको हो । उहाँ ‘इतिहासका गुरु’ का रूपमा पनि चर्चित व्यक्तित्व हुनुहुन्छ । यति हुँदाहुँदै पनि उहाँले इतिहासका अतिरिक्त अन्य विविध विधामा सशक्त रूपमा आफ्नो छाप छोड्नुभएको यथार्थ यहाँ संस्मरणीय हुन्छ ।
विसं १९६३ मा ‘सुन्दरी’ पत्रिकामा ‘मालिनी विलास’ शीर्षकको उहाँको पहिलो लेख प्रकाशित भएको पाइन्छ । तुलनात्मक सुन्दर काण्ड (२००२), पुराना कवि र कविता (२००३) जस्ता उहाँको साहित्यिक कृतिले उहाँको समालोचकीय व्यक्तित्वको राम्रो परिचय दिन सकेको छ भने ‘नेवाः, नेवाः भाय् व संस्कृति’ शीर्षकको निबन्धात्मक कृति अनि ‘बाबुराम आचार्यका कविता’ शीर्षकका कृतिले उहाँको निबन्ध–लेखन र काव्य–सिर्जनासम्बन्धी प्रतिभा पक्षमाथि गहन प्रकाश पार्ने काम गरेको छ ।
इतिहासमा विध्वंसको कुरा पनि हुन्छ तर साहित्यले विध्वंसलाई कहिल्यै प्रश्रय दिँदैन । साहित्यले कुनै पनि देश–काल र तत्कालीन वातावरण आदिको समेत प्रतिनिधित्व गरिरहेको हुन्छ । साहित्यले मर्यादालाई आत्मसात् गर्छ र यो सदैव विध्वंसभन्दा निर्माणतर्फ अग्रसर हुन्छ । इतिहास घटनाप्रधान हुन्छ भने साहित्य अनुभूतिप्रधान हुन्छ । यस तथ्यको सापेक्षतामा पनि बाबुराम आचार्यका प्रकाशित पुस्तकहरूलाई हेर्नु श्रेयस्कर हुन्छ । उहाँलाई केवल इतिहासकारका रूपमा लिइनु र राजा त्रिभुवनले ‘इतिहास शिरोमणि’ उपाधिले विभूषित गरिदिएको कारणले उहाँलाई इतिहासको विद्वान्का रूपमा मात्र लिइनु त्यति श्रेयस्कर मान्न सकिँदैन । निश्चय पनि उहाँ एउटा बहुमुखी प्रतिभा सम्पन्न राष्ट्रिय व्यक्तित्व हुनुहुन्थ्यो । यसलाई मनन गर्दा उहाँ ऐतिहासिक विधाका व्यक्तित्व मात्र नभएर नेपालको साहित्यिक क्षेत्रका पनि एउटा सशक्त एवं अविस्मरणीय हस्ताक्षर हुनुहुन्छ भन्ने तथ्यलाई सबैले राम्ररी आत्मसात् गर्नु आवश्यक छ ।
यसका अतिरिक्त जीवनी लेखनका क्षेत्रमा समेत उहाँले आफ्नो क्षमताको राम्रो परिचय दिनुभएको थियो । ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी’ शीर्षकको उहाँको कृतिले यस तथ्यमा मनग्गे प्रकाश पारेको छ । ‘नेपालको सांस्कृतिक परम्परा’ (२०५४) शीर्षकको उहाँको कृतिले नेपाली संस्कृति, रीतिरिवाज र परम्परामा आधारित मौलिक संस्कृतिको जीवन्त परिचय दिन सकेको छ । उहाँ एउटा कुशल सम्पादक पनि हुनुहुन्थ्यो । सम्पादन मात्र होइन सम्पादन गरिएका विषयवस्तुको समेत राम्ररी सम्परीक्षण गरी सत्य र यथार्थ पक्षलाई विश्वसनीय रूपमा पाठकसामु राखिदिने राम्रो परिचय ‘बडामहाराजधिराज पृथ्वीनारायण