भउचप्रसाद यादव / मित्र भण्डारी
निजगढ (बारा), माघ १७ गते । मकवानपुरको लेनडाँडा र धेन्द्रेडाँडाको बिचमा रहेको जितपुरखोलामा धरहराभन्दा अग्ला ८२ मिटरका भीमकाय टावरले ठडिएका अत्याधुनिक ‘बक्स ब्रिज’ हेर्दा विकसित मुलुकमा भएको आधुनिक विकास पूर्वाधारको झल्को दिन्छ ।
दक्षिण एसियाकै नमुना विकास पूर्वाधार मानिने नेपालको बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेश दु्रतमार्ग (फास्ट ट्र्याक) मा दुई पहाड जोड्न बन्दै गरेका ८९ वटा आधुनिक पुल र पहाड छेडेर बन्दै गरेका सात वटा विशाल सुरुङले मुलुक आधुनिक विकासको युगतर्फ अघि बढेको प्रस्ट हुन्छ । मुलुकको सङ्घीय राजधानी काठमाडौँदेखि तराईसम्म कठिन र जोखिम यात्रालाई फास्ट ट्र्याकले एक घण्टामै सीमित गर्ने भएपछि सहज ढुवानी र आवतजावतका कारण मुलुकको समग्र अर्थतन्त्रमै ठुलो योगदान पुग्ने अपेक्षा गरिएको छ ।
विसं २०७४ वैशाख २१ गते सरकाले यस आयोजना निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रुतमार्गको ४५.१६ प्रतिशत भौतिक काम सम्पन्न भएको छ । दुई खर्ब १३ अर्ब लागत रहेको आयोजनाको वित्तीय प्रगति ४५.३३ प्रतिशत पुगेको काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाले जनाएको छ ।
आधाभन्दा बढी सकियो सुरुङ खन्ने काम
सुरुङ र पुलैपुलको आयोजनाका रूपमा रहेको यस द्रुतमार्गको कुल लम्बाइ (७०.९७७ किमी) रहेको छ । यसको करिब एक तिहाइ (३३.६२ प्रतिशत) खण्डमा सुरुङ र पुल निर्माण भइरहेका छन् । सुरुङ र पुलको कुल लम्बाइ २३. ८६४ किलोमिटर छ । त्यसमध्ये पुलहरूको कुल लम्बाइ १०.९७९ किलोमिटर र सुरुङको कुल लम्बाइ १२.८८५ किलोमिटर छ । जम्मा ८९ वटा पुल निर्माण भइरहेका छन् । आयोजनाको कुल लम्बाइमध्ये १८.१५ प्रतिशत पुलको लम्बाइ छ । आयोजनाका अनुसार मकवानपुरको धेन्द्रे एक हजार ६९१ मिटरको सुरुङ र लेनडाँडाका (दुईतर्फी) एक हजार ६२३ मिटर लामो चार वटा सुरुङ छिचोलिइसकेका (ब्रेक थ्रु) छन् ।
सबैभन्दा लामो तीन हजार ४५५ मिटर महादेवडाँडा सुरुङ ‘बे्रक थ्रु’ हुने गरी काम अघि बढाइएको छ । त्यस्तै चन्द्रामभिर, देवीचौर, सिसौटार र मौरीभिरसहित सात स्थानमा बन्ने सुरुङमध्ये पाँच स्थानका सुरुङ निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । ललितपुरको खोकनादेखि सुरु भई काठमाडौँ, मकवानपुर हुँदै बाराको निजगढस्थित पूर्वपश्चिम राजमार्गमा जोडिने यो फास्ट ट्र्याकको कुल लम्बाइ ७०.९७७ किमी रहेको छ भने चौडाइ पहाडी क्षेत्रमा २५ मिटर र तराई क्षेत्रमा २७ मिटर रहने गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ ।
आयोजना अन्तर्गत ललितपुरमा नौ, काठमाडौँमा ४.६, मकवानपुरमा ४९.७ र बारामा ७.६ किलोमिटर सडक निर्माण हुँदै छ । हालसम्म विशेष प्रकृतिका अग्ला १३ स्थानका पुल निर्माण सम्पन्न भइसकेका छन् । ८५ स्थानमा रहेका पुलको पनि निर्माणकार्य तीव्र रूपमा भइरहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले झन्डै ११ किमी सुरुङमार्गमध्ये लेनडाँडा र धेन्द्रेको ‘ब्रेक थ्रु’ भइसकेको र महादेवटार सुरुङको पनि करिब ७० प्रतिशत काम पूरा भएको बताउनुभयो ।
