गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ १७ गते । नेपालस्थित अमेरिकी दूतावासले आममानिसमा डिजिटल सिर्जनालाई रचनात्मक र आर्थिक आम्दानीसँग जोड्ने उद्देश्यसहित क्रिएटर्स मेला–२०२६ को आयोजना गरेको छ । ‘भिजन टु भेन्चर’ नारासहित चितवनबाट सुरु भएको क्रिएटर्स मेला शुक्रबारदेखि भने काठमाडौँमा सञ्चालन गरिएको हो । चितवन र नेपालगन्जको सक्रिय सञ्चालनपछि दूतावासले काठमाडौँमा शनिबारसम्म दुई दिन काठमाडौँमा डिजिटल सिर्जनामा रमाउनेका लागि आयोजना गरेको दूतावासले जनाएको छ ।
क्रिएटर मेलाले नेपालको रचनात्मक अर्थतन्त्रको विकासलाई सघाउने अपेक्षा राखेको दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले जानकारी दिनुभयो । मेलाले डिजिटल सामग्री सिर्जनामा मात्र सीमित नहुँदै यसलाई आममानिसको अर्थोपार्जनसँग जोडेर दिगो र पेसागत व्यवसाय निर्माणतर्फ ध्यानकेन्द्रित गर्न मेलाले कोसिस गरेको उहाँको भनाइ थियो ।
मोबाइल चलाउँदा यसबाट आर्थिक लाभ लिन सकिने गरी कसरी कन्टेन्ट सिर्जना गर्ने र व्यावसायिक विकासका लागि प्रयोग गर्न सकिन्छ भन्ने विषयमा सत्रगत बहसका रूपमा प्रयोगात्मक कार्यशाला, प्रत्यक्ष प्रस्तुति तथा प्रमुख पिच टु सक्सेस कार्यक्रम सञ्चालन भइरहेका छन् । युवापुस्ताको बढ्दो डिजिटल प्रेमलाई सही दिशा दिनका लागि मेला सहयोगी हुने धारणा बहसमा सहभागीले राखेका थिए ।
काठमाडौँ कार्यक्रमको मुख्य आकर्षण पिच टु सक्सेस रहेको छ । जहाँ छनोट गरिएका सिर्जनाकर्ताले नेपालका अग्रणी व्यावासायिक घरानाका नेतृत्वसमक्ष आफ्ना व्यावसायिक अवधारणा प्रस्तुत गर्दै भविष्यको विकास र लगानीको वातावरण सिर्जना गर्ने प्रयत्न गरिरहेका छन् ।
‘भिजन टु भेन्चर’ नाराले डिजिटल कथा कथन तथा व्यावसायिक उद्यमबिचको दुरी घटाउने दाबी आयोजकले गरेको छ । त्यसै गरी साइबर सुरक्षामा आधारित सिकाइ पनि मेलामा आदानप्रदान गरिएको छ ।
हरेक व्यक्तिमा अन्तरनिहित ज्ञान, सिप र सञ्जाल विस्तारमार्फत उद्यमशीलता र रोजगारी सिर्जनालाई सहयोग गर्नुका साथै नेपाली सर्जकलार्ई विश्व बजारको केन्द्र मानिने अमेरिकी व्यावसायिक साझेदार तथा विश्वव्यापी बजारमा अग्रसर हुन समेत सहयोग पु¥याइने भएको छ । सन् २०२३ मा पहिलो पटक सुरु भएको क्रिएटर्स मेला यस वर्ष चौथो संस्करणमा पुगेको हो । सिर्जनात्मक ज्ञानको आदानप्रदानसँगै विभिन्न नेपाली कलाकारले सहभागीलाई मनोरञ्जन प्रदान गरेका थिए । मेला शनिबार सम्पन्न हुने जनाइएको छ ।