शाहको दिव्य–उपदेश’ शीर्षकको उहाँ संलग्न रहनुभएको सहसम्पादित कृतिबाट पाउन सकिन्छ । यसलाई मनन गर्दा भाषा, साहित्य, संस्कृति र इतिहास लेखन आदिमा समेत उहाँभित्र अन्तर्निहित साहित्यिक व्यक्तित्वको छाप पाउन सकिन्छ । उहाँले प्रयोग गर्ने गरेका सार्थक शब्द, वाक्य समूह तिनले वहन गर्न सकेका शैली र भावपक्षले मनग्गे प्रकाश पार्ने गरेका छन् । उदाहरणका लागि २०२८ साल वैशाख महिनाको मधुपर्कमा प्रकाशित ‘गोरखापत्रको उत्थान’ शीर्षकको आलेख अनि ‘जुनेली’ मासिकमा प्रकाशित ‘घोडेजात्राको नेवार’ शीर्षकको आलेख भाषा, शैली, भाव र विचारको उत्कृष्टता एवं सरल र सरसयुक्त गुणले पनि सुसज्जित छन् । कतिपय पत्रपत्रिकामा उहाँका यस किसिमका अति महìवपूर्ण आलेखहरू प्रकाशित छन् । तिनलाई सङ्गृहीत गरी पुस्तकका रूपमा प्रकाशित गर्न सकिएमा यो निश्चय पनि नेपाली वाङ्मय क्षेत्रका लागि ठुलो उपलब्धि मात्र होइन तिनले कालजयी सामग्रीको रूपमा स्थापित हुन सक्ने गुणवत्ता वहन गर्न सक्ने देखिन्छ । उहाँका देश र देशबाहिर पनि प्रकाशित हुन पुगेका यस किसिमका रचना सङ्कलित गरी प्रकाशमा ल्याइनु आवश्यक पनि छ ।
विसं २०२० मा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको मानार्थ सदस्यको जिम्मेवारी वहन गर्नुभएका बाबुराम आचार्य यही वर्ष त्रिभुवन प्रज्ञा पुरस्कारद्वारा सम्मानित व्यक्तित्व हुनुभयो । उहाँ विसं २०२७ मा गोरखा दक्षिणबाहु दोस्रोबाट विभूषित हुनुभएको थियो । सन् १९७३ मार्च १२ तारिख (विसं २०२९ फागुन २९) मा उहाँको संस्मरणात्मक हुलाक टिकट पनि प्रकाशित भएको पाइन्छ । उहाँका नेपालको सङ्क्षिप्त वृत्तान्त (२००२), अब यस्तो कहिल्यै नहोस् (२०५५), ‘चीन तिब्बत र नेपाल’ (२०५९), ‘श्री ५ प्रतापसिंह शाह’ (२०६०), प्राचीनकालको नेपाल (२०६३), जनरल भीमसेन थापा : यिनलाई मैले जस्तो देखेँ (२०६५), ‘जनरल भीमसेन थापा : यिनको उत्थान र पतन’ (२०६९), जस्ता महत्वपूर्ण ऐतिहासिक कृति प्रकाशित छन् ।
चाहे इतिहासप्रधान पुस्तक होस् वा साहित्यसम्बन्धी पुस्तक नै किन नहोस् यी सबैमा उहाँले जनसाधारणको भाषालाई ध्यानमा राखी यसको महत्वको सापेक्षतामा आफ्नो लेखनलाई अघि बढाउनुभएको थियो । उहाँका निबन्ध, कविता, समालोचना र भाषासम्बन्धी विविध रचनाको अध्ययन गर्दा तिनले साहित्य रचनातर्फको नयाँ युगलाई स्पर्श गर्न सकेको पाइन्छ । ‘तुलनात्मक सुन्दर काण्ड’ र ‘पुराना कवि र कविता’ जस्ता उहाँका साहित्यिक कृतिलाई वरिष्ठ समालोचक ताना शर्मा (तारानाथ शर्मा) ले ‘वैज्ञानिक अनुसन्धानका पहिलो नमुना’ का रूपमा चर्चा गरेको पाइन्छ । ‘नेपाली साहित्यको इतिहास’ नामक उहाँको कृतिमा उहाँले यो तथ्य उल्लेख गर्नुभएको थियो ।