द्रुतमार्गमा बन्ने ८९ वटा पुलमध्ये ८५ वटाको ठेक्का भई काम अघि बढिरहेको बताउँदै प्रवक्ता बस्नेतले भन्नुभयो, “सरकारले राष्ट्रिय गौरवको द्रुतमार्ग निर्माणमा सहयोग र समन्वय गर्दै आएको छ । हामीले पनि २०८३ चैतसम्मको समयसीमाभित्र आयोजना सम्पन्न गर्ने गरी तीव्र रूपमा काम गरिरहेका छौँ ।” उहाँले आयोजनाको प्रस्थानबिन्दु ललितपुरको खोकना क्षेत्रमा मुआब्जा विवादबारे पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका विज्ञबाट अध्ययन पनि भइरहेको बताउँदै खोकना विवाद समाधानका लागि विभिन्न विकल्पको खोजी गरिने बताउनुभयो ।
आयोजना निर्माण गर्दा काटिएका ५४ हजार रुखको सट्टामा सात लाख ५० हजार नयाँ बिरुवा रोपिएको र तीमध्ये एक लाख ५० हजार सामुदायिक वनलाई हस्तान्तरण गरिएको आयोजनाले जनाएको छ । यसै गरी आयोजना अन्तर्गत चार वटा पुल बन्ने स्थानको जग्गा अधिग्रहण भइनसकेको र निर्माणाधीन पुलमध्ये ५४ वटाको फाउन्डेसन र ३४ स्थानका पुलको सबस्ट्रक्चर तयार भइसकेको आयाजनाले जनाएको छ ।
हाल चिनियाँ, कोरियन र नेपाली कम्पनीले विशिष्ट प्रकृतिका त्यस्ता पुल निर्माणलाई तीव्रता दिएको र यही आर्थिक वर्षमा भौतिक र आर्थिक प्रगति उल्लेख्य बढ्ने पनि आयोजनाले जनाएको छ । चालु आवको अन्त्यसम्म १५ स्थानका पुल निर्माण सम्पन्न हुने जनाइएको छ । आयोजना अन्तर्गत ११ किमी सडकको सब वे तथा सर्भिस लेनमा पाँच किलोमिटर सडक कालोपत्रे निर्माण सम्पन्न भइसकेको छ ।
द्रुतमार्ग अन्तर्गत निजगढतर्फको प्र्रस्थानबिन्दुमा टोल प्लाजा भवन र इन्टरचेन्ज निर्माण तीव्र रूपमा अघि बढेको छ । यस्तो इन्टरचेन्ज खोकना, बुदुने र निजगढमा रहने पनि आयोजनाले जनाएको छ । आयोजना निर्माणमा अधिग्रहण गर्नुपर्ने १५ हजार ४१६ रोपनीमध्ये खोकना क्षेत्रमा झन्डै ३५० रोपनी जग्गा अधिग्रहण हुन बाँकी छ ।
बयासी अर्ब खर्च, पैँतालिस प्रतिशत काम
नेपाली सेनाका अनुसार पुस मसान्तसम्म सो आयोजना अन्तर्गत कुल ८२ अर्ब ९७ करोड रुपियाँ खर्च भइसकेको छ; जुन आयोजनाको समष्टिगत वित्तीय प्रगतिको ४५.३३ प्रतिशत हो । अहिलेसम्म वित्तीय प्रगति ४५.३३ प्रतिशत हुँदासम्म आयोजनाको ४५ प्रतिशत काम सम्पन्न भएको हो ।
सैनिक प्रवक्ता बस्नेतका अनुसार सो रकममध्ये एक अर्ब ६५ करोड जग्गा खरिद, ८२.३७ करोड निर्माण व्यवसायी र ९.८१ करोड विद्युत् प्राधिकरणलाई पेस्की दिइएको छ । आयोजनाको प्रारम्भिक लागत एक खर्ब ७५ अर्ब रुपियाँ रहेकामा अहिले दुई खर्ब ११ अर्ब ९३ करोड रुपियाँ पुगेको छ ।
पछिल्लो समय बढ्यो गति
सात वर्षको अवधिमा निकै सुस्त रहेको सो आयोजना निर्माणले चालु आव २०८२÷८३ मा गति लिएको हो । चालु आवको दोस्रो चौमासिकमै यस आयोजनाको भौतिक प्रगति ३.०३ प्रतिशत भएको सो आयोजनाले जनाएको छ । यसअघि सो आयोजनाको भौतिक प्रगति वार्षिक करिब पाँच प्रतिशतसम्म सीमित रहँदै आएको थियो । सहायक रथी एवं प्रवक्ता बस्नेतका अनुसार गत आव २०८१/८२ को मसान्तसम्म आयोजनाको भौतिक प्रगति ४२.१३ प्रतिशत रहेकोमा चालु आवको छ महिनामै आयोजनाले थप ३.०३ प्रतिशत प्रगति हासिल गरेको हो ।
दक्षिण एसियाकै नमुना आयोजना मानिने फास्ट ट्र्याक निर्माणमा हालसम्म प्राप्त प्रगति अवलोकन गर्न आउने जोकोही पनि उत्साही हुने गरेका छन् । मुलुकको एउटा रूपान्तरणकारी आयोजनाका रूपमा हेरिएको यो निर्माण कार्यले मुलुकमा केही भएन भन्ने निराशालाई पनि चिर्दै छ । आयोजना निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । गत मङ्गलबार प्रधानमन्त्री सुशीला कार्कीले आयोजनाको समग्र स्थलगत निरीक्षण गरी निर्माण कार्यलाई थप तीव्रता दिन निर्देशन दिनुभएको थियो ।