बाबुराम आचार्यको साहित्य सिर्जनामा साहित्यसम्बन्धी यथार्थको सूक्ष्म रूपमा तार्किक व्याख्या–विश्लेषण गरिएको पाइन्छ । भाव, विचार र यथार्थ पक्ष अनि उच्च चिन्तनमा आधारित कर्मशक्तिको सार्थक उपलब्धिको गुणवत्ता उहाँका अनेकौँ साहित्यसम्बन्धी रचनामा पाइन्छ । चाहे इतिहास विषयक पुस्तक हुन् वा साहित्यसम्बन्धी विविध विषयका पुस्तक हुन् तिनमा उहाँको सिर्जनात्मक आत्मा प्रतिविम्बित भएको हुन्छ । कुनै पनि विधाका रचना वा कृतिलाई व्यवस्थित अनि विश्वसनीय किसिमले लेख्नु र प्रकाशन गर्नु उहाँको कृतिगत विशेषताकै रूपमा रही आएको पाइन्छ । नेपाली भाषा, साहित्य, संस्कृति र इतिहासलाई मर्न दिनु हुँदैन, यसलाई जोगाएर राख्नु पर्छ । यो राष्ट्रको धरोहर हो र यो ज्यादै महत्वपूर्ण हुन्छ र रहन्छ भन्ने मान्यताले नै उहाँले जीवनपर्यन्त आफूलाई यसै दिशामा निःस्वार्थ रूपमा क्रियाशील तुल्याउनु भयो ।
अध्ययन, अनुसन्धान र लेखनमा अविरल रूपमा क्रियाशील हुँदाहुँदै ५२ वर्षको उमेर टेक्दा नटेक्दै उहाँका दुवै आँखा नराम्ररी धमिलिँदै गए । केही वर्षपछि उहाँका दुवै आँखाको ज्योति पूर्ण रूपमा गुमे पनि उहाँले आफ्नो खोज, अध्ययन, अनुसन्धान र लेखनलाई त्याग्नुभएन । उहाँको जानकारीमा रहेका कतिपय सत्य तथ्यलाई आफूले भन्ने अनि अरूलाई लेख्न लगाई त्यसलाई प्रकाशन गर्ने गराउने कार्य पनि उहाँले गर्नुभयो । माथि उल्लेख गरिएको ‘घोडेजात्राको नेवार’ शीर्षकको उहाँको आलेख पनि यसै गरी तयार भई प्रकाशनमा आएको थियो । यो रचनामा पहाँचरे, घोडेजात्रा र नेवार जातिका संस्कृति र विशेषताका पक्षमा महत्वपूर्ण प्रकाश पारिएको पाइन्छ । यस किसिमले पनि उहाँका अनेकौँ महत्वपूर्ण रचना पत्रपत्रिकामा प्रकाशित भएका छन् ।
असाधारण र अद्भुत किसिमको उहाँको स्मरणशक्तिको धेरैले प्रशंसा गरेका छन् । आँखा नधमिलिनुअघि र दुवै आँखाको ज्योति पूर्ण रूपमा गुम्नुअघि नै शोधखोज र अध्ययन गरेका शिलालेख, ताम्रपत्र र अन्य विविध विषयलाई आफ्नो मन र मस्तिष्कमा उहाँले सुरक्षित राख्नुभएको थियो । खास गरी उहाँले राणाकालको अनुदारवादी शासन–व्यवस्थाको समयमा गरेका अध्ययन–अनुसन्धानका विविध पक्ष नै पछि गएर विविध महत्वपूर्ण पुस्तकका रूपमा प्रकाशित हुन पुगे । मन र मस्तिष्कमा सुरक्षित रहेका विषयलाई अत्यन्तै ध्यान दिएर लेख्ने–लेखाउने कार्यमा उहाँ अविरल रूपमा सक्रिय रहनुभयो । जीवनको पूर्वार्धतिर साहित्य सिर्जना र प्रकाशनतर्फ अग्रसर हुनुभएका बाबुराम आचार्यको १९९३ मा ‘सुन्दरी’ पत्रिकामा पहिलो लेख प्रकाशित हुनु, २००२ मा ‘तुलनात्मक सुन्दर काण्ड’ नामक समालोचनात्मक कृति प्रकाशित हुनु अनि धेरैजसो कृति राणाशासनको अन्त्यपछि मात्र प्रकाशित हुनु र उहाँभित्र अन्तर्निहित इतिहासप्रतिको उत्सुकता पनि विशेष गरी २००७ सालको परिवर्तनपछि नै आएर सक्रिय हुन पुगेको यथार्थलाई मनन गर्दा पनि उहाँको पहिलो आकर्षण र रुचि साहित्य नै बन्न पुगेको यथार्थ घामजत्तिकै छर्लङ्ग छ । यो यथार्थलाई कसैले लुकाएर लुक्न सक्दैन । उहाँले नेपाली इतिहासको क्षेत्रमा मात्र होइन नेपाली वाङ्मयको क्षेत्रमा नै अविस्मरणीय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँका सिर्जनाले देश र समाजलाई बढीभन्दा बढी लाभ प्रदान गर्ने क्षमता वहन गरेका छन् । उहाँले जे जति लेख्नुभएको छ, ती आत्मविवेकमा आधारित भएर लेखिएका छन् र प्रचारमुखीबाट सदैव टाढा राखेर लेखिएका छन् । उहाँले धेरै लेख्नुभयो तर उहाँका बारेमा अलिकति पनि लेखिएको छैन–पाइँदैन । उहाँका समग्र ऐतिहासिक र साहित्यिक कृतिहरूले पाउन सक्नुपर्ने व्यावहारिक सत्कार पाउन सकेका छैनन् । यसको अभावमा उहाँको अझै सही र समग्र मूल्याङ्कन हुन सकेको मान्न सकिँदैन ।
इतिहास शिरोमणि, इतिहासका गुरु, त्याग र तपस्याका प्रतिमूर्ति, ऐतिहासिक व्यक्तित्व आदि शाब्दिक प्रशंसाले मात्र उहाँको सही मूल्याङ्कन हुन सक्दैन किनभने उहाँ इतिहास विषयमा मात्र सीमित हुनुभएको छैन । विविध विधामा कलम चलाएर विविध किसिमका सारगर्भित कृति उहाँले नेपाली समाजलाई उपहार दिनुभएको छ । उहाँका प्रकाशित सबै कृतिको सही मूल्याङ्कन हुनु आवश्यक छ । उहाँका प्रकाशित रचनाको खोज–अध्ययन गर्ने–गराउने र त्यसलाई पुस्तकको रूपमा प्रकाशमा ल्याउने काममा राष्ट्र र सम्बन्ध अन्य पक्षले पनि विशेष उत्सुकतासहितको तत्परता सञ्चालन गर्नु पनि त्यत्तिकै आवश्यक छ । यो आवश्यकतालाई राम्ररी मनन गर्दै उहाँका महत्वपूर्ण रचना सङ्कलित गरी त्यसको प्रकाशनका माध्यमबाट उहाँको देश र समाजप्रतिको त्याग र समर्पणको सर्वाङ्गपूर्ण परिचय दिन सकिएको स्थितिमा नै उहाँप्रति सही सम्मान ठहरिन सक्छ । समय छँदै सबै जिम्मेवार पक्षले यस तथ्यतर्फ गहन दृष्टि दिनु आवश्यक छ । यसो गर्न सकिएमा नै राष्ट्रिय व्यक्तित्व बाबुराम आचार्यप्रति सही सम्मान ठहरिने छ ।